रमेश कुमार यादब
चैत १०, रौतहट
नेपाल मत्स्य व्यवसायी संघ रौतहटले जिल्लाको चन्द्रपुरस्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालय अगाडि विभिन्न मागहरू राख्दै दबाबमुलक धर्ना दिएका छन् । नेपाल सरकारले हालै माछा पालनसम्बन्धी कृषि मिटर हटाएर उद्योग मिटर लागू गरेपछि त्यसको विरोध गर्दै नेपाल मत्स्य व्यवसायी संघले धर्ना आयोजना गरेको हो । नेपाल मत्स्य व्यवसायी संघका अध्यक्ष दिलीप सहनीका अनुसार कृषि मिटर हटाएर उद्योग मिटर लागू गरिएपछि माछा पालन गर्ने किसानहरू ठूलो आर्थिक भारमा परेका छन् ।
उनले भने, “माछा पालन कृषि अन्तर्गत पर्ने व्यवसाय हो, तर सरकारले उद्योगमा समेटेर कृषकहरूलाई अन्याय गरेको छ ।“धर्नामा सहभागी व्यवसायी राकेश साहले पनि सरकारले किसानहरूलाई राहत दिनुको सट्टा झनै समस्यामा पार्ने निर्णय गरेकोमा आक्रोश व्यक्त गरे । उनले भने, “सरकारले माछा पालन गर्न पोखरी खन्न, दाना खरिद गर्न तथा भुरा राख्न अनुदान दिने घोषणा गर्छ, तर अर्कोतर्फ कृषिबाट हटाएर उद्योगमा राखेर बिजुलीको शुल्क बढाउँछ ।
यो सरासर अन्याय हो ।“ यसले गर्दा हामी जस्तो साना कृषकहरू मारमा पर्नेछौं ।“धर्नामा सहभागी मत्स्य व्यवसायीहरूले सरकारको निर्णय नसच्याएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । आन्दोलनको अवस्था परिर्वन गरि चरणबद्ध रुपमा आन्दोलन गर्ने चेतावनी सहित त्यसबाट पर्न भएको क्षतिपुर्ति स्वय् सरकार नै बेहोर्ने बताए । उनीहरूले विद्युत् प्राधिकरणलाई कृषि मिटर पुनः लागू गर्न आग्रह गरेका छन् ।
व्यवसायीको प्रमुख मागहरु पोखरीका माछा पालनलाई पुनः कृषि अन्तर्गत राखी कृषि मिटरको सुविधा उपलब्ध गराउनु । विद्युत् महसुलमा कुनै पनि प्रकारको अन्यायपूर्ण वृद्धि फिर्ता लिनु । मत्स्य कृषकहरूका लागि विशेष राहत कार्यक्रम ल्याउनु माग राखि धर्नामा बसेका छन ।
मत्स्य व्यवसायीहरूका अनुसार सरकारको यस निर्णयले हजारौं माछा पालन गर्ने किसानहरू प्रभावित हुनेछन् । उनीहरूले विद्युत् प्राधिकरण तथा सरकारलाई तत्काल निर्णय पुनर्विचार गर्न आग्रह गर्दै, माग पूरा नभए नेपालभरका मत्स्य व्यवसायीहरू सशक्त आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।