रमेश कुमार यादब
फाल्गुन २८, रौतहट
रौतहट जिल्लाको व्यापारिक केन्द्रका रूपमा परिचित गरुडा नगरपालिका द्वारा आयोजित होली मिलन तथा शुभकामना आदान–प्रदान समारोह २०८१ बुधबार भव्य रूपमा सम्पन्न भएको छ । नगर प्रमुख कन्थमणि प्रसाद जैसवालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नगरका जनप्रतिनिधि, राजनीतिक दलका नेता, समाजसेवी, बुद्धिजीवी तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो । नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले होली पर्वलाई रंग, उमंग र सद्भावको पर्व भएको उल्लेख गर्दै यस पर्वले सामाजिक मेलमिलाप, आपसी समझदारी र सद्भावना अभिवृद्धि गर्ने बताउनु भयो ।

उहाँले सबै नगरवासीलाई शान्ति, प्रेम र अनुशासन कायम राख्दै सुरक्षित र मर्यादित तरिकाले होली पर्व मनाउन आग्रह गर्नुभयो । त्यति मात्र नभएर होली पर्वको सांस्कृतिक महत्वलाई उजागर गर्दै यस पर्वलाई समाजलाई एकत्रित गर्ने, विगतका द्वेष हटाउने र सबैलाई प्रेम र सद्भावको डोरीले बाँध्ने पर्व को रूपमा मनाउन आग्रह गरेका थिए । साथै, होली पर्वको समयमा अत्यधिक मद्यपान, लागुऔषध दुरुपयोग, तथा सवारी साधनको लापरवाहीपूर्ण प्रयोग नगर्नु पर्ने कुरामा विशेष जोड दिनुभयो ।

उनले होली पर्वको उल्लासको क्रममा मद्यपान, लागूपदार्थ सेवन र ट्राफिक नियम उल्लङ्घन नगर्न नगरवासीहरूलाई अनुरोध गरेका थिए । सोही कार्यक्रममा गरुडा नगरपालिका–४ का वडाअध्यक्ष सुनिल जैसवालले मौलिक संस्कृति र परम्पराको संरक्षण गर्नु अहिलेको आवश्यकता भएको बताउँदै होली पर्वलाई शान्तिपूर्ण र अनुशासित रूपमा मनाउन सबैलाई अपिल गर्नु भयो । उहाँले पछिल्लो समय जबरजस्ती रंग दल्ने, मादक पदार्थको अत्यधिक सेवन गर्ने, तथा अमर्यादित व्यवहार देखाउने प्रवृत्ति बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नु भयो ।

होली पर्व सामाजिक सद्भाव, एकता र भाइचाराको प्रतिक भएको बताएका थिए । “हाम्रो मौलिक संस्कृति र संस्कारको रक्षा गर्नु आजको आवश्यकता हो । होली पर्वलाई मर्यादित, शान्त र सभ्य रूपमा मनाउनु पर्छ ।“ त्यस्तै, उनले पछिल्लो समय होलीको नाममा खुल्ला रूपमा मद्यपान, धूम्रपान तथा जबरजस्ती रंग दल्ने जस्ता नकारात्मक प्रवृत्तिहरू बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै समाजमा विकृति फैलाउने कार्य नगर्न सबैलाई आग्रह गरेका थिए । त्यसैगरी, गरुडा नगरपालिका–५ महम्मदपुरका वडाअध्यक्ष रामबिनोद साहले भने,“होली केवल रङ्गहरूको पर्व मात्र होइन, यो आपसी प्रेम, भाइचारा र सामाजिक मेलमिलापको पर्व हो । युवाहरूले होली पर्वलाई मर्यादित तरिकाले मनाउनुपर्छ र समाजमा राम्रो सन्देश प्रवाह गर्नुपर्छ ।“

होली पर्व आपसी प्रेम, भाइचारा, सद्भाव र सहिष्णुता फैलाउने महत्वपूर्ण अवसर भएको बताउँदै विशेषगरी युवाहरूले अनुशासन कायम गर्दै संस्कृतिको जगेर्ना गर्ने जिम्मेवारी बहन गर्नुपर्ने धारणा राख्नुभयो । उनले समाजमा रहेका युवाहरूलाई अनुशासन कायम गर्न, होलीलाई गलत तरिकाले मनाउने प्रवृत्तिबाट टाढा रहन तथा परम्परागत एवं सांस्कृतिक महत्व जोगाउन विशेष ध्यान दिनुपर्नेमा जोड दिए । कार्यक्रममा उपस्थित अन्य वक्ताहरूले पनि आ–आफ्नो मन्तव्य राख्दै समाजमा देखिएका विकृति तथा विसंगतिलाई हटाउँदै होली पर्वलाई शुद्ध, सुसंस्कृत र मर्यादित रूपमा मनाउन सबैलाई आग्रह गरेका थिए ।
कार्यक्रममा बोल्ने अधिकांश अतिथिहरूले समाजमा शान्ति, सौहार्दता र सहिष्णुता कायम राख्दै पर्वहरूलाई एकताको माध्यम बनाउनुपर्ने कुरामा जोड दिएका थिए । कार्यक्रममा विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू समेत प्रस्तुत गरिएका थिए । स्थानीय कलाकारहरूको प्रस्तुति, होलीका पारम्परिक गीतहरू, नृत्य तथा रंग–अबीरको उत्सवले सम्पूर्ण वातावरण हर्षोल्लासमय बनेको थियो । कार्यक्रमको सञ्चालन गरुडा नगरपालिकाको योजना शाखा प्रमुख रामानन्द सहनीले गर्नुभएको थियो। कार्यक्रममा सहभागीहरूबीच रंग, अबिर र मिठाईको आदानप्रदान गर्दै खुशी तथा शुभकामना साटासाट गरिएको थियो ।

नगरपालिकाले आगामी दिनहरूमा पनि यस्ता सांस्कृतिक तथा सामाजिक सद्भाव बढाउने कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए । यसरी गरुडा नगरपालिकाको होली मिलन तथा शुभकामना आदान–प्रदान समारोह उल्लासमय वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ । सहभागी सबैले कार्यक्रमको प्रशंसा गर्दै यसलाई समाजमा आपसी प्रेम, एकता र मेलमिलाप प्रवद्र्धन गर्ने सकारात्मक प्रयासको रूपमा हेर्नुपर्ने बताएका छन् ।
उक्त कार्यक्रममा गरुडा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत मोहम्मद मुस्ताक आलम, लेखा अधिकृत सत्यनरायण प्रसाद सहनी , वडा नं.१ का वडाध्यक्ष शेख वाहब, वार्ड नं.२ का वडाअध्यक्ष कृषनन्दन सहनी, ३ का वडाअध्यक्ष अम्बिका सहनी ,६ का वडाअध्यक्ष रामबाबु चौधरी , ७ का वडाअध्यक्ष प्रबिन सिंह यादब, ८ का वडाअध्यक्ष रामबशिष्ठ यादब , ९ का वडाअध्यक्ष राजेश सहनी , युवा नेता शैलेस जैसवाल, प्रहरी प्रशासन लगायत कर्मचारी ,कार्यापालिका सदस्य ,बुद्धिजीवी, कर्मचारी शिक्षक, समाजसेवी, पत्रकारहरुको उपस्थिति रहेको थियो ।