रमेश कुमार यादब
चैत १९, रौतहट
मुस्लिम धर्मावलम्बीहरूको नमाज पढ्नको लागि रौतहट जिल्लाको गरुडा नगरपालिकामा भव्य मस्जिद भवन निर्माण कार्यको शिलान्यास गरिएको छ । गरुडा नगरपालिका(८, जिगडियामा निर्माण गर्न लागिएको यस मस्जिद भवनको शिलान्यास गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले मंगलबार एक विशेष समारोहका बीच विधिवत रूपमा सम्पन्न गर्नुभएको हो ।
शिलान्यास कार्यक्रममा प्रमुख अतिथिका रूपमा नगर प्रमुख जैसवाल रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता जामे मस्जिदका अध्यक्ष कौशर खान मिथिलाले गर्नुभएको थियो । कार्यक्रममा नगर प्रमुख जैसवालले नगरको समग्र विकासलाई ध्यानमा राख्दै विभिन्न समुदायका धार्मिक स्थलहरूको समान विकास गर्ने उद्देश्यले यो मस्जिद निर्माण कार्य अघि बढाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकाको चौतर्फी विकासका लागि सबै जातजातिहरूको धार्मिक तथा सामाजिक संरचनाहरूको विकास हुनुपर्छ ।
यही सोचका साथ हामी अगाडि बढिरहेका छौं ।

“नगर प्रमुख जैसवालका अनुसार मस्जिद निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उययन मन्त्रालयबाट ९० लाख रुपैयाँ तथा नगरपालिकाबाट थप ४८ लाख रुपैयाँ बजेट विनियोजन गरी कुल १ करोड ३८ लाख रुपैयाँको लागतमा मस्जिद निर्माण कार्य सम्पन्न गरिने छ । यो बजेटको सहायताले मुस्लिम समुदायको आवश्यकतालाई मध्यनजर गर्दै एक सानो जामे मस्जिद, ठूलो मस्जिद भवन, साथै कब्रस्थानको कम्पाउन्ड वाल र गेट निर्माण गरिने योजनाका साथ नगरपालिकाको बिकास योजनामा राखिएको बताउनु भयो ।।कार्यक्रममा बोल्दै नगर प्रमुख जैसवालले आफ्नो कार्यकालभरि विभिन्न राजनीतिक दलका विरोधीहरूले विभिन्न षड्यन्त्र गरे पनि म एक इन्च पनि पछाडि नहटी नगरबासीकै हकहितको लागि निरन्तर काम गरिरहेको छु ।

उहाँले थप्नुभयो, “म एक मात्र पार्टीको मतले निर्वाचित भएको होइन, सम्पूर्ण जातजातिहरूको समर्थनका कारण यहाँ आएको हुँ । त्यसैले, नगरको समान विकास सुनिश्चित गर्नु मेरो दायित्व हो र सबै जातजातिका नागरिकहरूको समृद्धि र विकासलाई ध्यानमा राख्दै कार्य गरिरहेको पनि छु ।“साथै गरुडा नगरपालिकामा बसोबास गर्ने सबै जातजातिका नागरिकहरूको धार्मिक सहिष्णुता कायम राख्दै विकासका कार्यहरूलाई समान रूपमा अघि बढाउने प्रतिबद्धता नगर प्रमुख जैसवालले जनाउनु भयो ।
शिलान्यास कार्यक्रममा एमाले पार्टीका प्रदेश समिति सदस्य शेख कलिमुलाह, गरुडा नगरपालिकाका नगर प्रमुख प्रत्याशी विपिन जैसवाल लगायतका नेताहरूले आ-आफ्नो मन्तव्य व्यक्त गरेका थिए । उनीहरूले नगरपालिकाले मुस्लिम समुदायका धार्मिक स्थलहरूको विकासमा चासो देखाएकोमा धन्यवाद दिएका थिए । साथै, भविष्यमा अन्य समुदायका धार्मिक तथा सांस्कृतिक संरचनाहरूको विकासमा पनि ध्यान दिनुपर्ने कुरा उल्लेख गरेका थिए ।

स्थानीय मुस्लिम धर्मावलम्बीहरू तथा नगरवासीहरूले यो परियोजना नगरपालिकाले मुस्लिम समुदायप्रति देखाएको सम्मान र समान अवसरको उदाहरण भएको बताएका छन् । मस्जिदको निर्माण सम्पन्न भएपछि यहाँका मुस्लिम समुदायलाई नमाज पढ्न, धार्मिक सभा तथा सामुदायिक क्रियाकलाप सञ्चालन गर्न सहज हुने विश्वास गरिएको छ । मस्जिद निर्माण कार्य चाँडै सम्पन्न गरी मुस्लिम समुदायलाई सुविधा दिने नगरपालिकाको योजना रहेको छ ।।
त्यति मात्र नभएर सोहि पालिकाको वार्ड नंं.६ पोठियाहि पनि १ करोड ३८ लाखको लागतमा छठ घाट सहित सुर्य भगवान मन्दिर निर्माण कार्यको शिलान्यास गर्नु भएको थियो ।

कार्यक्रममा गरुडाका वडा प्रत्याशी शेख सलाहुद्दीन, मौलाना शमीम आलम ,मौलाना जियाउल , मौलाना अलाउद्दीन आलम, शेख अकबर आलम, गरुडा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत मोहम्मद मुस्ताक आलम,गरुडा नगर पालिकाको इंजीनियर संजय यादव, योजना शाखा प्रमुख रामानन्द सहनी , प्रत्याशी वाड़ा अध्यक्ष मोहम्मद सदरे आलम, समाजसेवी शेख औजेर आलम ,समाजसेवी युवा नेता शेख समिर आलम उर्फ सदाम समाजसेवी युवा नेता सन्ताज आलम, नूरुफैन आलम , मंजर आलम सर्वेश आलम , चुनचुन आलम जाकिर हुसैन लगायतका ब्यतिmहरुको सहभागिता रहेको थियो ।
