रमेश कुमार यादब
फाल्गुन १७, रौतहट
महाशिवरात्रिको पावन अवसरमा गरुडा नगरपालिकामा ८९ औं त्रिमूर्ति शिव जयन्ति महोत्सव एवं गरुडा शिव सन्देश सहितको शान्ति पदयात्रा भव्य रूपमा सम्पन्न भएको छ । उक्त कार्यक्रम ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, गरुडाद्वारा आयोजित गरिएको थियो, जसमा नगरका विभिन्न स्थानबाट ठूलो संख्यामा श्रद्धालु भक्तजनहरूको उपस्थिति रहेको थियो ।
शान्ति पदयात्रा कार्यक्रमको प्रमुख अतिथि गरुडा नगरपालिकाका नगरप्रमुख कन्थमनि प्रसाद जैसवाल रहनु भएको थियो भने विशेष अतिथि सोही पालिकाको वार्ड नं. ५ का वडाध्यक्ष रामबिनोद प्रसाद साह हुनुहुन्थ्यो । नगर प्रमुख जैसवाल र वडाअध्यक्ष साहले संयुक्त रूपमा महादेवको शिवलिङ्गको डोला बोकी नगर परिक्रमा गर्दै शिवनगर धाममा पुगी विधिपूर्वक पूजा–अर्चना गर्नु भएको थियो ।

नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले कार्यक्रममा सम्बोधन गर्दै महाशिवरात्रिको आध्यात्मिक महत्व, समाजमा सकारात्मक सोचको विकास, नैतिकता, शान्ति, तथा भाइचाराको सन्देश फैलाउने विषयमा महत्वपूर्ण विचार व्यक्त गर्नु भएको थियो । उहाँले धार्मिक तथा आध्यात्मिक चेतनाले भरिपूर्ण यस्ता कार्यक्रमहरूले समाजलाई सकारात्मक मार्गमा अग्रसर गराउने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै, वडाअध्यक्ष रामबिनोद प्रसाद साहले पनि यस्ता धार्मिक तथा आध्यात्मिक कार्यक्रममा सहभागिताले समाजबाट नकारात्मकता हटाएर सकारात्मक सोच र संस्कार फैलाउने विश्वास व्यक्त गर्नु भएको थियो ।

उहाँले यस्तो धार्मिक जमघटले सबै जात, धर्म र समुदायलाई एकसाथ ल्याउने कार्य गर्ने उल्लेख गर्नु भएको थियो । यस शान्ति पदयात्रामा विभिन्न देवी–देवताहरूको पोशाकमा सजीव प्रस्तुति दिएका नानीबाबुहरूको झाँकी आकर्षणको केन्द्र बनेको थियो । बालबालिकाहरू भगवान् शिव, पार्वती, श्रीकृष्ण, राधा, हनुमान तथा अन्य देवी–देवताका रूपधारण गरी नगर परिक्रमा गरेका थिए, जसले सम्पूर्ण पदयात्रालाई अझै रमाइलो र आकर्षक बनाएको थियो ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका सदस्यहरूले राजयोग ध्यान, आत्मज्ञान, एवं नैतिक मूल्यबारे प्रवचन प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागीहरूले शान्ति, सद्भाव, एवं आत्मिक उन्नतिका लागि ध्यान साधनाको आवश्यकता रहेको बताए । शिव जयन्ति महोत्सव एवं शान्ति पदयात्रामा नगरप्रमुख, वडाअध्यक्षसहित अन्य जनप्रतिनिधिहरू, स्थानीय समाजसेवी, धार्मिक संघ–संस्थाका प्रतिनिधिहरू तथा सयकडौं श्रद्धालु भक्तजनहरूको सहभागिता रहेको थियो ।
पदयात्रा पश्चात शिवनगर धाममा विशेष पूजा एवं आरती गरिएको थियो । भक्तजनहरूलाई प्रसाद वितरण गरिएको थियो । आयोजक ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले यस्ता धार्मिक तथा आध्यात्मिक कार्यक्रमहरूलाई भविष्यमा पनि निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेको छ ।
महाशिवरात्रि पर्वको अवसरमा आयोजित यो भव्य कार्यक्रमले समाजमा धार्मिक चेतना, सकारात्मक ऊर्जा तथा सद्भावना फैलाउने महत्त्वपूर्ण भूमिका खेलेको छ । शिवभक्तहरूको सहभागिता, धार्मिक झाँकी, आध्यात्मिक प्रवचन तथा नगर परिक्रमारूपी पदयात्राले सम्पूर्ण नगरलाई भक्तिमय बनाएको थियो ।