रमेश कुमार यादब
चैत १२, रौतहट
माध्यमिक शिक्षा परीक्षा (एसईई) को चार दिनको अवधिमा रौतहट जिल्लाका विभिन्न परीक्षा केन्द्रहरूबाट १ हजार ७ सयभन्दा बढी मोबाइल सेट बरामद गरिएको छ । परीक्षामा अनुशासन कायम राख्न सुरक्षा निकायले गरेको कडाइका क्रममा परीक्षार्थीहरूका साथबाट ती मोबाइल नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
४७३ मोबाइल चौथो दिन बरामद
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक कुमार रायद्वारा हस्ताक्षरित एक प्रेस विज्ञप्ति अनुसार, मंगलबार बिहान ८ बजेदेखि परीक्षा सञ्चालन भएसँगै गौर लगायतका परीक्षा केन्द्रहरूमा विद्यार्थीहरूले लुकाएर ल्याएका ४७३ वटा मोबाइल सेट बरामद गरिएको हो । चेकजाँचका क्रममा परीक्षार्थीहरू शरीरका विभिन्न भागमा मोबाइल लुकाएर परीक्षा हलभित्र प्रवेश गरेको पाइएपछि प्रहरीले ती मोबाइल नियन्त्रणमा लिएको जनाएको छ ।
चार दिनको तथ्यांक
डिएसपी रायका अनुसार, परीक्षामा चिट चोर्नका लागि मोबाइलको व्यापक प्रयोग भइरहेको पाइएको छ । परीक्षाको पहिलो दिन ४२४ वटा, दोस्रो दिन ३४० वटा, तेस्रो दिन ४६९ वटा, र चौथो दिन ४७३ वटा मोबाइल बरामद गरिएको छ । परीक्षामा निगरानी गर्न खटिएका सुरक्षाकर्मी र परीक्षा निरीक्षकहरूलाई कडाइका साथ चेकजाँच गर्न निर्देशन दिइएको थियो ।
६ जना निरीक्षक पक्राउ
परीक्षामा मर्यादा विपरीत गतिविधिमा संलग्न रहेको आरोपमा ६ जना परीक्षा निरीक्षकलाई पक्राउ गरिएको छ । ती निरीक्षकहरूले परीक्षाको मर्यादा उल्लंघन गरी परीक्षार्थीहरूलाई चिट चोर्न सहयोग गरेको पाइएपछि उनीहरूमाथि कानूनी कारबाही अगाडि बढाइएको डिएसपी रायले जानकारी दिए । पक्राउ परेका निरीक्षकहरूमाथि परीक्षा सम्बन्धी ऐन अन्तर्गत “परीक्षाको मर्यादा उल्लंघन सम्बन्धी कसुर“ अन्तर्गत मुद्दा दायर गरिएको बताइएको छ ।
ह्वाट्सएप समूह बनाएर चिट चोराउने योजना
प्रहरी अनुसन्धानमा केहि शिक्षक तथा सहयोगीहरूले ह्वाट्सएप समूह बनाएर परीक्षामा चिट चोराउने योजनामा संलग्न रहेको तथ्य फेला परेको छ । शिक्षकहरूकै सहयोगमा मोबाइलको प्रयोग गरी परीक्षार्थीहरूले चिट चोर्ने प्रयास गरेका थिए ।
बरामद मोबाइलको भविष्य अन्योलमा
नियन्त्रणमा लिइएका मोबाइल सेट परीक्षार्थीहरूलाई फिर्ता दिने वा नदिने भन्ने विषयमा परीक्षा सकिएपछि निर्णय गरिने बताइएको छ । अघिल्लो वर्ष भने परीक्षा सम्पन्न भएको करिब एक हप्ता पछि सम्बन्धित विद्यार्थीहरूलाई प्रहरी युनिटमार्फत मोबाइल फिर्ता गरिएको थियो ।
सुरक्षा व्यवस्था थप कडाइ
रौतहट जिल्लाका विभिन्न परीक्षा केन्द्रहरूमा परीक्षामा हुने अनियमितता रोक्न सुरक्षा व्यवस्था अझ कडा पारिएको छ । विशेष रूपमा मोबाइल प्रयोग गरी चिट चोर्नेमाथि निगरानी बढाइएको छ । आगामी दिनमा परीक्षामा अनुशासन कायम राख्न थप रणनीति अपनाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
