रमेश कुमार यादब
चैत ०९, रौतहट
हिन्दु धर्मावलम्बीहरूको महान चाड छठ पर्वलाई मध्यनजर गर्दै रौतहट जिल्लाको गरुडा नगरपालिकामा भव्य छठ घाट निर्माणको शिलान्यास गरिएको छ । गरुडा नगरपालिका(६, पोठियाहिमा निर्माण गर्न लागिएको छठ घाटको शिलान्यास नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले विधिवत रूपमा सम्पन्न गर्नुभएको हो । शुक्रबार एक विशेष कार्यक्रमका बीच पुरोहितद्वारा मन्त्र उच्चारण गरी हिन्दू परम्परा अनुसार नगर प्रमुख जैसवालले शिलान्यास गर्नुभएको हो ।
उक्त कार्यक्रम वडा अध्यक्ष रामबाबु चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा नगर प्रमुख जैसवाल रहनुभएको थियो । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख जैसवालले हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठ पूजाका लागि स्थानीय वडावासी दिदीबहिनी तथा भक्तजनहरूलाई सहजता प्रदान गर्नका लागि छठ घाट निर्माण गर्न लागिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि छठ पर्व मनाउने भक्तजनहरूलाई कुनै पनि असुविधा हुन नदिन हामी यो घाटको निर्माण गरिरहेका छौं ।” नगर प्रमुख जैसवालले छठ घाट निर्माण संघीय सरकार र नगरपालिकाको संयुक्त लगानीमा गर्न लागिएको जानकारी गराउनुभयो । संघीय सरकारबाट ९० लाख रुपैयाँ र गरुडा नगरपालिकाबाट ४८ लाख रुपैयाँ गरी कुल १ करोड ३८ लाख रुपैयाँको लागतमा यो परियोजना सम्पन्न गरिनेछ । यो परियोजनाअन्तर्गत छठ घाटसँगै पोखरीको बीच भागमा सूर्य भगवानको भव्य मन्दिर निर्माण गरिनेछ । साथै, पूर्वदेखि पश्चिमसम्म एक पुल निर्माण गरी मन्दिरसम्म पुग्न सहज व्यवस्था मिलाइनेछ ।
कार्यक्रममा गरुडा नगरपालिकाका राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सम्बोधन गर्दै स्थानीय नेता नन्दलाल यादवले नगर प्रमुख जैसवाल सबै नागरिकलाई समान व्यवहार गर्ने, कुनै प्रकारको भेदभाव नगर्ने, पारदर्शी र न्यायसंगत रूपमा काम गर्ने नेतृत्व भएको उल्लेख गर्नु भयो । उहाँले भन्नुभयो, “हाम्रो नगर प्रमुख कसैलाई काखापाखा गर्दैनन् । सबैलाई समान व्यवहार गर्दै नगरको विकासका लागि निरन्तर क्रियाशील हुनुहुन्छ ।”त्यस्तै, युवा नेता रविन्द्र यादवले सर्लाही जिल्लामा रहेको चर्चित भरत ताल जस्तै गरुडा नगरपालिकाको पोखरीलाई पनि विस्तार गर्न आवश्यक रहेको बताउँदै नगर प्रमुख जैसवाललाई त्यस विषयमा ध्यान दिन आग्रह गर्नुभयो ।

छठ घाट निर्माणको टेन्डर प्रक्रियामा सबैभन्दा कम लागत कबोल गर्ने ठेकेदार अंसारी कन्स्टक्सन, राजपुर(रौतहटले यो निर्माण कार्यको जिम्मेवारी पाएको छ। नगरपालिकाका अनुसार निर्धारित समयभित्र गुणस्तरीय रूपमा निर्माण कार्य सम्पन्न गरिनेछ ।नगर प्रमुख जैसवालले नगरवासीहरूसँग सहयोग र सहकार्यको अपिल गर्दै छठ पर्वको तयारीलाई व्यवस्थित बनाउन नगरपालिकाले विशेष पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।यो परियोजनाले विशेष गरी छठ पर्व मनाउने हिन्दू धर्मावलम्बीहरूमा निकै उत्साह थपेको छ ।
विगतमा असुविधाका कारण भक्तजनहरू अन्य स्थानमा गएर छठ मनाउन बाध्य हुने गर्थे । तर अब स्थानीयस्तरमै व्यवस्थित घाट र मन्दिरको निर्माण भएपछि भक्तजनहरूले सहज रूपमा छठ पूजाको अनुष्ठान गर्न सक्नेछन् ।स्थानीय बासिन्दा मनोज चौधरीले खुशी व्यक्त गर्दै भन्नुभयो, “हामी वर्षौंदेखि व्यवस्थित छठ घाटको माग गर्दै आएका थियौँ । अब यो निर्माण भएपछि छठ पर्व अझ भव्य र सहज हुनेछ ।“ यस परियोजनाले नगरको धार्मिक तथा सांस्कृतिक महत्व बढाउनुका साथै पर्यटन प्रवद्र्धनमा समेत योगदान दिने विश्वास गरिएको छ। कार्यक्रमलाई योजना शाखा प्रमुख रामानन्द सहनीले गर्नु भएको थियो ।