वर्तमानकाल सम्वाददाता
चैत ०७ गते ।
ठाकुरराम बहुमुखी क्याम्पसमा हालै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा व्यापक अनियमितता भएको भन्दै १० वटा विद्यार्थी सङ्गठन र समूहहरूले निर्वाचन खारिज गरी १५ दिनभित्र पुनर्निर्वाचनको माग गरेका छन् । चैत ५ गते मङ्गलवार भएको मतदान र त्यसपछिको मतगणना प्रक्रियामा देखिएका त्रुटि र विवादका कारण उनीहरूले निर्वाचनको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएका छन्। नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), राष्ट्रिय प्रजातन्त्र पार्टी निकट प्रजातान्त्रिक विद्यार्थी सङ्गठन, जनता समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियन, जनमत पार्टीसहित स्वतन्त्र युवा समूह, सुधीर पटेल समूहलगायत सङ्गठनहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गरी यो माग अघि सारेका हुन्। मतगणना सुरु गर्ने क्रममा सात नम्बर मतपेटिकाको सिल नम्बर उम्मेदवारका प्रतिनिधिसँग भएको नम्बरसँग मेल नखाएपछि विवाद चर्किएको थियो। विद्यार्थी नेताहरूले यो घटनालाई मतपेटिका साटिएको प्रमाण ठानेका छन् ।
त्यस्तै, बिहान ८ बजे सुरु हुनुपर्ने मतदान ११ बजेसम्म सुरु नहुँदा धेरै विद्यार्थी मतदानबाट वञ्चित भएको गुनासो पनि उनीहरूको छ। मतगणनामा फर्जी मतपत्र फेला परेको र फर्जी परिचयपत्र प्रयोग गरी मत खसालिएको आरोपसमेत सङ्गठनहरूले लगाएका छन् । मतगणना स्थलमा सञ्चारकर्मीलाई प्रवेशमा रोक लगाइएको र उपस्थित पत्रकारहरूलाई प्रहरीले जबरजस्ती बाहिर निकालेको घटनाले थप शङ्का बढाएको सङ्गठनहरूको भनाइ छ । समाजवादी विद्यार्थी युनियनका हरेन्द्र साह, मनोज साह र सुधीर पटेलले क्याम्पस प्रशासन र निर्वाचन समितिले सत्ताधारी सङ्गठनलाई जिताउन मतपेटिका परिवर्तन गरेको दाबी गरेका छन् ।
उनीहरूले निर्वाचन आफूहरूलाई स्वीकार्य नभएको बताएका छन् । सङ्गठनहरूले हालको निर्वाचन खारिज गरी १५ दिनभित्र पुनर्निर्वाचन गर्नुपर्ने, फर्जी मतको छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने, मतदातालाई दबाब दिने कर्मचारी र दोषी ठहरिएका क्याम्पस प्रमुख तथा निर्वाचन अधिकृतमाथि कानुनी कारबाही गर्नुपर्ने र निर्वाचन प्रक्रियाको पारदर्शिता सुनिश्चित गर्नुपर्ने माग राखेका छन् । विवादका कारण मतगणना स्थगित भएको छ ।
हालसम्मको गणनाअनुसार सभापति पदमा नेपाल विद्यार्थी समूहका राजकुमार यादव ४२० मतसहित अगाडि छन् भने नेविसंघका विकास मण्डल धानुक २६१ मतसहित दोस्रो स्थानमा छन्। कुल १०,७२९ मतदातामध्ये ४,२९९ जनाले मतदान गरेका थिए । क्याम्पस प्रशासन र निर्वाचन अधिकृत दिलीप सिंहले विवादबारे कुनै प्रतिक्रिया दिएका छैनन् । निर्वाचन अधिकृत सम्पर्कमा नआउँदा विद्यार्थी नेताहरूको आक्रोश थप बढेको छ । माग पूरा नभए सङ्गठनहरूले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।