रमेश कुमार यादब
चैत २७, रौतहट
रौतहट जिल्लामा टूाफिक प्रहरीले सवारी नियम उल्लंघनमा कडाइ गर्दै चेकजाँच तीव्र बनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटको नेतृत्वमा नौ महिनाको अवधिमा मात्रै १ करोड ३ लाख ९२ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) लोकेन्द्र अधिकारीको अगुवाइमा गरिएको सवारी चेकजाँच तथा कारबाही अभियान प्रभावकारी बनेको छ । गत श्रावण १ गतेदेखि चैत २६ गतेसम्मको अवधिमा ११ हजार १ सय २५ जना सवारी चालकहरूलाई ट्राफिक नियम उल्लंघन गरेको अभियोगमा कारबाही गरिएको छ ।
प्रहरी निरीक्षक अधिकारीका अनुसार नियम उल्लंघन गर्नेमा मदिरा सेवन गरेर सवारी चलाउने, ओभरलोड गर्ने, हेल्मेट वा सिट बेल्ट नलगाउने, गाडीको कागजात नहुने, चालक अनुमतिपत्र (लाइसेन्स) नबोक्ने, रुट परमिट नलिने, गाडीको बत्ती बिग्रिएको लगायतका कारण प्रमुख छन् ।
यस अवधिमा बस, टूक, जीप, कार, भ्यान, मोटरसाइकल लगायत सबै प्रकारका सवारी साधनलाई कारबाही गरिएको छ । राजस्व संकलन मात्र नभई ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण र जनचेतना अभिवृद्धिमा पनि जोड दिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१÷०८२ को चैत मसान्तसम्म रौतहटमा ५३९ वटा सवारी दुर्घटना भएका छन्, जसमा ३६ जनाको मृत्यु भएको छ भने ८९० जना घाइते भएका छन् ।
सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले विद्यालय, बजार, सार्वजनिक स्थलहरूमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ । ट्राफिक नियमको पालना गर्नुपर्ने सन्देश दिँदै ट्राफिक प्रहरी टोलीले नियमित रुपमा पर्चा वितरण, स्पिकरमार्फत सन्देश प्रवाह, सडक सुरक्षाबारे सेमिनार तथा छलफल कार्यक्रम गर्दै आएको छ ।
त्यस्तै, रौतहट जिल्लाको मध्य भागमा पर्ने गरुडामा खटिएका अस्थायी टूाफिक प्रहरी कार्यालयका सहायक निरीक्षक (असई) रामबलि महतोले गरिरहेको चेकजाँच थप प्रभावकारी देखिएको छ । उनको कडाइका कारण स्थानीय चालकहरू हेल्मेट लगाउने, कागजात साथमा राख्ने, नियमअनुसार सवारी चलाउने गर्न थालेका छन् । असई महतोको नेतृत्वमा गरुडाबाट दैनिक सयौं सवारी साधन जाँच गरिन्छ ।
उनले सुरुवातदेखि नै हेल्मेट, लाइसेन्स, ब्लुबुक, रुट परमिट लगायतका आधारमा कडाइका साथ निगरानी गरेका छन् । सार्वजनिक सुरक्षा र सवारी शिष्टाचारमा सुधार ल्याउन टूाफिक प्रहरीको यो प्रयास सराहनीय रहेको स्थानीयवासी र सामाजिक अभियन्ताहरूले प्रतिक्रिया दिएका छन् ।
जिल्ला टूाफिक प्रहरी कार्यालय रौतहटले आगामी दिनमा थप प्रविधिमैत्री सेवा, डिजिटल चेकजाँच प्रणाली, मोबाइल एपमार्फत टूाफिक जानकारी दिने योजना पनि अघि सारेको जनाएको छ । यसबाट जनमानसमा ट्राफिक नियमको पालना गर्ने बानी बस्ने विश्वास लिइएको छ ।