वर्तमानकाल सम्वाददाता
चैत २३, रौतहट
रौतहट जिल्लाको परोहा नगरपालिका–२ मा मोटरसाइकलको तीव्र गतिबारे विवादले झडपमा परिणत हुँदा एक जना वृद्धको ज्यान गएको छ। गत बिहीबार दिउँसो करिब ३ बजेतिर भएको यो घटनामा परोहा–२ निवासी ६५ वर्षीय शेख मतीनको शनिबार काठमाडौंतर्फ उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
घटनाको सुरुवात गाउँमा एक जना युवकले तीव्र गतिमा मोटरसाइकल चलाउँदा स्थानीय शेख मतीनले आपत्ति जनाउँदै “किन यति तीव्र गतिमा चलाउँदैछौरु“ भनेर सोधपुछ गरेका थिए। जवाफमा मोटरसाइकल चालकले “म चलाउँछु, तिमी के गर्छौरु“ भन्ने शैलीमा उत्तर दिएपछि विवाद चर्किएको थियो।
सो विवाद पछि झडपमा परिणत हुँदै गयो। झडपका क्रममा परोहा–१ का फजले हक, मोहम्मद जाबिर, शेख सकिल, मासुम, शेख नथुनी र रोज मोहम्मदले मतीनमाथि कुटपिट गरेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन्। सोही झडपमा मतीनको छोरा मोजरे आलम र उनकी श्रीमती जुबैदा खातुन पनि गम्भीर घाइते भएका छन्। घाइतेहरुलाई तत्काल उद्धार गरी चन्द्रनिगाहपुर अस्पताल पु¥याइएको थियो। मतीनको अवस्था गम्भीर रहेकाले चन्द्रनिगाहपुरबाट काठमाडौं रेफर गरिएको थियो।
तर, उपचारका लागि लैजाँदै गर्दा शनिबार बाटोमै उनको मृत्यु भयो। हाल घटनामा संलग्न सबै अभियुक्तहरु फरार रहेको र उनीहरुको खोजतलास तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० दिलीप घिमिरेले जानकारी दिए। प्रहरीका अनुसार मृतकका परिवारका अन्य सदस्यहरु अझै उपचाररत छन्।
यता मृतकका आफन्तले दोषीलाई कडाभन्दा कडा कारवाही गर्न माग गरेका छन्। घटनाले स्थानीय स्तरमा ठूलो तनाव सिर्जना गरेको छ भने सुरक्षाका लागि थप प्रहरी परिचालन गरिएको जनाइएको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको छ।