रमेश कुमार यादब
चैत २६, रौतहट
रौतहटको सदरमुकाम गौरमा मंगलबारदेखि सुरु भएको रौतहट प्रिमियर लिग (आरपिएल) को उद्घाटन खेलमा तराई टाईगर गरुडा टिम विजयी भएको छ । जिल्लाको सदरमुकाम गौर रंगशालामा सुरु भएको पहिलो संस्करणको रौतहट प्रिमियर लिग (आरपीएल) को उद्घाटन खेलमा तराई टाईगर गरुडा टिमले गौर वारियर्सलाई ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ । खेलको टस जितेर गौर वारियर्सले पहिला ब्याटिङ गर्ने निर्णय लिएको थियो ।

निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै गौर वारियर्सले १३९ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको थियो । गौरको ब्याटिङतर्फबाट सुरज पटेलले सर्वाधिक ३० रन बनाउँदै टोलीको स्कोरमा टेवा पु¥याए । अन्य ब्याट्सम्यानहरूले पनि प्रयास गरे तापनि नियमित अन्तरालमा विकेट गुमाउँदा गौरले ठूलो स्कोर बनाउन सकेन ।लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको तराई टाईगर गरुडाले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै १९ ओभरमा मात्र ५ विकेटको क्षतिमा १४३ रन बनाउँदै खेल आफ्नो पक्षमा पार्न सफल भयो । टिमका लागि
तिरित राज दासले बहुपक्षीय प्रदर्शन गर्दै ३१ रन बनाए र २ विकेट पनि लिएर म्यान अफ द म्याच घोषित भए ।
राष्ट्रिय खेलाडी अनिल कुमार साहले नटआउट ३० रन बनाउँदै अन्तिमसम्म टिकेर टिमलाई जितसम्म पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।यो खेलसँगै रौतहट प्रिमियर लिगको आधिकारिक सुरुवात भएको हो, जसमा पाँच टिमहरू ( गौर वारियर्स, तराई टाईगर गरुडा, कटहरिया बोल्ट्स, राजदेवी सुपर किंग्स र गुजरा राइडर्स सहभागी छन् ।

विजयी टिम तराई टाईगर गरुडाका टिम मालिक तथा जैसवाल टे«डिङ कन्सर्नका प्रोप्राइटर शैलेश जैसवालले खेलपछिको प्रतिक्रिया दिँदै भने, “हाम्रो टिमले उद्घाटन खेलमै जित हात पार्नु गर्वको विषय हो । यो सफलताको पहिलो खुड्किलो हो र यसले सम्पूर्ण खेलाडीहरूको आत्मविश्वासमा वृद्धि गरेको छ ।”
“खेलको शुरुवाती जीतले टिममा सकारात्मक ऊर्जा भरिदिएको छ । हाम्रो लक्ष्य उपाधि जित्ने हो, र हाम्रो खेलाडीहरूले त्यो क्षमता राख्छन् ।” उनले आशा व्यक्त गरे कि अन्तिम खेलमा पनि उपाधि हाम्रै टिमले जित्नेछ । आरपीएलको आयोजना जिल्लामा खेल संस्कृतिको विकास, स्थानिय प्रतिभाको उजागर, र युवा पुस्तालाई खेलकुदप्रति प्रेरित गर्ने उद्देश्यले गरिएको हो । आयोजक टोलीले खेल मैदानको संरचना, सुरक्षाको व्यवस्था, दर्शकहरूको व्यवस्थापन लगायत पक्षमा प्रशंसनीय तयारी गरेको देखिएको छ ।

खेलप्रति स्थानीय युवाहरूमा चासो बढेको छ भने रौतहटमा यस्ता लिग खेलहरूको आयोजना हुनुले जिल्लाको समग्र खेलकुद क्षेत्रमा नयाँ गति प्रदान गर्ने विश्वास गरिएको छ ।आरपीएल अन्तर्गत अबको खेलमा राजदेवी सुपर किंग्स र कटहरिया बोल्ट्स आमनेसामने हुनेछन् । रौतहट प्रिमियर लिगको पहिलो संस्करणले जिल्लामा क्रिकेटको लोकप्रियतालाई नयाँ उचाइमा पु¥याउने संकेत मिलेको छ ।

आरपिएलको यो संस्करण स्थानीय खेल प्रतिभा विकासका लागि एउटा ठूलो अवसरको रुपमा हेरिएको छ । खेल अवलोकन गर्न ठूलो संख्यामा दर्शकहरू उपस्थित भएका थिए । अगामी खेलहरूमा प्रतिस्पर्धा अझ रोमाञ्चक हुने अनुमान गरिएको छ। प्रतियोगिता करिब एक हप्ता सम्म सञ्चालन हुने बताइएको छ