रौतहटको मौलापुरमा अवैध अस्पताल र झोला छाप क्लिनिकको बिगबिगी, नगर प्रमुख र स्वास्थ्य संयोजक मौन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ फागुन १७, शनिबार (१२ महिना अघि)
  • ३ पटक पढिएको
रौतहटको मौलापुरमा अवैध अस्पताल र झोला छाप क्लिनिकको बिगबिगी, नगर प्रमुख र स्वास्थ्य संयोजक मौन

रमेश कुमार यादब
फाल्गुन १७, रौतहट

मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले अवैध अस्पतालहरूलाई बन्द गर्ने अभियान चलाइरहे पनि रौतहट जिल्लामा अझै पनि धेरै अवैध अस्पतालहरू निर्बाध रूपमा सञ्चालनमा रहेका छन् । विशेषगरी, मौलापुर नगरपालिकामा झोला छाप क्लिनिक र दर्ताविहीन अस्पतालहरूको संख्यामा उल्लेखनीय वृद्धि भएको छ । तर, नगरपालिकाका प्रमुख रिना कुमारी साह र स्वास्थ्य संयोजक अच्छेलाल साहले यसबारे कुनै चासो नदेखाएको भन्दै स्थानीयहरू आक्रोशित भएका छन् ।

नगरपालिका भित्रका अधिकांश अस्पतालहरू बिना अनुमति सञ्चालन भइरहेको र त्यहाँ अप्रशिक्षित तथा योग्यताको अभाव भएका चिकित्सकहरूले उपचार गरिरहेको स्थानीयहरूले बताएका छन् । यी क्लिनिकहरूले न त सरकारी मापदण्डअनुसार सेवा प्रदान गर्छन्, न त गुणस्तरीय औषधि उपलब्ध गराउँछन् । बरु, म्याद सकिएका औषधिहरू बेच्ने, नक्कली चिकित्सकहरूद्वारा उपचार गराउने, र बिरामीहरूसँग मनोमानी शुल्क असुल्ने जस्ता गम्भीर समस्या मौलापुरमा देखिएको छ ।

सञ्चारकर्मी राजकुमार यादवको खुलासा

स्थानीय सञ्चारकर्मी राजकुमार यादवले सामाजिक सञ्जालमार्फत नगरपालिकाभित्र भइरहेका यस्ता अवैध गतिविधिहरूको पर्दाफास गरेका छन् । उनले आफ्नो पोस्टमा नगर प्रमुख र स्वास्थ्य संयोजकको भूमिकामाथि प्रश्न उठाउँदै भनेका छन् ( “नगरपालिका क्षेत्रभित्र कति व्यवसायिक क्लिनिक कानुनी रूपमा दर्ता छन ? यदि दर्ता छैन भने यस्ता क्लिनिकहरू कसरी सञ्चालन भइरहेका छन ? नगर प्रमुख र स्वास्थ्य संयोजक किन मौन बसेका छन ?“ उनले मौलापुर नगरपालिकाका स्वास्थ्य चौकीहरूमा आवश्यक औषधिहरू छैनन्, तर अवैध अस्पताल र झोला छाप क्लिनिकहरूले खुलेआम सेवा दिइरहेका छन् भन्ने विषयमा पनि प्रश्न उठाएका छन् ।

“नगरपालिकाले सञ्चालन गर्ने स्वास्थ्य चौकीहरूमा बिरामी जान नमान्नुको कारण के हो ? स्थानीयले निजी क्लिनिक मन पराउने तर सरकारी स्वास्थ्य केन्द्रको सुविधा प्रयोग नगर्ने अवस्थाको जिम्मेवार को हो ?“ भनेर उनले नगर प्रमुख र स्वास्थ्य संयोजकलाई उत्तर दिन चुनौती दिएका छन् ।

कसको संरक्षणमा चलिरहेका छन् अवैध क्लिनिकहरू ?
राजकुमार यादवका अनुसार, मौलापुर नगरपालिका भित्रका अधिकांश निजी अस्पताल र क्लिनिकहरू बिना कुनै कानुनी प्रमाणपत्र सञ्चालनमा छन् । यस्ता क्लिनिकहरूले योग्य चिकित्सकको अभावमा सर्टिफिकेटबिना नै सिएमए, हेल्थ असिस्टेन्ट वा झोलाछाप चिकित्सकलाई राखेर बिरामीको ज्यान जोखिममा पारिरहेका छन् । उनले भने “के नगर प्रमुख र स्वास्थ्य संयोजकले अवैध अस्पतालहरूको संरक्षण गरिरहेका छन ? कि उनीहरू आफ्ना नजिकका व्यक्तिहरूलाई मात्रै फाइदा पु¥याउन व्यस्त छन ?“भने गम्भिर प्रश्न खडा गर्नु भएका छन ।

यसका साथै, यादवले अनुगमनको नाममा केवल देखावटी जाँच गरेर वास्तविक दोषीलाई बचाउने खेल भइरहेको आरोप पनि लगाएका छन् । “यदि नगरपालिकाका जिम्मेवार निकायहरू इमानदार भए, तिनीहरूले अवैध रूपमा सञ्चालित अस्पतालहरूमा तत्काल कारबाही गर्नु पर्ने हो । तर किन कानमा तेल हालेर बसेका छन ?“ भनेर उनले प्रश्न उठाएका छन् ।

अवैध अस्पताल र क्लिनिकको आतंक रोक्न स्थानीयको माग
मौलापुर नगरपालिकाका धेरै स्थानीयले अवैध अस्पतालहरू तत्काल बन्द गर्नुपर्ने माग गरेका छन् । कतिपय स्थानीयले स्वास्थ्य मन्त्रालय र प्रदेश सरकारलाई समेत उजुरी गर्ने चेतावनी दिएका छन् । स्वास्थ्य क्षेत्रसँग प्रत्यक्ष सम्बन्ध राख्ने नागरिक अभियन्ताहरूले पनि नगरपालिकाले तत्काल अनुगमन गरी आवश्यक कारबाही गर्नुपर्ने बताएका छन् ।

“मौलापुर नगरपालिका भित्रका सबै निजी अस्पताल र क्लिनिकहरूको सूचि सार्वजनिक गरियोस् । कानुनी रूपमा दर्ता नभएका क्लिनिकहरू तुरुन्तै बन्द गरियोस् । अवैध रूपमा उपचार गरिरहेका नक्कली चिकित्सकमाथि कारबाही होस्,“ स्थानीयको यस्तो माग छ । यदि मौलापुर नगरपालिकाले शीघ्र कदम नचाले, स्थानीयवासीहरूले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

अवैध अस्पतालहरूको निरन्तर सञ्चालन र नगरपालिकाको उदासिनताका कारण यहाँका गरीब तथा असहाय बिरामीहरू ठूलो समस्यामा परिरहेका छन् । नगर प्रमुख रिना साह र स्वास्थ्य संयोजक अच्छेलाल साहले यसबारे स्पष्ट धारणा सार्वजनिक नगरेसम्म जनआक्रोश बढ्दै जाने देखिन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस