नगर प्रमुख कुर्मिको अग्रसरतामा खानेपानीको बिधुत लाइन पुनः जडान, स्थानीय बासिन्दाले पाउने भए शुद्धखानेपानी

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ फागुन १८, आईतबार (१२ महिना अघि)
  • ३ पटक पढिएको
नगर प्रमुख कुर्मिको अग्रसरतामा खानेपानीको बिधुत लाइन पुनः जडान, स्थानीय बासिन्दाले पाउने भए शुद्धखानेपानी

रमेश कुमार यादब
फाल्गुन १८, रौतहट

रौतहट जिल्लाको बृन्दावन नगरपालिका–२ धनगढीस्थित धनगढी टोल खानेपानी योजनाको बिधुत लाइन पुनः जडान गरिएको छ । लामो समयदेखि विद्युत महसुल नतिरेका कारण नेपाल विद्युत प्राधिकरणले गत फाल्गुन १ गते बृन्दावन नगरपालिका अन्तर्गतका दुई वटा खानेपानी योजनाको लाइन काटेको थियो ।
खानेपानी बन्द हुँदा स्थानीयको दैनिकी प्रभावित
खानेपानी आपूर्ति बन्द भएपछि करिब २ सय स्थानीय बासिन्दा ठूलो समस्यामा परेका थिए । दैनिकी जीवन प्रभावित भई पिउने पानीको अभाव झेल्नुपरेको भन्दै स्थानीयले बारम्बार गुनासो गरेका थिए । बिशेष गरी महिलाहरु र बालबालिका तथा दैनिक श्रम गरेर जीविका चलाउने मजदुर वर्गलाई पानीको सबैभन्दा धेरै सास्ती भोग्नु परेको थियो । पानी अभावका कारण स्थानीयले अन्य वैकल्पिक स्रोतको खोजी गर्नुपरेको थियो, जसले गर्दा स्वास्थ्यमा समेत असर पर्ने खतरा बढेको थियो ।
समस्या समाधानका लागि नगर प्रमुखको पहल
स्थानीयको समस्या देखेर बृन्दावन नगरपालिका–२ का वडाप्रत्याशी दिपेन्द्र पटेल र समाजसेवी सिकिन्द्र पटेलले नगर प्रमुख बिनोद प्रसाद कुर्मिलाई भेटेर खानेपानी सेवा पुनः सञ्चालन गराइदिन आग्रह गरेका थिए । जनताको अत्यावश्यक आवश्यकतामा बाधा पर्न नदिनुपर्ने भन्दै उनीहरुले नगरपालिकाले पहल गर्नुपर्ने धारणा राखेका थिए । नगर प्रमुख कुर्मिले नगरबासी शुद्ध खानेपानीबाट बञ्चित हुनुहुन्न भन्ने उद्देश्यका साथ समस्या समाधानका लागि तत्काल नेपाल विद्युत प्राधिकरणलाई २५ हजार रुपैयाँ महसुल बुझाउने निर्णय गरे । आवश्यक रकम बुझाएपछि विद्युत प्राधिकरणले काटिएको लाइन पुनः जडान गर्यो, जसका कारण धनगढी खानेपानी योजना पुनः सञ्चालनमा आएको छ ।
स्थानीयबासीको आभार
खानेपानी सेवा पुनः सञ्चालन भएपछि स्थानीयबासीहरुले नगर प्रमुख कुर्मिलाई धन्यवाद व्यक्त गरेका छन् । वर्षौंदेखि थुप्रिएको ८२ हजार १७५ रुपैयाँ ३४ पैसाको विद्युत महसुल तिर्न बाँकी भए पनि नगरपालिकाको पहलमा हाललाई २५ हजार रुपैयाँ बुझाएर सेवा पुनः सञ्चालन गरिएकाले स्थानीयले राहत महसुस गरेका छन् । योजना निरन्तर सञ्चालनमा रहनका लागि बाँकी रकम पनि चाँडै तिर्ने पहल गर्ने प्रतिबद्धता नगर प्रमुख कुर्मिले व्यक्त गरेका छन् ।

उनले अबदेखि समयमा नै महसुल बुझाएर यस्ता समस्या दोहोरिन नदिने प्रतिबद्धता जनाए । स्थानीय भोला पटेलले भने “खानेपानी बन्द हुँदा निकै सास्ती भएको थियो । अहिले फेरि सेवा सञ्चालन भएकामा हामी खुशी छौं । तर, अबको दिनमा यस्तो समस्या दोहोरिन नदिन स्थायी समाधान खोजिनुपर्छ ।“धनगढी टोल खानेपानी योजनाको विद्युत लाइन पुनः जडान भएसँगै स्थानीयबासीले सहज रूपमा शुद्ध खानेपानी पाउने भएका छन् ।

नगरपालिकाको पहल र स्थानीय नेताहरूको सक्रियताले जनतालाई राहत दिएको छ । आगामी दिनमा यस्ता समस्याहरू नदोहोरियोस् भनेर स्थानीय सरकार र खानेपानी समितिले उचित व्यवस्थापन गर्नुपर्ने आवश्यकता देखिएको छ । त्यसतै वृन्दावन नगरपालिका वडा नं–१ स्थित रमौली खानेपानीको लाईन काटेको हो उक्त खानेपानीको पनि बिधुत महशुल चाडैं तिर्ने नगर प्रमुख कुर्मिले प्रतिबद्धता जनाउनु भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस