वर्तमानकाल सम्वाददाता
फाल्गुन १९ गते ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ ले सुशासनका लागि जोसँग जुध्नु परे पनि तयार रहेको बताएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै उनले सुशासन कायम गर्न सम्झौता नगर्ने र देशमा सुशासन लागू गर्ने बताएका हुन् । ‘सुशासनका लागि जोसँग जुध्नु परे तयार छु, तर सम्झौता गर्दिन । सुशासन कायम गरेरै छोड्छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
उनले आफूहरू संघीय सरकारले गर्ने विकासको साझेदार रहेको पनि बताएका छन् । उनले लेखेका छन्, ’हामीले गरे जति विकासका सबै काम पनि तपाईकै कार्यकालमा भएका हुन् भनिदिउँला ।’ मेयर शाहले आग्रह–पूर्वाग्रहबाट मुक्त भएर विकासका लागि साझेदारी गर्न पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । उनले अगाडि लेखेका छन्, ’जति भ्रम फैलाए पनि, हामी तपाईको भ्रष्ट कार्यकर्तासँग झुक्दैनौँ ।’
वर्तमान सरकारले आफूविरुद्ध भ्रम फैलाएको र भ्रम फैलाउनमा विद्यावारिधिको उपाधि दिन मिल्ने भए अहिलेको सरकारलाई नै दिए हुने कडा टिप्पणीसमेत मेयर शाहको छ । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथिको छानबिनको रिपोर्ट लुकाइयो भनेरसमेत भ्रम फैलाइएको मेयर शाहको दाबी छ । उनले लेखेका छन्, ’लुकाउनलाई त हुनु पर्यो नि, होइन । रिपोर्ट बनेकै छैन, लुकाइयो भन्ने भ्रम फैलाइन्छ ।’
यसअघि काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि छानबिन गर्ने बताएको थियो । आधिकारिक प्रकिया पूरा नगरी नक्सा पास गरेको भन्दै महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि छानबिन अगाडि बढाउने बताएको थियो ।