रमेश कुमार यादब
फाल्गुन १८, रौतहट
मधेस प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहद्वारा रौतहट जिल्लाको चन्द्रपुर क्षेत्रमा सञ्चालनमा रहेका १० वटा निजी अस्पताल बन्द गर्न निर्देशन दिएपछि गरुडा क्षेत्रका अस्पताल सञ्चालकहरूमा त्रासको वातावरण सिर्जना भएको छ । गरुडा क्षेत्रमा
रहेका अधिकांश निजी अस्पतालहरू बिना अनुमति सञ्चालनमा रहेको खुलासा भएपछि स्थानियबासीहरू मुख्यमन्त्रीको यो कदमलाई स्वागत गरिरहेका छन् ।
गरुडाका अधिकांश अस्पताल अवैध, बिना दक्ष डाक्टरको पनि चल्दै रौतहटको गरुडा नगरपालिका मधेस प्रदेशकै मुख्य व्यापारिक केन्द्र भएकाले यहाँ दुई दर्जनभन्दा बढी अस्पताल सञ्चालनमा छन् । तीमध्ये धेरैजसो अस्पतालहरू बिना उचित दर्ता, बिना दक्ष चिकित्सक र बिना न्यूनतम मापदण्ड सञ्चालन भइरहेको खुलासा भएको छ ।
कतिपय अस्पतालहरूले एमबीबीएस डाक्टर नभइकनै उपचार गर्दै आएका तथ्य पनि बाहिर आएका छन् । केही अस्पताल सञ्चालकहरूले ल्याब टेक्निसियनहरूलाई नै चिकित्सकका रूपमा प्रस्तुत गरेर बिरामीहरूको उपचार गराउँदै आएका छन् । न्यूनतम स्वास्थ्य मापदण्ड पूरा नगरी अस्पतालहरू सञ्चालन गर्दा बिरामीहरूको ज्यान जोखिममा पर्ने अवस्था सिर्जना भएको छ । औषधि तथा उपकरणहरूको उचित व्यवस्था बिना नै अस्पतालहरूले मनपरी शुल्क असुली गर्दै बिरामीहरूलाई आर्थिक रूपमा शोषण गरिरहेका छन् ।
मुख्यमन्त्री सिंहको निर्देशनपछि अस्पताल सञ्चालकहरूमा भागदौड शनिबार रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका स्थित अस्पतालहरूको अनुगमन गर्दा १० वटा अस्पताल अवैध रूपमा सञ्चालनमा रहेको पत्ता लागेपछि ती अस्पतालहरू तत्काल बन्द गर्न निर्देशन दिइएको थियो । यस घटनापछि गरुडा क्षेत्रमा रहेका अवैध अस्पताल सञ्चालकहरूमा भागमभाग मच्चिएको छ । मुख्यमन्त्री सिंहको निर्देशनसँगै केही अस्पताल सञ्चालकहरू आफ्ना अस्पतालहरू बन्द गरेर फरार हुने प्रयासमा रहेको बुझिएको छ ।
कतिपयले हस्पिटलका बोर्डहरू हटाउने, कागजात मिलाउने र डाक्टरहरूको नाम दर्ता गराउने प्रयास गरिरहेका छन् । यस घटनापछि गरुडा क्षेत्रका स्थानीयहरू पनि मुख्यमन्त्री सिंहको कदमलाई समर्थन गर्दै सम्पूर्ण अवैध अस्पतालहरू तुरुन्त बन्द
गराउन माग गरिरहेका छन् ।
स्थानिय एक बासिन्दा अन्होति गुप्ताका अनुसारः
“हामीले धेरै वर्षदेखि यी अस्पतालहरूको मनपरी सहँदै आएका थियौं । न दक्ष डाक्टर छन्, न उचित सेवा ।
बिरामीहरूबाट लाखौँ असुल्छन् तर उपचार नै गलत हुन्छ । मुख्यमन्त्रीजीले गरेका कार्य प्रशंसनीय छ । अब गरुडाका सबै अवैध अस्पतालहरू पनि बन्द गरिनुपर्छ ।“
मुख्यमन्त्री सिंहको कडा चेतावनी
मुख्यमन्त्री सतीश कुमार सिंहले अवैध रूपमा सञ्चालित कुनै पनि अस्पताललाई चल्न नदिइने स्पष्ट पार्दै थप अनुगमनलाई तीव्र बनाउने बताएका छन् । उनले भनेः “स्वास्थ्य सेवाको नाममा ठगी गर्नेलाई कुनै हालतमा छुट दिइने छैन । जनताको स्वास्थ्यमा खेलबाड गर्ने जो कोहीलाई पनि कानुनी कारबाही गरिनेछ ।“
अस्पताल सञ्चालकहरू चिन्तित, कतिपय अस्पताल बन्द हुन थाले
मुख्यमन्त्रीको कडा निर्देशनपछि गरुडाका केही अस्पताल सञ्चालकहरूले आफ्ना अस्पताल अस्थायी रूपमा बन्द गर्न त्यारीमा जुटेका छन् भने केही अस्पताल सञ्चालकहरू कानुनी बाटो खोज्न थालेका छन् । कतिपय सञ्चालकहरू स्वास्थ्य मन्त्रालय तथा सम्बन्धित निकायहरूमा प्रभाव पार्ने प्रयास गरिरहेका छन् ।
गरुडा क्षेत्रमा वर्षौंदेखि अवैध रूपमा सञ्चालित अस्पतालहरूले सर्वसाधारण जनतालाई आर्थिक र स्वास्थ्य दुबै हिसाबले ठग्दै आएका छन् । अब यस्ता अस्पतालहरू एकपछि अर्को गरी बन्द गरिनु अत्यावश्यक छ । मुख्यमन्त्री सिंहको यो कदमले निजी अस्पतालहरूको अनियमितता रोक्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
अब प्रश्न उठ्छ( के गरुडाका सबै अवैध अस्पतालहरू बन्द हुनेछन ? के दोषी सञ्चालकहरू कारबाहीमा पर्ने छन ?