रमेश कुमार यादब
फाल्गुन २९, रौतहट
रौतहट जिल्लाको गरुडा नगरपालिका स्थित हाम्रो बचत तथा ऋण सहकारी संस्था लि. द्वारा आयोजित होली मिलन समारोह तथा शुभकामना अदान–प्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । सो कार्यक्रम संस्थाका अध्यक्ष तथा नेपाल सुनचाँदी व्यवसाय महासंघ, मधेश प्रदेशका सभापति रामजी साह सोनार को अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमको प्रमुख अतिथि संघीय सांसद माननीय बिना देवी साह रहनुभएको थियो । प्रमुख अतिथि साहले शुभकामना मन्तव्य व्यक्त गर्दै होली आपसी सद्भाव, मेलमिलाप र सामाजिक एकताको पर्व भएकाले सभ्य तरिकाले मनाउन आग्रह गर्नुभयो । साथै, हाम्रो बचत तथा ऋण सहकारी संस्था लि.द्वारा आयोजित यो कार्यक्रममा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै संस्थाको निरन्तर प्रगति तथा समृद्धिको कामना गर्नुभयो ।

संस्थाको अध्यक्षद्वारा विशेष अनुरोध
कार्यक्रमका अध्यक्ष रामजी साह सोनारले सम्बोधन गर्दै नगरवासीलाई शान्ति, प्रेम र अनुशासन कायम राख्दै मर्यादित तरिकाले होली पर्व मनाउन अनुरोध गर्नु भयो । साथै, संस्थाले विगत १४ वर्षदेखि निरन्तर सेवा प्रदान गरिरहेको स्मरण गराउँदै, सबै सदस्यहरूलाई सहकारीलाई अझ सबल बनाउन सहयोग गर्न आग्रह गर्नु भयो ।
उहाँले विशेष रूपमा संस्थाबाट ऋण लिएका केही व्यक्तिहरूले समयमा ऋण नतिरेको समस्या उठाउँदै, बारम्बार सूचना जारी गरे पनि प्रतिक्रिया नआएपछि कानुनी प्रक्रिया अघि बढाउने चेतावनी दिनुभयो । अन्ततः, संस्थाले उनीहरूको नाम पत्रपत्रिकामा प्रकाशित तथा रेडियो मार्फत प्रशारण गर्न बाध्य भएको र अब कानुनी प्रक्रिया अगाडि बढाउनुपर्ने अवस्था आएको जानकारी दिए ।
उहाँका अनुसार, सहकारीले बिना कुनै झन्झट ऋण सेवा प्रदान गर्दै आएको भए तापनि, केही लाभग्राहीहरू ऋण तिर्न आनाकानी गर्दै आएका छन् । संस्थाले उनीहरूलाई समयमै ऋण चुक्ता गर्न पुनः आग्रह गरेको छ, अन्यथा आवश्यक कानुनी कारबाही गर्न बाध्य हुने बताइएको छ ।

रंग, अबिर र दोसल्ला ओढाएर भव्य समापन
कार्यक्रमको क्रममा उपस्थित अतिथिहरूलाई रंग, अबिर तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न स्थानीय समाजसेवी, व्यवसायी, सहकारीका सदस्य तथा नगरबासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । अन्त्यमा, होली पर्वको सांस्कृतिक महत्व उजागर गर्दै, समाजलाई एकत्रित गर्ने, पुराना गुनासा र वैमनस्यता मेट्ने, प्रेम र सद्भावको डोरीमा बाँध्ने पर्वको रूपमा मनाउन आग्रह गरे ।

कार्यक्रम सफल तथा अनुशासित रूपमा सम्पन्न भएकोमा सहभागीहरूबाट आयोजक पक्षलाई धन्यवाद ज्ञापन गरिएको थियो । कार्यक्रममा शेख कलिमुल्लाह, गरुडा नगरपालिकाको मेयर प्रत्याशि बृजकिशोर यादब, रामभरोस प्र.यादब, गरुडा नगरपालिकाको वार्ड नं.१ का शेख वाहव, ४ का वडाअध्यक्ष रामबिनोद प्रसाद जैसवाल, उधोग बाणिज्य संघको पुर्व अध्यक्ष हरेन्द्र चौधरी, लक्ष्मण साह, कर्मचारी , पत्रकार लगायत बिभिन्न बुद्धजिवी ब्यतिmहरुको सहभागिता रहेको थियो ।