पवन कुमार उपाध्याय
रौतहट, १५ चैत्र। रौतहटको गरुडा नगरपालिका -४ गरुडा बाजारमा भीषण आगलागी हुँदा पाँचवटा घर जलेर नष्ट भएको छ ।
गरुडा तरकारी बजार स्थित रहेको पाँचवटा फुस्को घरमा आज बिहान ९ बजे भीषण आगलागी हुँदा १३ लाख बराबरको क्षती भएको छ। आगलागीमा दुईवटा ग्याँस सिलिण्डर विष्फोट भएको छ।

स्थानीय कमल जयसवाल लगाएतका व्यक्तिले भाडामा लिएर होटल सञ्चालन गर्दै आएको घरमा आगलागी भएको हो।आगलागीका कारण पाँचवटै घर पूर्ण रूपमा जलेर नष्ट भएको छ भने घरमा राखिएको विभिन्न सामान समेत जलेर खरानी भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।
क्षतीको विवरण अझै प्राप्त नभएपनि आगलागीका कारण लाखौंको क्षती भएको अनुमान गरिएको छ। आगलागीबाट घरमा राखिएको दुईवटा ग्याँस सिलिण्डर विष्फोट भएको छ। ग्याँस सिलिण्डर ठूलो आवाजमा पड्किएको थियो जसको आवाज धेरै टाढासम्म सुनिएको थियो।
ग्याँस सिलिण्डर विष्फोट भएपनि मानवीय क्षती भएको छैन। आगलागीमा भौतिक क्षती मात्र भएको हो। आगलागी भएको खबर पाउना साथ गरुडा नगरपालिकाबाट आगो निभाउने दमकल पठाइएको थियो । तर उक्त दमकलले आगो पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेपछि गौर नगरपालिकाको बारुण यन्त्र मगाइएको थियो ।
गौर नगरपालिकाबाट आएको बारुण यन्त्रले आगो नियन्त्रणमा लिएको थियो । तर दुर्भाग्य गरुडाका दमकल र गौरको बारुण यन्त्र पुग्दासम्म घरहरू पूर्ण रूपमा जलिसकेको थियो । आगलागी कसरी भयो भन्ने कारण खुल्न नसकेपनि स्थानीयहरूले बताए अनुसार सेकुवा तताउन बालेको आगोबाट सल्केर आगलागी भएको हो। घटनाबारे आवस्यक अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।



