८९ औं त्रिमूर्ति शिव जयन्ति महोत्सव गरुडा शिव सन्देश सहित शान्ति पदयात्रा कार्यक्रम सम्पन्न

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ फागुन १७, शनिबार (१२ महिना अघि)
  • ३ पटक पढिएको
८९ औं त्रिमूर्ति शिव जयन्ति महोत्सव गरुडा शिव सन्देश सहित शान्ति पदयात्रा कार्यक्रम सम्पन्न

रमेश कुमार यादब
फाल्गुन १७, रौतहट

महाशिवरात्रिको पावन अवसरमा गरुडा नगरपालिकामा ८९ औं त्रिमूर्ति शिव जयन्ति महोत्सव एवं गरुडा शिव सन्देश सहितको शान्ति पदयात्रा भव्य रूपमा सम्पन्न भएको छ । उक्त कार्यक्रम ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, गरुडाद्वारा आयोजित गरिएको थियो, जसमा नगरका विभिन्न स्थानबाट ठूलो संख्यामा श्रद्धालु भक्तजनहरूको उपस्थिति रहेको थियो ।

शान्ति पदयात्रा कार्यक्रमको प्रमुख अतिथि गरुडा नगरपालिकाका नगरप्रमुख कन्थमनि प्रसाद जैसवाल रहनु भएको थियो भने विशेष अतिथि सोही पालिकाको वार्ड नं. ५ का वडाध्यक्ष रामबिनोद प्रसाद साह हुनुहुन्थ्यो । नगर प्रमुख जैसवाल र वडाअध्यक्ष साहले संयुक्त रूपमा महादेवको शिवलिङ्गको डोला बोकी नगर परिक्रमा गर्दै शिवनगर धाममा पुगी विधिपूर्वक पूजा–अर्चना गर्नु भएको थियो ।

नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले कार्यक्रममा सम्बोधन गर्दै महाशिवरात्रिको आध्यात्मिक महत्व, समाजमा सकारात्मक सोचको विकास, नैतिकता, शान्ति, तथा भाइचाराको सन्देश फैलाउने विषयमा महत्वपूर्ण विचार व्यक्त गर्नु भएको थियो । उहाँले धार्मिक तथा आध्यात्मिक चेतनाले भरिपूर्ण यस्ता कार्यक्रमहरूले समाजलाई सकारात्मक मार्गमा अग्रसर गराउने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै, वडाअध्यक्ष रामबिनोद प्रसाद साहले पनि यस्ता धार्मिक तथा आध्यात्मिक कार्यक्रममा सहभागिताले समाजबाट नकारात्मकता हटाएर सकारात्मक सोच र संस्कार फैलाउने विश्वास व्यक्त गर्नु भएको थियो ।

उहाँले यस्तो धार्मिक जमघटले सबै जात, धर्म र समुदायलाई एकसाथ ल्याउने कार्य गर्ने उल्लेख गर्नु भएको थियो । यस शान्ति पदयात्रामा विभिन्न देवी–देवताहरूको पोशाकमा सजीव प्रस्तुति दिएका नानीबाबुहरूको झाँकी आकर्षणको केन्द्र बनेको थियो । बालबालिकाहरू भगवान् शिव, पार्वती, श्रीकृष्ण, राधा, हनुमान तथा अन्य देवी–देवताका रूपधारण गरी नगर परिक्रमा गरेका थिए, जसले सम्पूर्ण पदयात्रालाई अझै रमाइलो र आकर्षक बनाएको थियो ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका सदस्यहरूले राजयोग ध्यान, आत्मज्ञान, एवं नैतिक मूल्यबारे प्रवचन प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागीहरूले शान्ति, सद्भाव, एवं आत्मिक उन्नतिका लागि ध्यान साधनाको आवश्यकता रहेको बताए । शिव जयन्ति महोत्सव एवं शान्ति पदयात्रामा नगरप्रमुख, वडाअध्यक्षसहित अन्य जनप्रतिनिधिहरू, स्थानीय समाजसेवी, धार्मिक संघ–संस्थाका प्रतिनिधिहरू तथा सयकडौं श्रद्धालु भक्तजनहरूको सहभागिता रहेको थियो ।

पदयात्रा पश्चात शिवनगर धाममा विशेष पूजा एवं आरती गरिएको थियो । भक्तजनहरूलाई प्रसाद वितरण गरिएको थियो । आयोजक ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले यस्ता धार्मिक तथा आध्यात्मिक कार्यक्रमहरूलाई भविष्यमा पनि निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेको छ ।

महाशिवरात्रि पर्वको अवसरमा आयोजित यो भव्य कार्यक्रमले समाजमा धार्मिक चेतना, सकारात्मक ऊर्जा तथा सद्भावना फैलाउने महत्त्वपूर्ण भूमिका खेलेको छ । शिवभक्तहरूको सहभागिता, धार्मिक झाँकी, आध्यात्मिक प्रवचन तथा नगर परिक्रमारूपी पदयात्राले सम्पूर्ण नगरलाई भक्तिमय बनाएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस