रमेश कुमार यादब
फाल्गुन २२, रौतहट
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले पछिल्लो समय गरिरहेका छड्के अनुगमनका कारण अवैध रूपमा सञ्चालनमा रहेका हस्पिटल सञ्चालकहरू त्रसित बनेका छन् । रौतहट जिल्लाको व्यापारिक केन्द्र मानिने गरुडा नगरपालिकामा मात्र दुई दर्जनभन्दा बढी अवैध हस्पिटल सञ्चालनमा रहेको खुलेको छ । यी हस्पिटलहरूले कुनै कानुनी मान्यता नलिई, बिना दर्ता तथा आवश्यक कागजातबिना नै बिरामीहरूको उपचार गर्दै आएको रहस्य सार्वजनिक भएको छ ।
सरस्वती हेल्थ केयरले अनुगमन अगाडी नै होर्डिङ बोर्ड हटाउँदै सञ्चालक हराए
मुख्यमन्त्री सतिश कुमार सिंहको अनुगमन टोलीले गरुडामा रहेको सरस्वती हेल्थ केयर हस्पिटलमा छड्के अनुगमन गर्नु अघि सो हस्पिटलका सञ्चालकहरू अचानक हराएका छन् । अनुगमन सुरु भएलगत्तै उक्त हस्पिटलका ठूला(ठूला होर्डिङ बोर्डहरू हटाइए, जसले गर्दा स्थानीय जनतामाझ ठूलो आशंका उत्पन्न भएको छ। स्थानीय बासिन्दाहरूले प्रश्न उठाएका छन ।। यदि सो हस्पिटल वैधानिक थियो भने किन बोर्ड हटाउनु पर्यो ? किन सटर बन्द गरेर भाग्नु पर्यो ?
अवैध हस्पिटलहरू धमाधम बन्द हुन थाले
मुख्यमन्त्री सिंहको निरन्तर अनुगमनपछि गरुडाका अन्य अवैध हस्पिटलहरू पनि धमाधम बन्द हुन थालेका छन्। यसले गर्दा लामो समयदेखि गैरकानुनी रूपमा सञ्चालनमा रहेका अस्पतालहरूलाई चुनौती खडा भएको छ। कतिपय अस्पताल सञ्चालकहरूले अनुगमन टार्न बोर्डहरू हटाएर आफूहरू गायब भएको देखिएको छ । स्थानीय बासिन्दाहरूको भनाइअनुसार, यी अस्पतालहरू झोलाछाप डाक्टरहरूद्वारा सञ्चालित थिए।
न त यी अस्पतालहरूसँग दक्ष चिकित्सक थिए, न त कुनै दर्ता प्रमाणपत्र नै। बिना अनुमति क्लिनिक तथा अस्पताल खोल्ने, सस्तो शुल्कको नाममा बिरामीहरूलाई गलत उपचार दिने, नक्कली औषधि प्रयोग गर्ने, अप्रेसन गर्ने नाममा आर्थिक शोषण गर्ने जस्ता क्रियाकलापमा यी अस्पतालहरू संलग्न रहेको बताइन्छ ।
मुख्यमन्त्री सिंहको चेतावनीः अवैध हस्पिटलहरू बन्द नगरे कडा कारबाही गरिने
मुख्यमन्त्री सतिश कुमार सिंहले अवैध अस्पताल सञ्चालन गर्ने जोसुकैलाई कडा कानुनी कारबाही गरिने चेतावनी दिएका छन्। उनले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा गैरकानुनी कार्य सह्य नहुने बताउँदै स्थानीय प्रशासनलाई पनि निगरानी बढाउन निर्देशन दिएका छन्। “अबैध अस्पतालहरूले नागरिकहरूको स्वास्थ्यसँग खेलवाड गरिरहेका छन्। अब यो सह्य हुँदैन। अवैध हस्पिटलहरू तुरुन्तै बन्द गर्नुपर्छ, नत्र कानुनी कारबाहीमा पर्नेछन्,“ उनले भने।
स्थानियको मागः अबैध हस्पिटलमाथि कडा कारबाही होस्
गरुडा तथा आसपासका स्थानिय बासिन्दाहरूले स्वास्थ्य क्षेत्रमा भएको यो धाँधलीको अन्त्य हुनुपर्ने माग
गरेका छन्। “हामीले विश्वास गरेर अस्पतालमा जाने हो । तर, यहाँ त लुट्ने धन्दा चलेको रहेछ । सरकारले यस्तो अस्पतालहरू तुरुन्तै बन्द गर्नुपर्छ र सञ्चालकलाई जेल हाल्नुपर्छ,“ एक स्थानीय व्यक्तिले आक्रोश पोख्दै भने । अब मुख्यमन्त्री सिंहको अनुगमनले कति दिनसम्म प्रभाव पार्नेछ र यस्ता अवैध अस्पतालहरू पूर्ण रूपमा बन्द हुनेछन् कि होइनन् भन्ने विषयमा सबैको ध्यान केन्द्रित भएको छ ।