पवन कुमार उपाध्याय
रौतहट,२० फागुन। सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया दलित किशोरी रिंकु कुमारी सदा माथि भएको अपहरण, सामूहिक बलात्कार तथा रहस्यमयी मृत्युपछि न्यायको माग गर्दै रौतहटको गरुडामा मंगलबार दीप प्रज्वलन गरिएको छ ।
रिंकुका लागि न्याय दिलाउन तथा घटनामा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै गरुडाको मेथुर चौकमा सामाजिक अभियन्ता शैलेन्द्र यादवको अध्यक्षतामा मृत आत्माको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा विभिन्न स्थानीय नेताहरू, अधिकारकर्मीहरू, तथा नागरिक समाजका अगुवाहरूको उपस्थिति थियो । रिंकु कुमारी सदा गत माघ २७ गते राति शौच गर्न घरबाहिर निस्किएपछि अपहरणमा परेकी थिइन् । स्थानीय तीन युवकले उनलाई अपहरण गरी सामूहिक बलात्कार गरेको बताइएको छ ।
घटना बाहिर आएपछि गाउँमै पञ्चायती गरियो, जसमा पीडित पक्षलाई दबाब दिइएको थियो । पञ्चायतीको केही दिनपछि माघ ३० गते बेलुका रिंकु आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परिन् । परिवारले घटनालाई हत्या भन्दै निष्पक्ष छानबिनको माग गरे पनि, हालसम्म दोषीमाथि कुनै ठोस कानुनी कारबाही नभएको भन्दै विभिन्न स्थानमा विरोध प्रदर्शन भइरहेको छ ।
गरुडा नगरपालिकाका मेयर प्रत्याशी बृज किशोर यादवले कार्यक्रमलाई सम्बोधन गर्दै भने, “यस्ता जघन्य अपराध गर्ने जो कोहीलाई कडाभन्दा कडा कानुनी कारबाही हुनु पर्छ । बलात्कार, हत्या जस्ता घटनालाई गाउँमै पञ्चायती गरेर मिलाउने प्रवृत्ति अन्त्य गर्न जरुरी छ ।
“ त्यसैगरी, सोही नगरपालिकाका अर्का मेयर प्रत्याशी बिपिन जैसवालले भने, “राज्य र सरकारी निकायहरूको गैरजिम्मेवार प्रवृत्तिका कारण मधेशमा दलितहरू निरन्तर अन्याय, अत्याचार तथा जातीय भेदभावको शिकार भइरहेका छन् । यस्तो घटनालाई पञ्चायती गरेर मिलाउने संस्कार अझै पनि जीवित छ, जसले दोषीलाई उन्मुक्ति दिने काम गरिरहेको छ ।
“ त्यसैगरी, कार्यक्रममा उपस्थित राज कुमार दास, लालबाबु यादव, रबिन्द्र यादव लगायतका नेताहरुले रिंकुको हत्यालाई आत्महत्या भनेर ढाकछोप गर्न खोजिएको आरोप लगाउँदै वास्तविक दोषीलाई कानुनी कठघरामा ल्याउन माग गरेका थिए ।
रिंकु सदा घटनालाई लिएर अहिले रौतहट मात्र नभई देशभर विरोध प्रदर्शन भइरहेको छ । विभिन्न दलित अधिकारवादी संघसंस्थाहरू, महिला अधिकारकर्मीहरू, तथा मानव अधिकार आयोगले समेत घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिरहेका छन् ।
अधिकारकर्मीहरूको भनाइ अनुसार, यो घटना सामान्य अपराध मात्र नभई जातीय विभेदको एउटा प्रत्यक्ष उदाहरण हो । नेपालमा दलित समुदाय अझै पनि निर्दोष हुँदा–हुदै पनि अन्याय सहन बाध्य छन्, र यस्ता घटनामा प्रहरी प्रशासन तथा सरकार नै मौन बसेर दलित महिलामाथि अन्यायलाई मौन समर्थन गरिरहेको आरोप उनीहरूले लगाएका छन् । रिंकुको परिवार तथा स्थानीय बासिन्दाहरूले घटना सार्वजनिक भएदेखि नै न्यायको माग गरिरहेका छन् ।


