रमेश कुमार यादब
फाल्गुन १८, रौतहट
रौतहट जिल्लाको बृन्दावन नगरपालिका–२ धनगढीस्थित धनगढी टोल खानेपानी योजनाको बिधुत लाइन पुनः जडान गरिएको छ । लामो समयदेखि विद्युत महसुल नतिरेका कारण नेपाल विद्युत प्राधिकरणले गत फाल्गुन १ गते बृन्दावन नगरपालिका अन्तर्गतका दुई वटा खानेपानी योजनाको लाइन काटेको थियो ।
खानेपानी बन्द हुँदा स्थानीयको दैनिकी प्रभावित
खानेपानी आपूर्ति बन्द भएपछि करिब २ सय स्थानीय बासिन्दा ठूलो समस्यामा परेका थिए । दैनिकी जीवन प्रभावित भई पिउने पानीको अभाव झेल्नुपरेको भन्दै स्थानीयले बारम्बार गुनासो गरेका थिए । बिशेष गरी महिलाहरु र बालबालिका तथा दैनिक श्रम गरेर जीविका चलाउने मजदुर वर्गलाई पानीको सबैभन्दा धेरै सास्ती भोग्नु परेको थियो । पानी अभावका कारण स्थानीयले अन्य वैकल्पिक स्रोतको खोजी गर्नुपरेको थियो, जसले गर्दा स्वास्थ्यमा समेत असर पर्ने खतरा बढेको थियो ।
समस्या समाधानका लागि नगर प्रमुखको पहल
स्थानीयको समस्या देखेर बृन्दावन नगरपालिका–२ का वडाप्रत्याशी दिपेन्द्र पटेल र समाजसेवी सिकिन्द्र पटेलले नगर प्रमुख बिनोद प्रसाद कुर्मिलाई भेटेर खानेपानी सेवा पुनः सञ्चालन गराइदिन आग्रह गरेका थिए । जनताको अत्यावश्यक आवश्यकतामा बाधा पर्न नदिनुपर्ने भन्दै उनीहरुले नगरपालिकाले पहल गर्नुपर्ने धारणा राखेका थिए । नगर प्रमुख कुर्मिले नगरबासी शुद्ध खानेपानीबाट बञ्चित हुनुहुन्न भन्ने उद्देश्यका साथ समस्या समाधानका लागि तत्काल नेपाल विद्युत प्राधिकरणलाई २५ हजार रुपैयाँ महसुल बुझाउने निर्णय गरे । आवश्यक रकम बुझाएपछि विद्युत प्राधिकरणले काटिएको लाइन पुनः जडान गर्यो, जसका कारण धनगढी खानेपानी योजना पुनः सञ्चालनमा आएको छ ।
स्थानीयबासीको आभार
खानेपानी सेवा पुनः सञ्चालन भएपछि स्थानीयबासीहरुले नगर प्रमुख कुर्मिलाई धन्यवाद व्यक्त गरेका छन् । वर्षौंदेखि थुप्रिएको ८२ हजार १७५ रुपैयाँ ३४ पैसाको विद्युत महसुल तिर्न बाँकी भए पनि नगरपालिकाको पहलमा हाललाई २५ हजार रुपैयाँ बुझाएर सेवा पुनः सञ्चालन गरिएकाले स्थानीयले राहत महसुस गरेका छन् । योजना निरन्तर सञ्चालनमा रहनका लागि बाँकी रकम पनि चाँडै तिर्ने पहल गर्ने प्रतिबद्धता नगर प्रमुख कुर्मिले व्यक्त गरेका छन् ।
उनले अबदेखि समयमा नै महसुल बुझाएर यस्ता समस्या दोहोरिन नदिने प्रतिबद्धता जनाए । स्थानीय भोला पटेलले भने “खानेपानी बन्द हुँदा निकै सास्ती भएको थियो । अहिले फेरि सेवा सञ्चालन भएकामा हामी खुशी छौं । तर, अबको दिनमा यस्तो समस्या दोहोरिन नदिन स्थायी समाधान खोजिनुपर्छ ।“धनगढी टोल खानेपानी योजनाको विद्युत लाइन पुनः जडान भएसँगै स्थानीयबासीले सहज रूपमा शुद्ध खानेपानी पाउने भएका छन् ।
नगरपालिकाको पहल र स्थानीय नेताहरूको सक्रियताले जनतालाई राहत दिएको छ । आगामी दिनमा यस्ता समस्याहरू नदोहोरियोस् भनेर स्थानीय सरकार र खानेपानी समितिले उचित व्यवस्थापन गर्नुपर्ने आवश्यकता देखिएको छ । त्यसतै वृन्दावन नगरपालिका वडा नं–१ स्थित रमौली खानेपानीको लाईन काटेको हो उक्त खानेपानीको पनि बिधुत महशुल चाडैं तिर्ने नगर प्रमुख कुर्मिले प्रतिबद्धता जनाउनु भएको हो ।