रमेश कुमार यादब
फाल्गुन २५, रौतहट
बृन्दावन नगरपालिका–६ हर्षाहा स्थित श्री बतहु माध्यमिक विद्यालयले एसईई २०८१ मा सहभागी हुन गइरहेका विद्यार्थीहरूलाई विशेष समारोहका बीच भावनात्मक रूपमा बिदाइ गरेको छ । mविद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिनारायण प्रसाद पटेलको अध्यक्षतामा आइतबार एक भव्य तथा औपचारिक कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा नगर प्रमुख बिनोद प्रसाद कुर्मी प्रमुख अतिथि रहनु भएको थियो भने विद्यालयका प्रधानाध्यापक उपेन्द्र महतो, शिक्षक, शिक्षिका, अभिभावक, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, स्थानीय समाजसेवी तथा विद्यार्थीहरू उपस्थित थिए ।
कार्यक्रममा विद्यालयबाट जम्मा ७१ जना विद्यार्थीहरु मध्ये (४० छात्र र ३१ छात्रा) लाई फूलमाला, टीका र मिठाइ खुवाएर विदाई गरिएको थियो । कक्षा ९ का विद्यार्थीहरूले कक्षा १० का दाजुभाइ–दिदीबहिनीहरूलाई फुलमालाले सम्मान गर्दै उनीहरूको आगामी शैक्षिक यात्रा सफल रहोस् भन्ने शुभकामना व्यक्त गरे ।

विद्यार्थीको कलात्मक प्रस्तुति
कार्यक्रमको प्रारम्भमा विद्यालयका कक्षा १० का विद्यार्थीहरूले गीत, नृत्य र कविता प्रस्तुत गर्दै आफ्नो कला प्रदर्शन गरेका थिए । विद्यार्थीहरूले विद्यालयमा बिताएका सुनौला क्षणहरू सम्झिँदै शिक्षाप्रति आभार प्रकट गरेका थिए । उनीहरूले विद्यालयले प्रदान गरेको असल शिक्षा, नैतिकता, अनुशासन, तथा सिपहरूको प्रसंसा गरे । त्यति मात्र नभएर कक्षा १० का केही विद्यार्थीहरूले विद्यालयप्रति आफ्नो आभार व्यक्त गर्दै भने, “हामीले यहाँबाट केवल किताबी ज्ञान मात्र होइन, असल व्यवहार, अनुशासन र जीवनोपयोगी सीप पनि सिकेका छौं । विद्यालयले हामीलाई एउटा पारिवारिक वातावरणमा राखेर सिकाएको शिक्षा हाम्रो जीवनभर उपयोगी रहने छ ।“

विदाई समारोह र सम्मान
विदाई कार्यक्रममा कक्षा ९ का विद्यार्थीहरूले कक्षा १० का विद्यार्थीहरूलाई फूलमाला, टीका र मिठाइ खुवाएर सम्मानपूर्वक बिदाइ गरे । शिक्षक–शिक्षिकाहरूले विद्यार्थीहरूप्रति आशीर्वचन दिँदै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका थिए ।विद्यालयका प्रधानाध्यापक उपेन्द्र महतोले विद्यार्थीहरूलाई शुभकामना दिँदै भने, “एसईईपछि विद्यार्थीहरू भौतिक रूपमा टाढा भए पनि भावनात्मक रूपमा विद्यालयसँग सधैं नजिक रहनुपर्छ । यहाँबाट सिकेका ज्ञान, सीप र व्यवहारिक शिक्षा जीवनमा सफलताका लागि प्रयोग गर्न आवश्यक छ ।“

नगर प्रमुखको प्रेरणादायी मन्तव्य
नगर प्रमुख बिनोद प्रसाद कुर्मीले बिदाइ समारोहलाई सम्बोधन गर्दै विद्यालयका विद्यार्थीहरूलाई अनुशासन र कर्तव्य परायणताको महत्व सम्झाउँदै भने, “तपाईंहरू यस विद्यालयको गौरव हुनुहुन्छ । यस विद्यालयबाट बिदाइ भएर जाने विद्यार्थीहरूले राम्रो अंक ल्याएर विद्यालयको प्रतिष्ठा बढाउनु पर्दछ ।“ उनले थपे, “यस विद्यालयका पूर्वविद्यार्थीहरू हाल डाक्टर, इञ्जिनियर, प्रशासक तथा विभिन्न उच्च पदमा कार्यरत छन् । तपाईंहरू पनि त्यही बाटो अनुशरण गरेर समाज र देशको सेवा गर्नुहोस् ।“ तपाईंहरू पनि अनुशासन, परिश्रम र लगनशीलताका साथ आफ्नो लक्ष्य प्राप्त गर्नुहोस् ।“

शिक्षक–शिक्षिकाको मन्तव्य
कार्यक्रममा विद्यालयका अन्य शिक्षक–शिक्षिकाहरूले पनि आफ्ना मन्तव्य राख्दै विद्यार्थीहरूलाई निरन्तर अध्ययनशील रहन आग्रह गरेका थिए । उनीहरूले एसईई मात्र कुनै अन्तिम गन्तव्य नभएर उज्ज्वल भविष्यको ढोका भएको बताउँदै उत्कृष्ट नतिजा ल्याउन विद्यार्थीहरूलाई प्रेरित गरेका थिए ।। साथै, विद्यालयले विद्यार्थीहरूको सर्वांगीण विकासमा केन्द्रित भएर काम गरिरहेको र भविष्यमा पनि गुणस्तरीय शिक्षा प्रदान गर्न कटिबद्ध रहने प्रतिवद्धता व्यक्त गरे । त्यसतै एसईई परीक्षा २०८१ दिने विद्यार्थीहरूले पनि आफूलाई राम्रोसँग तयारी गरेर राम्रो नतिजा ल्याउने प्रतिज्ञा गरेका पनि थिए ।

समाप्ति र शुभकामना
कार्यक्रमको अन्त्यमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिनारायण प्रसाद पटेलले सम्पूर्ण शिक्षक–शिक्षिका, विद्यार्थी र अभिभावकहरूलाई धन्यवाद ज्ञापन गर्दै विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि निरन्तर प्रयत्न गर्ने प्रतिवद्धता जनाए । साथै विद्यालयबाट बिदाइ भए पनि उनीहरू कहिल्यै विद्यालयसँग टाढा नहुने कुरा व्यक्त गर्दै, सबै विद्यार्थीहरू एकअर्कासँग सम्पर्कमा रहिरहने, विद्यालयको नाम उज्ज्वल बनाउने तथा समाज र देशका लागि उपयोगी व्यक्ति बन्ने प्रतिबद्धता व्यक्त गर्दै बिदाइ कार्यक्रममा समापन गरिएको थियो ।
