रमेश कुमार यादब
चैत ०७, रौतहट
रौतहट जिल्लाको मध्यभागमा अवस्थित गरुडा नगरपालिका(४ स्थित श्री नमुना माध्यमिक विद्यालयको परीक्षा केन्द्रमा पहिलो दिनको परीक्षा शान्तिपूर्वक सम्पन्न भएको छ । आजदेखि देशभर सुरु भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ रौतहटमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । जिल्लाभरका विभिन्न परीक्षा केन्द्रहरूमा बिहान ८ बजेदेखि सुरु भएको परीक्षाको पहिलो दिन अंग्रेजी विषयको परीक्षा सहज रूपमा सम्पन्न भएको हो ।
रौतहट जिल्लाको मध्यभागमा अवस्थित गरुडा नगरपालिकाको श्री नमुना माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रमा पनि पहिलो दिनको परीक्षा कुनै अवरोधबिना सम्पन्न भएको केन्द्राध्यक्ष प्रभु पटेलले जानकारी दिनुभएको छ । उहाँका अनुसार सो केन्द्रमा परीक्षा दिन ३०१ जना परीक्षार्थी दर्ता भए पनि ९ जना अनुपस्थित भएका छन् । उपस्थित २९२ जना विद्यार्थीहरूमा १५९ छात्रा र १४२ छात्र रहेका छन् । यस वर्षको एसईई परीक्षामा रौतहट जिल्लाबाट १० हजार ४८४ जना विद्यार्थी सहभागी भएका छन् ।
शिक्षा विकास तथा समन्वय इकाई रौतहटका प्रमुख वीरेन्द्र जंग थापाका अनुसार साधारण तथा प्राविधिक शिक्षा प्रणाली दुवै तर्फका नियमित र ग्रेड वृद्धि गरी कूल परीक्षार्थीको यो संख्या पुगेको हो । रौतहट जिल्लाभर ९९ वटा सामुदायिक विद्यालय, २० वटा संस्थागत विद्यालय र ८ वटा प्राविधिक विद्यालय गरी कुल १२७ वटा विद्यालयका विद्यार्थी परीक्षामा सामेल भएका छन् ।
ती विद्यार्थीहरूको लागि जिल्लाभर ४० वटा परीक्षा केन्द्र स्थापना गरिएको छ । जिल्लाभरका सबै परीक्षा केन्द्रमा पहिलो दिनको परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख थापाले जानकारी दिनुभएको छ । परीक्षामा कुनै अवाञ्छित गतिविधि नभएको र सम्पूर्ण परीक्षा केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ । परीक्षा केन्द्रहरूमा सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय प्रशासनको निगरानी रहेको छ ।
विद्यालय प्रशासन, अभिभावक तथा विद्यार्थीहरू परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा खुसी व्यक्त गरेका छन् ।
परीक्षा केन्द्रहरूमा शैक्षिक वातावरण कायम गर्दै आगामी दिनका परीक्षाहरू पनि शान्तिपूर्ण रूपमा सम्पन्न गर्न शिक्षा विभागले आवश्यक व्यवस्थापन गरेको जनाएको छ । यस वर्षको एसईई परीक्षा चैत ७ गतेदेखि सुरु भई चैत १८ गतेसम्म सञ्चालन हुनेछ ।