वर्तमानकाल सम्वाददाता
चैत ०७, रौतहट
जिल्ला प्रहरी कार्यालय रौतहटले जिल्लामा जारी माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को परीक्षामा चिट चोराउन सहयोग गर्ने दुई जनालाई नियन्त्रणमा लिएको छ । परीक्षाको शुचिता भंग गर्ने कार्यमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपककुमार रायका अनुसार पक्राउ पर्नेहरूमा एक जना परीक्षा नियन्त्रक तथा अर्का एक जना स्थानीय व्यक्ति रहेका छन् ।
डीएसपी रायले बताए अनुसार यमुनामाई माध्यामिक विद्यालय परीक्षा केन्द्रमा परीक्षार्थीबाट रकम लिएर परीक्षा हलभित्र मोबाइल लैजान दिने परीक्षा नियन्त्रकलाई पक्राउ गरिएको हो। त्यसैगरी, लक्ष्मिनिया माध्यमिक विद्यालय, मौलापुर केन्द्रमा परीक्षार्थीलाई चिट पु¥याउने अर्का एक जना व्यक्तिलाई पनि नियन्त्रणमा लिइएको छ। पक्राउ परेका दुबै जनाको नाम प्रहरीले गोप्य राखेको छ ।
उनीहरूविरुद्ध आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अदालतबाट अनुमति लिएर अनुसन्धान अगाडि बढाइएको प्रहरीले स्पष्ट पारेको छ । साथै रौतहटका विभिन्न परीक्षा केन्द्रमा परीक्षार्थीहरूले चिट चोर्न मोबाइल प्रयोग गर्न खोजेपछि कडा सुरक्षा चेकजाँचका क्रममा ४२४ वटा मोबाइल फोन बरामद गरी नियन्त्रणमा लिइएको हो। एसईई परीक्षा सुरु भएको पहिलो दिनदेखि नै मधेस प्रदेशका विभिन्न जिल्लामा परीक्षाको मर्यादा भंग भएको भिडियो तथा तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए।
विशेषगरी धनुषा, रौतहट, महोत्तरी लगायतका जिल्लाका विभिन्न परीक्षा केन्द्रहरूमा चिट चोराउने गतिविधि व्यापक रहेको देखिएको थियो।यसैबीच, परीक्षाको सुरक्षामा खटिएका प्रहरीले चिट चोराउने गिरोहमाथि निगरानी बढाएको जनाएको छ। परीक्षा केन्द्रहरूमा अनुगमनलाई थप कडाइ गर्दै एसईई परीक्षालाई मर्यादित बनाउने प्रयास जारी राख्ने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।