रमेश कुमार यादब
फाल्गुन १७, रौतहट
मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले अवैध अस्पतालहरूलाई बन्द गर्ने अभियान चलाइरहे पनि रौतहट जिल्लामा अझै पनि धेरै अवैध अस्पतालहरू निर्बाध रूपमा सञ्चालनमा रहेका छन् । विशेषगरी, मौलापुर नगरपालिकामा झोला छाप क्लिनिक र दर्ताविहीन अस्पतालहरूको संख्यामा उल्लेखनीय वृद्धि भएको छ । तर, नगरपालिकाका प्रमुख रिना कुमारी साह र स्वास्थ्य संयोजक अच्छेलाल साहले यसबारे कुनै चासो नदेखाएको भन्दै स्थानीयहरू आक्रोशित भएका छन् ।
नगरपालिका भित्रका अधिकांश अस्पतालहरू बिना अनुमति सञ्चालन भइरहेको र त्यहाँ अप्रशिक्षित तथा योग्यताको अभाव भएका चिकित्सकहरूले उपचार गरिरहेको स्थानीयहरूले बताएका छन् । यी क्लिनिकहरूले न त सरकारी मापदण्डअनुसार सेवा प्रदान गर्छन्, न त गुणस्तरीय औषधि उपलब्ध गराउँछन् । बरु, म्याद सकिएका औषधिहरू बेच्ने, नक्कली चिकित्सकहरूद्वारा उपचार गराउने, र बिरामीहरूसँग मनोमानी शुल्क असुल्ने जस्ता गम्भीर समस्या मौलापुरमा देखिएको छ ।
सञ्चारकर्मी राजकुमार यादवको खुलासा
स्थानीय सञ्चारकर्मी राजकुमार यादवले सामाजिक सञ्जालमार्फत नगरपालिकाभित्र भइरहेका यस्ता अवैध गतिविधिहरूको पर्दाफास गरेका छन् । उनले आफ्नो पोस्टमा नगर प्रमुख र स्वास्थ्य संयोजकको भूमिकामाथि प्रश्न उठाउँदै भनेका छन् ( “नगरपालिका क्षेत्रभित्र कति व्यवसायिक क्लिनिक कानुनी रूपमा दर्ता छन ? यदि दर्ता छैन भने यस्ता क्लिनिकहरू कसरी सञ्चालन भइरहेका छन ? नगर प्रमुख र स्वास्थ्य संयोजक किन मौन बसेका छन ?“ उनले मौलापुर नगरपालिकाका स्वास्थ्य चौकीहरूमा आवश्यक औषधिहरू छैनन्, तर अवैध अस्पताल र झोला छाप क्लिनिकहरूले खुलेआम सेवा दिइरहेका छन् भन्ने विषयमा पनि प्रश्न उठाएका छन् ।
“नगरपालिकाले सञ्चालन गर्ने स्वास्थ्य चौकीहरूमा बिरामी जान नमान्नुको कारण के हो ? स्थानीयले निजी क्लिनिक मन पराउने तर सरकारी स्वास्थ्य केन्द्रको सुविधा प्रयोग नगर्ने अवस्थाको जिम्मेवार को हो ?“ भनेर उनले नगर प्रमुख र स्वास्थ्य संयोजकलाई उत्तर दिन चुनौती दिएका छन् ।
कसको संरक्षणमा चलिरहेका छन् अवैध क्लिनिकहरू ?
राजकुमार यादवका अनुसार, मौलापुर नगरपालिका भित्रका अधिकांश निजी अस्पताल र क्लिनिकहरू बिना कुनै कानुनी प्रमाणपत्र सञ्चालनमा छन् । यस्ता क्लिनिकहरूले योग्य चिकित्सकको अभावमा सर्टिफिकेटबिना नै सिएमए, हेल्थ असिस्टेन्ट वा झोलाछाप चिकित्सकलाई राखेर बिरामीको ज्यान जोखिममा पारिरहेका छन् । उनले भने “के नगर प्रमुख र स्वास्थ्य संयोजकले अवैध अस्पतालहरूको संरक्षण गरिरहेका छन ? कि उनीहरू आफ्ना नजिकका व्यक्तिहरूलाई मात्रै फाइदा पु¥याउन व्यस्त छन ?“भने गम्भिर प्रश्न खडा गर्नु भएका छन ।
यसका साथै, यादवले अनुगमनको नाममा केवल देखावटी जाँच गरेर वास्तविक दोषीलाई बचाउने खेल भइरहेको आरोप पनि लगाएका छन् । “यदि नगरपालिकाका जिम्मेवार निकायहरू इमानदार भए, तिनीहरूले अवैध रूपमा सञ्चालित अस्पतालहरूमा तत्काल कारबाही गर्नु पर्ने हो । तर किन कानमा तेल हालेर बसेका छन ?“ भनेर उनले प्रश्न उठाएका छन् ।
अवैध अस्पताल र क्लिनिकको आतंक रोक्न स्थानीयको माग
मौलापुर नगरपालिकाका धेरै स्थानीयले अवैध अस्पतालहरू तत्काल बन्द गर्नुपर्ने माग गरेका छन् । कतिपय स्थानीयले स्वास्थ्य मन्त्रालय र प्रदेश सरकारलाई समेत उजुरी गर्ने चेतावनी दिएका छन् । स्वास्थ्य क्षेत्रसँग प्रत्यक्ष सम्बन्ध राख्ने नागरिक अभियन्ताहरूले पनि नगरपालिकाले तत्काल अनुगमन गरी आवश्यक कारबाही गर्नुपर्ने बताएका छन् ।
“मौलापुर नगरपालिका भित्रका सबै निजी अस्पताल र क्लिनिकहरूको सूचि सार्वजनिक गरियोस् । कानुनी रूपमा दर्ता नभएका क्लिनिकहरू तुरुन्तै बन्द गरियोस् । अवैध रूपमा उपचार गरिरहेका नक्कली चिकित्सकमाथि कारबाही होस्,“ स्थानीयको यस्तो माग छ । यदि मौलापुर नगरपालिकाले शीघ्र कदम नचाले, स्थानीयवासीहरूले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
अवैध अस्पतालहरूको निरन्तर सञ्चालन र नगरपालिकाको उदासिनताका कारण यहाँका गरीब तथा असहाय बिरामीहरू ठूलो समस्यामा परिरहेका छन् । नगर प्रमुख रिना साह र स्वास्थ्य संयोजक अच्छेलाल साहले यसबारे स्पष्ट धारणा सार्वजनिक नगरेसम्म जनआक्रोश बढ्दै जाने देखिन्छ ।