पवन कुमार उपाध्याय
रौतहट,२६ फागुन। मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले बिना कुनै पूर्वसूचना विभिन्न जिल्लामा रहेका अनधिकृत र अवैध रूपमा सञ्चालित अस्पतालहरूको छड्के अनुगमन थालेपछि अहिले अस्पताल सञ्चालकहरूमा भागदौड मच्चिएको छ ।
अवैध रूपमा सञ्चालनमा रहेका अस्पतालहरू धमाधम बन्द हुन थालेका छन् भने कतिपय अस्पताल सञ्चालकहरू रातारात अस्पताल खाली गरेर भाग्ने अवस्थामा पुगेका छन् । रौतहट जिल्लाको मध्यभागमा रहेको गरुडा नगरपालिका(४ स्थित सरस्वती हेल्थ केयर हस्पिटल अवैध रूपमा सञ्चालनमा रहेको पाइएको थियो ।
मुख्यमन्त्री सिंहको अनुगमन अभियानले कडाइ गरेपछि उक्त अस्पताल सञ्चालकहरू अस्पताल खाली गरेर भाग्न थालेका छन् । हाल सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडियोमा सोही अस्पतालका कर्मचारीहरू रातारात अस्पतालको उपकरण तथा सामग्रीहरू पिकअप गाडीमा लोड गर्दै भागिरहेको देख्न सकिन्छ ।
केही दिनअघि अस्पताल सञ्चालकहरूले अस्पतालको होडिङ बोर्ड हटाएका थिए, जसबाट उनीहरू अनुगमनको डरले भाग्न चाहिरहेका थिए भन्ने प्रस्ट हुन्छ । स्थानीय नागरिकहरूका अनुसार सरस्वती हेल्थ केयर होस्पिटलले उपचारका नाममा बिरामीहरूसँग अत्यधिक शुल्क असुल्दै आएको थियो । कानुनी मान्यता नलिई सञ्चालनमा रहेको यस अस्पतालले स्वास्थ्य सेवा प्रदान गर्नुको सट्टा बिरामीहरूलाई आर्थिक रूपमा लुट्ने काम गरिरहेको गुनासो आएको थियो । मुख्यमन्त्री सतिश सिंहको निर्देशनमा गरुडा नगरपालिकाका १० अवैध अस्पतालहरू बन्द गरिएका छन् ।
अनुगमनका क्रममा यी अस्पतालहरूले कुनै कानुनी मान्यता नलिई सञ्चालन गरिरहेको पाइएको थियो । बन्द गर्न निर्देशन दिइएका अस्पतालहरू मध्ये गरुडा नगरपालिका(५, शिवनगरमा रहेको आनन्द अस्पताल एक्यूपन्चर सेन्टर प्रा.लि., गरुडा नगरपालिकाको वार्ड नं. ४ गरुडामा रहेको अनामिका हस्पिटल , रोमा हस्पिटल , सरस्वती हेल्थ केयर हस्पिटल , सन सिटी हस्पिटल , लगायतका हस्पिटलहरुलाई बन्द गर्न निर्देशन पत्र दिएका थिए ।
मुख्यमन्त्री सिंहले मधेश प्रदेशभरि यस्ता अनाधिकृत रूपमा सञ्चालनमा रहेका अस्पतालहरूको सूक्ष्म अनुगमन गरिने बताएका छन् । उनले भने, “स्वास्थ्य सेवा प्रदान गर्ने नाममा सर्वसाधारणलाई ठग्ने, अवैध रूपमा सञ्चालन गर्ने, कानुनी मापदण्ड पुरा नगर्ने कुनै पनि अस्पताललाई अब रहन दिइने छैन ।“
उनले स्वास्थ्य सेवा ऐन विपरीत काम गर्ने अस्पतालहरूलाई कारबाही गर्ने चेतावनीसमेत दिएका छन् ।अनुगमन अभियानलाई थप प्रभावकारी बनाउनका लागि स्वास्थ्य मन्त्रालय, प्रहरी प्रशासन, र स्थानीय तहका अधिकारीहरूलाई समेत समन्वय गर्न निर्देशन दिइएको छ । गरुडा क्षेत्रका स्थानीय नागरिकहरूले मुख्यमन्त्री सिंहको यो अभियानको खुलेर प्रशंसा गरेका छन् । उनीहरूका अनुसार, अवैध अस्पतालहरूले बिरामीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा नदिई अत्यधिक शुल्क असुल्दै आएका थिए । एक स्थानीय बासिन्दाले भने, “यस्ता अस्पतालहरू बन्द हुनु जरुरी थियो ।
मुख्यमन्त्रीले राम्रो काम गर्नुभएको छ । हामी चाहन्छौँ कि अब सही तरिकाले सञ्चालित अस्पतालहरूबाट मात्र स्वास्थ्य सेवा उपलब्ध होस् ।“
मुख्यमन्त्री सतिश सिंहको अनपेक्षित छड्के अनुगमन अभियान मधेश प्रदेशभरि चर्चाको विषय बनेको छ । अवैध रूपमा सञ्चालनमा रहेका अस्पतालहरू अहिले धमाधम बन्द हुन थालेका छन् भने कतिपय अस्पताल सञ्चालकहरू अस्पताल खाली गरेर भाग्ने अवस्थामा पुगेका छन् । आगामी दिनहरूमा पनि मुख्यमन्त्री सिंहको नेतृत्वमा यस्ता अनुगमनहरू जारी रहने सम्भावना छ, जसले मधेश प्रदेशको स्वास्थ्य क्षेत्र सुधार्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।