रमेश कुमार यादब
फाल्गुन २३, रौतहट
गरुडा नगरपालिकाको वडा नं. ३ मलाही टोलमा नयाँ वडा कार्यालय भवनको शिलान्यास सम्पन्न भएको छ। शुक्रबार आयोजित एक विशेष कार्यक्रमबीच नगर प्रमुख कन्थमनी प्रसाद जैसवालले शिलान्यास गर्नुभएको हो। नगरपालिकाको बजेटबाट रु. २५ लाख को लागतमा निर्माण हुन लागेको सो भवन चार कोठे हुनेछ। नगर प्रमुख जैसवालका अनुसार, यस नयाँ भवन निर्माणपछि स्थानीय बासिन्दाले सहज, व्यवस्थित र प्रभावकारी रूपमा वडा कार्यालयका सेवा प्राप्त गर्न सक्नेछन् ।
मलाही टोलस्थित पुरानो वडा कार्यालय भवन जीर्ण भई प्रयोगविहीन बनेपछि नयाँ भवन निर्माणको आवश्यकता रहेको थियो । स्थानीय जनताले समेत नयाँ भवन निर्माणका लागि नगरपालिकासँग माग गर्दै आएका थिए । नयाँ भवन निर्माणका लागि जग्गा व्यवस्थापनमा स्थानीय समाजसेवी पारस सहनी को विशेष योगदान रहेको छ। उनले १ का १३ धुर जग्गा वडा कार्यालय भवन निर्माणका लागि निःशुल्क दान गरेका छन्। नगर प्रमुख जैसवालले कार्यक्रममा पारस सहनीलाई विशेष धन्यवाद ज्ञापन गर्दै यस्ता समाजसेवी कार्यले नगरको विकासमा टेवा पुग्ने बताए ।
वडा कार्यालयसम्म पुग्न सहज होस् भन्ने उद्देश्यले १५ फिट चौडाइ र २५० मिटर लम्बाइ भएको बाटोको व्यवस्थापनसमेत गरिएको छ । यसले स्थानीय जनतालाई वडा कार्यालयसम्म आउ(जाउ गर्न सहज हुने नगरपालिकाले जनाएको छ । नयाँ भवनको शिलान्यास कार्यक्रममा वडा नं. ३ का अध्यक्ष अम्बिका सहनी, जग्गादाता पारस सहनी, स्थानीय बुद्धिजीवी, समाजसेवी तथा नगरवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । नगर प्रमुख जैसवालले भवन निर्माण कार्य छिट्टै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्दै नगरवासीलाई व्यवस्थित सेवा दिन नगरपालिकाले निरन्तर प्रयास गर्ने बताए ।


