पवन कुमार उपाध्याय
रौतहट,२२ फागुन। मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मापदण्ड विपरीत सञ्चालित रौतहटको गरुडा र शिवनगरका गरी १० वटा निजी अस्पताल बन्द गर्न निर्देशन दिएका छन् ।
मुख्यमन्त्री सिंहले आज बिहीवार अबेर साँझ गरुडा र शिवनगरमा सञ्चालित निजी अस्पतालहरुको अड्के अनुगमन निरीक्षण गर्दै मापदण्ड पुरा नगरी सञ्चालनमा रहेको १० वटा निजी हस्पिटल बन्द गर्न निर्देशन दिएका छन् ।
गरुडा नगरपालिका–५ शिवनगरमा रहेको आनन्द अस्पताल एक्यूपन्चर सेन्टर प्रालि, गरुडा नगरपालिका–४ गरुडामा रहेको अनामिका हस्पिटल, रोमा हस्पिटल, सरस्वती हस्पिटल, सन सिटी हस्पिटल, गरुडा अस्पताल प्रालि, नेत्र ज्योति, होप हस्पिटल लगाएतका हस्पिटल बन्द गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिएका छन् ।
अनुगमनको क्रममा नियम र कानुन विपरीत सञ्चालन गरिएको पाइएकोले उक्त अस्पिटलहरु बन्द गर्न निर्देशन दिएको मुख्यमन्त्री सिंहले बताए । कानुन विपरीत सञ्चालनमा रहेको पाइएकोले मापदण्ड पुरा गरेपछि मात्र सञ्चालन गर्न भन्दै उनले नियम प्रक्रिया नपुगुन्जेलसम्म हस्पिटल बन्द राख्न सञ्चालकहरुलाई पत्र थमाएका थिए ।
मापदण्ड पुरा नगरी हस्पिटल सञ्चालन गरेको पाइएमा ति सञ्चालकलाई पक्राउ गरी कार्यवाही गर्ने समेत मुख्यमन्त्री सिंहले बताएका छन् ।
मुख्यमन्त्री सतिश कुमार सिंह गरुडामा छड्के अनुगमन गर्न आएको थाहा पाउने वितिकै मापदण्ड र कानुन विपरीत सञ्चालित हस्पिटलका सञ्चालकहरुको भागाभाग समेत भएको थियो । मुख्यमन्त्री सिंह अनुगमन गर्न आएपछि गैर कानुनी रुपमा अबैध हस्पिटल सञ्चालन गरी उपचारको नाममा सर्वसाधारणसँग चर्को शुल्क असुल्दै आएका गरुडाका कतिपय हस्पिटलका सञ्चालक हस्पिटल नै बन्द गरी भागेका थिए ।

गरुडामा रहेको सरस्वती हस्पिटल, सन सिटी हस्पिटल, गरुडा अस्पताल प्रालि, नेत्र ज्योतिका सञ्चालक हस्पिटल नै बन्द गरी फरार भएका थिए । तर पनि मुख्यमन्त्री सिंहले ति हस्पिटलहरुलाई समेत कार्यवाही स्वरुप बन्द गर्न निर्देशन दिएका हुन ।
त्यस्तै वर्षौदेखी विरामीलाई लुटदै आएका शिवनगरका आनन्द हस्पिटल एक्यूपन्चर सेन्टरका सञ्चालक एवं कथित डाक्टर कहलाउने उमेश प्रसाद मुख्यमन्त्री सिंह आएपछि हस्पिटल छाडेर फरार भएका थिए । अनुगमनको क्रममा आनन्द हस्पिटल अनुमति गरुडा नगरपालिकाबाट कानुन विपरीत २५ बेडको अनुमति लिएपनि ६० बेडभन्दा बढी बेड राखेको, एउटा भवनमा हस्पिटल सञ्चालन गर्ने अनुमति लिएपनि तिनवटा भवनमा हस्पिटल सञ्चालन गरेको, अन्य मापदण्ड पुरा नगरेको पाइएपछि मुख्यमन्त्री सिंहले आनन्द हस्पिटल समेत बन्द गर्न निर्देशन दिएका छन् ।
नियमले नगरपालिकाले निजी अस्पताललाई १५ शैया बेडको मात्र अनुमति दिन पाउँछन तर गरुडा नगरपालिकाले कानुन विपरीत आनन्द हस्पिटल शिवनगरलाई २५ शैया बेडको अस्पताल सञ्चालन गर्न अनुमति दिएको देखिएकोले गरुडा नगरपालिकालाई समेत कार्यवाही गर्ने बताएका छन् । सम्बन्धित निकायबाट अनुमति नै नलिइ खुलेका अस्पतालले उपचारको नाममा चर्को शुल्क लिने गरेको गुनासो आएपछि आज धेश प्रदेशका मुख्यमन्त्रीले अनुगमन तथा निरीक्षण गरेपछि त्यस्ता अस्पताल बन्द भएका हुन् ।
गरुडा नगरपालिकामा सामान्य प्रक्रियासमेत पुरा नगरी अस्पताल संचालन गरेपछि स्थानीय स्तरमा त्यसको चर्को आलोचना भएपछि अनुगमनका लागि मुख्यमन्त्री सतिशकुमार सिंह रौतहट आएका थिए ।
उनी अनुगमनमा आएको थाहा पाएपछि गरुडा र शिवनगरका आधा दर्जन अस्पतालका सञ्चालक सटर लगाएर भागेका थिए । जिल्लामा पछिल्लो समय मापदण्ड विपरीत अस्पताल सञ्चालन गर्ने क्रम बढेको छ । उनीहरूले हचुवाका भरमा धमाधम अस्पताल खोलका छन् ।
अधिकांश अस्पतालमा एम्बुलेन्स रोक्ने पार्किङ स्थल समेत छैन । यस्ता अस्पतालको निगरानी र अनुगमन हुन नसक्दा बेथिति र सर्वसाधारणले सास्ती खेप्नु परेको छ । रौतहट जिल्लाको चन्द्रनिगाहपुर गौर सडक खण्डका दर्जनौ स्थानमा दर्ता नै नभएका निजी अस्पतालहरु संचालनमा छन् ।
स्थानीयले उपचारको नाममा सर्वसाधारणसँग चर्को शुल्क असुल्ने सदरमुकाम गौरसहितका शहर बजारमा रहेका निजी अस्पताल अनुगन गरेर बन्द गराउन माग गर्न थालेका छन् । केही समययता निजी अस्पताल अनुगमनलाई तीव्रता दिएका मुख्यमन्त्री सिंहले मापदण्डअनुसार भौतिक पूर्वाधार, स्वास्थ्य उपकरण र जनशक्ति व्यवस्थापन लगायत पुरा नगरीकनै सञ्चालनमा रहेका अस्पताल बन्द गर्न निर्देशन दिदैआएका छन् ।