रमेश कुमार यादब
चैत २३, रौतहट
नेपाल प्रिमियर लिग (NPL) २०८१ को विजेता टिम जनकपुर बोल्ट्सका कप्तान अनिल साह सहित पाँच जना खेलाडीहरूलाई तराई टाईगर गरुडा क्रिकेट टिमले भव्य स्वागत गरेका छन । यही चैत २६ गतेदेखि रौतहटको सदरमुकाम गौरमा सुरु हुने रौतहट प्रिमियर लिग (आरपिएल) मा सहभागी हुन गएका उक्त खेलाडीहरूलाई शनिबार एक विशेष कार्यक्रमको आयोजना गरी गरुडामा सम्मानपूर्वक स्वागत गरिएको हो ।

कार्यक्रममा जनकपुर बोल्ट्सका कप्तान अनिल साहसँगै आएका राष्ट्रिय स्तरका खेलाडीहरू रवि साह, तिर्तराज, भुलावन सहनी र अरनिको यादवलाई फुलमाला, खादा र अबिरले सम्मान गरिएको थियो । स्वागत कार्यक्रममा स्थानीय समाजसेवी, व्यवसायी, युवा खेलप्रेमी र पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा तराई टाईगर गरुडा टिमका मालिक तथा जैसवाल ट्रेडिङ कन्सर्नका प्रोप्राइटर शैलेश जैसवालले अनिल साह जस्ता प्रतिष्ठित खेलाडीको टिममा आगमनले टिमलाई मजबुत बनाएको बताउँदै भने, “यो हाम्रो लागि मात्र होइन, सम्पूर्ण गरुडा नगरवासी तथा रौतहट जिल्लाका लागि गर्वको कुरा हो । हामीले राष्ट्रिय स्तरका खेलाडीलाई टिममा जोड्न सफल भएका छौं र यसले हामीलाई आरपिएलमा विजयी बन्ने आत्मबल प्रदान गरेको छ ।

”त्यस्तै अर्का सह–मालिक ओम ब्रुअरी प्रा.ली.का प्रोप्राइटर आकाश प्रकाशले टिममा उत्साहजनक ऊर्जा आएको उल्लेख गर्दै भने, “हाम्रो टिमले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्नेछ भन्नेमा हामी पूर्ण विश्वस्त छौं । यस यात्रामा साथ दिने सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।”कप्तान अनिल साहले स्वागतको लागि आयोजकप्रति आभार व्यक्त गर्दै भने, “तराई टाईगर गरुडा टिममा सहभागी हुन पाउँदा गर्व लागेको छ । हामी टिम वर्क, अनुशासन र प्रतिबद्धताबाट आरपिएलमा सफलता हासिल गर्नेछौं । हामीले जनकपुर बोल्ट्सबाट सिकेका अनुभवहरू अब गरुडामा प्रस्तुत गर्नेछौं ।
” अन्य खेलाडीहरूले पनि रौतहट प्रिमियर लिगलाई एक नयाँ अवसरका रूपमा लिँदै उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता जनाए । रौतहट क्रिकेट संघको आयोजनामा हुन लागेको आरपिएलमा पाँचवटा टिमहरू सहभागी हुनेछन् । प्रतियोगिता चैत २६ गतेदेखि सुरु भई एक साता चल्नेछ । टिमहरू अहिले अन्तिम तयारीमा व्यस्त छन् र तराई टाईगर गरुडा टिमलाई विजयी बनाउने लक्ष्यका साथ खेलाडीहरू प्रशिक्षणमा जुटिरहेका छन् । तराई टाईगर गरुडा टिमले यस पटक नारा दिएको छ – “गरुडाबाट जितको हुंकार, आरपिएलमा टाईगरको जयजयकार।

” स्वागत कार्यक्रममा आयोजकहरूले खेलप्रेमी, स्थानीय प्रशासन, व्यवसायी तथा सम्पूर्ण रौतहटवासीहरूलाई टिमको हौसला बढाउन र समर्थन गर्न आग्रह गरेका थिए । आयोजकद्वय शैलेश जैसवाल र आकाश प्रकाशले यस टिमको सफलताले जिल्लाको खेलकुद स्तरमा ठूलो प्रभाव पार्ने विश्वास व्यक्त गरे । साथै यस टिमका स्पोन्सर ः पशुपति ट्रेड लिंक ,श्याम जेनरल सप्लायर्स गरुडाका प्रो.राम बचन साह, सारस ब्रेब्बेज प्रा.ली ,रेडबुल तथा ओम इन्टरप्राइजेज, गरुडाका प्रो, उमाशंकर जैसवाल , जान्वी मानवी कोल्ड स्टोर गरुडाका प्रो, अशोक चौधरी त्यसतै नमस्ते डेण्टल क्लिनिक गरुडाका डा.रजनेश चौधरीलाई बिशेष धन्यबाद दिएका छन ।