रमेश कुमार यादब
फाल्गुन १९, रौतहट
बृन्दावन नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई परिचयपत्र वितरण गर्ने कार्य विधिवत रूपमा सुरु गरेको छ । यसअघि महिला विकास तथा जेष्ठ नागरिक कार्यालय मार्फत परिचयपत्र वितरण हुँदै आएको थियो । तर, स्थानीय तहमा महिला तथा बालबालिका कार्यालय स्थापना भएपछि, कार्यविधि २०७९ अनुसार नगरपालिका स्वयंले परिचयपत्र वितरणको जिम्मेवारी लिएको हो ।सोमबार एक विशेष कार्यक्रमका बीच बृन्दावन नगरपालिकाका नगरप्रमुख बिनोद प्रसाद कुर्मीले अपाङ्ग भएका ब्यतिmहरुहरु अपाङ्गता परिचयपत्र वितरण कार्यको औपचारिक सुरुवात गरेका हुन् ।

उनले भने, “नगर क्षेत्रभित्र रहेका सम्पूर्ण अपाङ्गता भएका व्यक्तिहरूलाई परिचयपत्र वितरण गरिनेछ, जसका आधारमा उनीहरूले आवश्यक सेवा(सुविधा पाउनेछन् ।” नगरप्रमुख कुर्मीका अनुसार हालसम्म १ सय ३८ जनाले अपाङ्गता परिचयपत्रका लागि निवेदन दिएका थिए । ती निवेदनमध्ये नियम अनुसार योग्य ठहर भएका व्यक्तिहरूलाई वर्गीकरण गरी परिचयपत्र वितरण गरिएको छ । वर्गीकरण निम्नानुसार छ : क वर्ग (अति गम्भीर अपाङ्गता) – ७ जना, ख वर्ग (गम्भीर अपाङ्गता) – १५ जना, ग वर्ग (मध्यम अपाङ्गता) – ३८ जना , घ वर्ग (सामान्य अपाङ्गता) – ६५ जनालाई बितरण गरिएको हो ।

नगरपालिकाका स्वास्थ्य संयोजक रासननारायण पटेलका अनुसार, सम्पूर्ण वडामा रहेका अपाङ्गता भएका व्यक्तिहरूको पहिचान गरी तिनीहरूको अवस्था तथा प्रकारका आधारमा उचित वर्गीकरण गर्दै परिचयपत्र वितरण गरिएको छ । उनले भने, “हामीले प्रत्येक वडामा पुगेर अपाङ्गता भएका व्यक्तिहरूको अध्ययन तथा निरीक्षण गरेका छौँ । त्यसपछि उनीहरूको अपाङ्गताको प्रकृति हेरी वर्ग विभाजन गरी परिचयपत्र प्रदान गरेका छौँ ।
”नगर प्रमुख कुर्मीले अपाङ्गता परिचयपत्र वितरण कार्यक्रम ढिला हुनुको पछाडि विपक्षीहरूको अवरोध मुख्य कारण रहेको आरोप लगाए । उनले भने, “हामी निर्वाचित भइसकेपछि हाम्रो काममा अवरोध गर्न ३८ दिनसम्म नगरपालिकामा धर्ना दिइयो । प्रशासनलाई असक्षम बनाउन विभिन्न जालझेल गरियो । तर, हामी एक इन्च पनि पछि नहटीकन जनताको सेवा गर्न प्रतिबद्ध छौँ ।”उनका अनुसार, परिचयपत्र वितरणको काम धेरै पहिल्यै गर्न सकिन्थ्यो, तर राजनीतिक कारणले गर्दा प्रक्रिया ढिलो भयो ।

अहिले भने सबै कानुनी प्रक्रिया पूरा गर्दै वितरण कार्य सुरु गरिएको छ । नगरपालिकाले अब आउने दिनमा पनि अपाङ्गता भएका अन्य व्यक्तिहरूलाई क्रमबद्ध रूपमा परिचयपत्र वितरण गर्दै जाने योजना बनाएको छ । नगर प्रमुख कुर्मिले भने यस परिचयपत्र प्राप्त गरेका व्यक्तिहरूले निम्न सेवा(सुविधा पाउनेछन ः सरकारी तथा सार्वजनिक सेवाहरूमा प्राथमिकता, स्वास्थ्य उपचारमा छुट तथा विशेष सेवा, सामाजिक सुरक्षा भत्ता तथा सहयोग कार्यक्रम , शिक्षा तथा रोजगारीमा विशेष अवसर , अपाङ्गता मैत्री संरचना तथा यातायात सुविधा पाउने पनि प्रष्ट पारेका थिए ।
नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई अझ सहज बनाउने गरी अन्य थप कार्यक्रमहरू ल्याउने योजना पनि बनाइरहेको छ ।बृन्दावन नगरपालिकाले सुरु गरेको यो कार्य अपाङ्गता भएका व्यक्तिहरूलाई सामाजिक रूपमा सम्मानित, स्वावलम्बी र सक्षम बनाउने महत्वपूर्ण कदम भएको नगर प्रमुख कुर्मीले बताए ।

आगामी दिनमा पनि नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूका हक-अधिकार सुनिश्चित गर्न थप नीतिगत तथा व्यावहारिक कार्यक्रम सञ्चालन गर्ने नगर प्रमुखको भनाइ छ । त्यति मात्र नभएर दिर्घ रोगी र मृगौला पिडितहरुको लागी पनि हामिले राज्यबाट पाउने सम्पुर्ण सेवा सुबिधाको प्रकृया अगाडी बढाईरहेका छौ बताउनु भयो । यस कार्यक्रमबाट बृन्दावन नगरपालिकाका अपाङ्गता भएका नागरिकहरूलाई ठोस लाभ पुग्ने अपेक्षा गरिएको छ ।

उक्त बितरण कार्यक्रममा एमआईएस अपरेटर सरोज कुमार यादब, सुशासन शाखा प्रमुख हरिदुलाल , रोजगार सेवा केन्द्रको प्रमुख हरेराम पंडित, फिल्ड सहायक अनिल यादब लगायत बिभिन्न शाखाका प्रमुख , कर्मचारीहरुको सहभागिता रहेको थियो ।