रमेश कुमार यादब
चैत १२, रौतहट
बृन्दावन नगरपालिकाले नगरभित्रका क्यान्सर र मृगौला डायलाइसिस पीडितलाई आर्थिक सहयोग प्रदान गरेको छ । नगर प्रमुख बिनोद प्रसाद कुर्मीले सामाजिक उत्तरदायित्व बहन गर्दै पीडितहरूलाई नियमित औषधि उपचारका लागि आवश्यक सहयोग उपलब्ध गराएको जानकारी गराएका छन् ।
नगरपालिकाले २०७९ सालमा निर्वाचित भइसकेपछि विभिन्न सामाजिक तथा विकास योजनाहरू अघि बढाउँदै आएको छ । त्यसै अनुरूप, नगरभित्रका २२ जना गम्भीर रोगीहरू, जसमा १६ जना क्यान्सर पीडित र ६ जना मृगौला डायलाइसिस गराइरहेका नागरिक समावेश छन्, तिनको २०८१ सालको साउनदेखि माघ महिनासम्मको औषधि उपचार खर्च उपलब्ध गराएको छ ।
६ लाख ६० हजार रुपैयाँको आर्थिक सहयोग
नगर प्रमुख कुर्मीका अनुसार, प्रत्येक बिरामीलाई ३० हजार रुपैयाँको दरले ६ लाख ६० हजार रुपैयाँ नगरपालिकाबाट सहायता गरिएको छ । यो रकम प्रत्यक्ष रूपमा उनीहरूका बैंक खातामा जम्मा गरिएको हो । प्रमुख कुर्मीले भने, “नगरभित्रका पीडितहरूले आर्थिक अभावका कारण उपचार नपाइ बाँच्न नसक्ने स्थिति आउन नदिन हामीले सक्दो सहयोग गरेका छौँ ।
“बिकास विरोधीहरू असफल बनाउने षड्यन्त्र भइरहेको आरोप सहयोग हस्तान्तरण कार्यक्रमका क्रममा नगर प्रमुख कुर्मीले आफू निर्वाचित भएदेखि नै बिकास विरोधी तत्वहरू सक्रिय रहेको बताउँदै ती तत्वहरूले नगरपालिकाको प्रगतिलाई अवरुद्ध पार्न अनेक षड्यन्त्र गरिरहेको आरोप लगाए ।
उनले भने, “मलाई जनताले विकासको काम गर भनेर मत दिएर पठाउनु भएको हो । तर केही स्वार्थी तत्वहरू हाम्रो काम रोक्न खोजिरहेका छन् । नगरपालिकामा धर्ना दिने, तोडफोड गराउने जस्ता गतिविधि गराएर मलाई असक्षम बनाउन खोजिएको छ । तर म कुनै पनि हालतमा पछि हट्दिन ।“
उनले अघिल्ला जनप्रतिनिधिहरूलाई लक्षित गर्दै भने, “अघिका नेताहरूले नगरलाई लुट्ने र व्यक्तिगत स्वार्थ पूर्ति गर्ने र आफ्नो आसेपासे पोस्ने बाहेक जनताको हकहितमा हुने कुनै पनि काम गराएको छैन कि जनताको आँखामा आँखा जुधाएर बोल्न सक्ने अवस्था पनि नरहेको छ ।
तर हामीले जनताको हितमा काम गरिरहेका छौँ, त्यसैले विरोध सहनु परेको छ ।“हाम्रो बिकासको गाति देखेर बिभिन्न कोणबाट गलत प्रचार गराई अफवाह फैलाउनुमा पनि पछि नहटेको प्रति उनले वहाँहरु प्रति आपति जनाउनु भयो । त्यति मात्र नभएर नगर प्रमुख कुर्मीले नगरपालिकाले अपांगता भएका व्यक्तिहरूको अभिलेखीकरण गरिसकेको र उनीहरूलाई सरकारले तोकेको मापदण्डअनुसार मासिक रूपमा सहयोग रकम उपलब्ध गराउने योजना अघि बढाइसकेको जानकारी दिए ।
उनले भने, “केही दिनअघि अपांगता भएका नागरिकहरूको समूहलाई कार्ड वितरण गरिसकेका छौँ । अब केही समयभित्रै उनीहरूले मासिक रूपमा सरकारबाट पाउनुपर्ने आर्थिक सहायता प्राप्त गर्न थाल्नेछन् ।“
नगरपालिकाको प्रतिबद्धता
नगर प्रमुख कुर्मीले नगरपालिकाले जनताको हितका लागि निरन्तर काम गर्ने प्रतिबद्धता जनाए । उनले भने, “हामी बिकास विरोधीहरूसँग नडराई जनताको सेवा गर्न प्रतिबद्ध छौँ । नगरपालिकाका हरेक योजनाहरू नागरिक लक्षित हुनेछन्, र नगरलाई समृद्ध बनाउन कुनै कसर बाँकी राख्ने छैनौँ ।“ बृन्दावन नगरपालिकाको यस निर्णयले पीडित नागरिकहरूलाई राहत मिल्नुका साथै, अन्य स्थानीय तहहरूलाई पनि सामाजिक उत्तरदायित्व बहन गर्न प्रेरित गर्ने विश्वास गरिएको छ ।