रमेश कुमार यादब
चैत ०४, रौतहट
बृन्दावन नगरपालिका–८ आकडपाथडमा निर्माणाधीन शुद्ध खानेपानी ओभरहेड ट्यांकीको दोस्रो चरणको फाउन्डेसन ढलान कार्यको अनुगमन तथा निरीक्षण नगरप्रमुख बिनोद प्रसाद कुर्मीले गर्नुभएको छ । अनुगमनका क्रममा नगर प्रमुख कुर्मीले जनताको आधारभूत आवश्यकतालाई प्राथमिकतामा राख्दै शुद्ध खानेपानीको पहुँच विस्तार गर्ने आफ्नो प्रतिबद्धता अनुरूप यो आयोजना अघि बढाइएको जानकारी गराउनु भयो । नगरप्रमुख कुर्मीले भन्नुभयो, “स्थानीय जनतालाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो मुख्य लक्ष्य हो ।

यो ५ लाख लिटर क्षमता भएको ओभरहेड ट्यांकी निर्माण भएपछि खानेपानीको समस्या टुङ्गिने विश्वास लिएका छौं । स्वच्छ र सुरक्षित पानी हरेक नागरिकको अधिकार हो, त्यसैले हामी कुनै पनि किसिमको सम्झौताविना गुणस्तरीय काम गरिरहेका छौं ।” उहाँले निर्माण कार्यको निरन्तर अनुगमन गरी कुनै पनि प्राविधिक कमजोरी नहोस् भन्ने सुनिश्चित गरिरहेको बताउनु भयो । “यस ट्यांकीमा प्रयोग भइरहेको छडको मापदण्ड, कति ईन्चको दूरीमा राखिएको छ, निर्माण कार्य कसरी भइरहेको छ— म दिनहुँ अनुगमन गर्छु । यसलाई छिटोभन्दा छिटो सम्पन्न गरी जनताले सेवा लिन पाउने वातावरण बनाउँछौं ।

” नगरप्रमुख कुर्मीले थप्नुभयो । शुद्ध पानीको अभावले ८० प्रतिशत मानिसहरुको अकालमै ज्यान गुमाउने परेको अवस्था रहेको छ । मानिसको खानपिन सहित शुद्धपानीको धेरै नै महत्वपुर्ण भुमिका रहेको हुन्छ । त्यसैले हामिले वार्ड नं.८ र ९ को सीमा क्षेत्रमा ओभरहेड पानी ट्यांकीको निर्माण गराईरहेको र यसले दुई गाउँ लगायत वरिपरिका मानिसहरुलाई शुद्ध खानेपानी प्राप्त हुने नगर प्रमुख कुर्मिले बताउनु भयो । अनुगमनका क्रममा नगर प्रमुखसँगै प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर भुजेल, संघीय खानेपानी मन्त्रालयका इन्जिनियर बिराजन कुमार साह तथा अन्य प्राविधिक टोलीको उपस्थिति रहेको थियो । नगरप्रमुख कुर्मीका अनुसार, निर्माण कार्यलाई समयमै पूरा गर्न सबै पक्षसँग समन्वय गरिएको छ ।

यस ओभरहेड खानेपानी टंकीको माघ १ गते माघे संक्रान्तिको पावन अवसरमा नेकपा एसका केन्द्रीय महासचिव रामकुमार भट्टराई र नगरप्रमुख बिनोद प्रसाद कुर्मीले संयुक्त रूपमा शिलान्यास गरेका थिए । यस परियोजनाको ठेक्का प्रक्रिया मार्फत ४ करोड ७५ लाख ७७ हजार रुपैयाँमा तिरुपति आकाश जेभी निर्माण कम्पनीलाई जिम्मा दिइएको छ । निर्माण कम्पनीले निर्धारित समयभित्र गुणस्तरीय काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । नगरपालिकाले नगरभित्रका अन्य स्थानहरूमा पनि खानेपानीको पहुँच सुधार गर्ने योजनाका साथ विभिन्न खानेपानी आयोजनाहरू सञ्चालन गरिरहेको छ । ओभरहेड ट्यांकी निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दाले सहज रूपमा शुद्ध पानी उपभोग गर्न पाउनेछन् ।

स्थानिय बासिन्दाहरूले पनि यस आयोजनालाई अत्यन्त सकारात्मक रूपमा लिएका छन् । “हामीले वर्षौंदेखि खानेपानीको अभाव झेलिरहेका थियौं । अहिले नगरपालिका र नगरप्रमुखको अग्रसरतामा ओभरहेड ट्यांकी निर्माण भइरहेकाले छिट्टै हामीले शुद्ध पानी पाउने आशा गरेका छौं,” स्थानीय एक बासिन्दा रामकुमार साहले भन्नुभयो । नगरपालिकाले आगामी दिनमा थप आधुनिक प्रविधिको उपयोग गर्दै नगरभर खानेपानीको समस्या समाधान गर्ने लक्ष्य लिएको बताएको छ।

नगरप्रमुख कुर्मीले “यस आयोजनालाई सफलतापूर्वक सम्पन्न गरी अन्य विकास निर्माणका कामहरूमा पनि समान गति ल्याउने” प्रतिवद्धता व्यक्त गर्नुभयो । नगरपालिकाले शुद्ध खानेपानी उपलब्ध गराउने दिशामा महत्वपूर्ण कदम चालेको छ । योजनाबद्ध रूपमा अगाडि बढाइएको यो आयोजना पूरा भएपछि नगरवासीहरूले स्वच्छ र सुरक्षित खानेपानीको सुविधा पाउनेछन् । नगरपालिका नेतृत्वको प्रतिबद्धता, निरन्तर अनुगमन र स्थानीयबासीको सहकार्यले यो आयोजना सफल हुने विश्वास गरिएको छ ।
उक्त अनुगमन कार्यक्रममा वडा नम्बर ८ का अध्यक्ष रविन्द्र साह, जग्गादाता सत्यनरायण सिंह मुल , कार्यपालिका सदस्य राजेश पासवान (निर्माणी) वडा सदस्यहरू, प्रेमलाल पटेल लगायत स्थानीय भद्रभलादमी, बुद्धिजीवी तथा मिडियाका पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
