बिरामी मृत्यु प्रकरण : अस्पताल स्वीकारे गल्ती , चिकित्सक फरार

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ फागुन १४, बुधबार (१ साल अघि)
  • ३ पटक पढिएको
बिरामी मृत्यु प्रकरण : अस्पताल स्वीकारे गल्ती , चिकित्सक फरार

वर्तमानकाल सम्वाददाता
फाल्गुन १३ गते ।

गत शनिबार दिउँसो प्रादेशिक अस्पताल आएका बिरामीलाई निजीमा पठाएर शल्यक्रिया गर्दा मृत्यु भएपछि अस्पतालले माफी मागेको छ। गौर नगरपालिका–३ का लालु अधिकारीको मृत्युमा अस्पतालले लापरबाही भएको भन्दै माफी मागेको हो। विज्ञप्ति जारी गर्दै अस्पताल प्रशासनले बिरामीलाई बचाउन अस्पतालले हर सम्भव प्रयास गरेको भए पनि बचाउन नसकेकोमा क्षमा माग्दै श्रद्धाञ्जली व्यक्त गरेको छ।

घटनापछि चिकित्सकको लापरबाही भन्दै कारबाहीको माग राखेर पीडित परिवारले प्रहरी प्रशासन गुहारिरहेको बेलामा अस्पतालले माफी मागेको हो। चिकित्सकलाई कारबाहीको माग राख्दै स्थानीयले सामाजिक सञ्जालमा लेखेर दबाब दिइरहेका छन्। घटनाको निष्पक्ष छानबिनका लागि पीडित परिवारले स्थानीय प्रशासनलाई दबाब दिएका छन्। प्रादेशिक अस्पताल गौरका चिकित्सक डा. पंकज साह, फिरोज अन्जुम र घनश्याम ठाकुर भने फरार छन्।

शनिबार दिउँसो पेट दुखेपछि अधिकारीलाई प्रादेशिक अस्पताल गौरमा भर्ना गरिएको थियो। त्यहाँ केही परीक्षण गराएर अस्पतालका मेडिकल अधिकृत डा. घनश्याम ठाकुरले बिरामीको आन्द्रा फुटेको बताएका थिए। मृतकका काका देवेन्द्र अधिकारीका अनुसार डा. ठाकुरले अस्पतालमा उपचारका लागि आवश्यक सुविधा नभएको भन्दै अर्का डा. पङ्कज साहसँग सम्पर्क गर्न लगाए। डा. साहले
बिरामीलाई त्यहीँको निजी गौर सेन्टर अस्पताल लैजान भनेको थिए।

उनले शल्यक्रियामा संलग्न चिकित्सक डा. फिरोज अन्जुम, पङ्कज साह र प्रादेशिक अस्पतालका डा. घनश्याम ठाकुरविरुद्ध अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरीलाई निवेदन दिएको बताए। डा. पन्कज साहले तत्कालै पेटको ठूलो हिस्सा चिरेर सिलाएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो। चिकित्सक साह गौर सेन्टर अस्पतालमा समेत कार्यरत थिए। त्यहीँ कारण उनले बिरामीलाई वीरगन्ज रिफर गर्न छाडेर पैसाको लोभमा आफ्नोमा लगेर बिरामीको ज्यान लिने काम गरेको आरोप लगाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस