वर्तमानकाल सम्वाददाता
चैत २७ गते ।
रौतहट जिल्लाको माधवनरायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र प्रसाद यादवले आफ्नो नाममा सामाजिक सञ्जालमार्फत फैलाइएको आरोपहरू निराधार, झूठा र कपोकल्पित रहेको स्पष्ट पारेका छन् । प्रमुख प्रशासकीय अधिकृत यादवले आफू माधवनरायण नगरपालिकामा कार्यभार सम्हालेको करिब एक महिनामात्र भएको र यस अवधिमा नगरपालिकाभित्र विद्यमान अव्यवस्थित ऐन, नियम तथा कार्यविधिलाई सुधार गर्दै कानुनी दायराभित्र रही काम गरिरहेको जनाएका छन् । उहाँले भन्नुभयो, “मैले नगरपालिका भित्रका विद्यमान प्रणालीलाई व्यवस्थित गर्न प्रयासरत छु ।
कुनै पनि काम गर्दा म कानुन अनुसार, पारदर्शी ढंगले र सम्पूर्ण प्रक्रिया पु¥याएर अघि बढ्ने गर्छु । तर केही व्यक्ति, जसको व्यक्तिगत स्वार्थ पुरा नभएको कारणले, म र नगर प्रमुख बैजनाथ यादवविरुद्ध निराधार आरोप लगाउने, सामाजिक सञ्जालमा गलत सूचना फैलाउने जस्ता कार्य गर्दै आएका छन् ।“ प्रमुख प्रशासकीय अधिकृत यादवका अनुसार यस्ता आरोपहरू कुनै प्रमाणविना
गरिएको दावी गर्दै उक्त कार्यलाई चरित्र हत्या र नियोजित बदनाम गर्ने प्रयासका रूपमा लिन सकिने उल्लेख गरेका छन् ।
“यदि यस्ता कार्यहरू रोकिएनन् भने हामी कानुनी उपचारको बाटो रोज्नेछौं“, उहाँले कडा चेतावनी दिनु भएको छ । उहाँले यस नगरपालिकामा पदभार सम्हालेदेखि नै कार्यालयका कार्यसम्पादन, बजेट व्यवस्थापन, विकास आयोजनाको समन्वय, कर्मचारी अनुशासन, सेवा प्रवाह सुधार लगायतका क्षेत्रमा नियमअनुसार काम अगाडि बढाइएको जानकारी दिनुभयो ।
साथै, उहाँले पारदर्शिता, जवाफदेहिता र सेवा सुविधामा सुधार ल्याउने आफ्नो प्रतिबद्धता दोहोर्याउनु भयो। प्रमुख प्रशासकीय अधिकृत यादवले नगरवासी, कर्मचारी तथा सरोकारवालाहरुलाई अफवाहमा नलागी यथार्थ बुझ्न आग्रह समेत गरेका छन्। यस घटनाले हाल नगरपालिका भित्रको प्रशासनिक माहोलमा केही तातोपन ल्याएको देखिएको छ । तथापि, नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृत दुवैले कानुनी मार्ग अवलम्बन गर्ने बताएको हुँदा निकट भविष्यमा यस विषयमा थप स्पष्टता आउने अपेक्षा गरिएको छ ।