रौतहटमा एसईई परीक्षाको तेस्रो दिन ४६९ थान मोबाइल बरामद, दुई गार्ड पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ चैत्र १०, सोमबार (११ महिना अघि)
  • ३ पटक पढिएको
रौतहटमा एसईई परीक्षाको तेस्रो दिन ४६९ थान मोबाइल बरामद, दुई गार्ड पक्राउ

रमेश कुमार यादब
चैत १०, रौतहट

माध्यामिक शिक्षा परीक्षा (एसईई) को तेस्रो दिन आइतबार चिट चोर्न प्रयोग गरिएका ४६९ थान मोबाइल प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक कुमार रायका अनुसार जिल्लाभरका विभिन्न परीक्षा केन्द्रबाट परीक्षार्थीहरूले लुकाइछिपाई परीक्षा हलभित्र प्रवेश गराएका मोबाइलहरू बरामद गरिएको हो। डीएसपी रायका अनुसार परीक्षा केन्द्रमा सुरक्षा जाँचलाई कडा पार्दा परीक्षार्थीहरूले आफ्नो शरीरमा लुकाएर ल्याएका मोबाइलहरू फेला परेका थिए।

केही परीक्षार्थीहरू मोबाइललाई जुत्ताभित्र, कपडाभित्र, टोपीलगायतका स्थानमा लुकाएर ल्याएको पाइएको छ । यसै क्रममा परीक्षा निरीक्षकको रूपमा खटिएका केही व्यक्तिहरूले परीक्षार्थीलाई चिट चोर्न सहयोग गरेको प्रमाण भेटिएपछि दुई जना गार्डलाई नियन्त्रणमा लिइएको छ। ती गार्डहरू परीक्षार्थीलाई मोबाइल पास गराउन सहयोग गरेको, प्रश्नपत्रको उत्तर बोलेर लेख्न लगाएको तथा
परीक्षा मर्यादा भङ्ग गरेको आरोपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसअघि, परीक्षाको पहिलो र दोस्रो दिन गरी ७६४ थान मोबाइल बरामद गरिएको थियो। हालसम्म जम्मा १,२३३ थान मोबाइल प्रहरीले नियन्त्रणमा लिएको छ। परीक्षा अवधिभर मोबाइल प्रयोग गरेर चिट चोर्ने प्रवृत्ति बढ्दै गएकाले प्रशासनले सुरक्षा सतर्कता बढाएको छ।

पक्राउ परेका मोबाइल परीक्षार्थीलाई फिर्ता दिने कि नदिने?
बरामद गरिएका मोबाइल सेट परीक्षार्थीलाई फिर्ता दिने कि नदिने भन्ने विषयमा परीक्षा सकिएपछि निर्णय गरिने बताइएको छ। प्रहरीका अनुसार परीक्षाको मर्यादा भङ्ग गर्ने गतिविधिमा संलग्नहरूमाथि आवश्यक कानुनी कारबाही समेत अघि बढाइनेछ।
परीक्षामा निरन्तर चिट चोर्ने प्रवृत्तिले शिक्षा प्रणालीमा नै असर पार्ने भन्दै प्रशासनले कडाइ अपनाएको छ। आगामी दिनमा यस्ता गतिविधि दोहोरिन नदिन सुरक्षा व्यवस्था थप कडा बनाइने प्रहरीको भनाइ छ।

ताजा अपडेट

खोजी गर्नुहोस