रमेश कुमार यादब
चैत २८, रौतहट
रौतहटको गरुडासहित मधेस प्रदेशका अधिकांश क्षेत्रमा आज बिहानदेखि मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा भइरहेको छ । बिहान डेढ बजेको करिबमा सुरु भएको वर्षा हालसम्म जारी छ र मौसमविद्हरूले आज मध्याह्न, अपराह्न र रातिसम्म पनि सामान्य वर्षाको सम्भावना रहेको बताएका छन् । वर्षाले पछिल्लो समय वायु प्रदूषणका कारण गरुडा र आसपासका क्षेत्रमा फैलिएको तुवाँलो हट्ने अनुमान गरिएको छ । पछिल्लो समय गौर र आसपासका क्षेत्रमा वायु प्रदूषणका कारण तुवाँलोले जनजीवन प्रभावित भएको थियो ।
आजको वर्षाले प्रदूषणको स्तर घटाउने र वातावरणमा सुधार ल्याउने अपेक्षा गरिएको छ । स्थानीयवासीले पनि वर्षालाई राहतको रूपमा लिएका छन् ।मौसमविद्हरूले मौसमी प्रणाली अझै केही समय सक्रिय रहने बताएका छन् । तसर्थ, गरुडा र मधेस प्रदेशका बासिन्दालाई मौसमको जानकारी राख्न र सतर्कता अपनाउन सुझाव दिइएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार आज दिउँसो मधेस प्रदेशको तराई क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ ।
गरुडा सहित एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । रातिको समयमा पनि यस्तै मौसम कायम रहने र केही ठाउँमा हावाहुरीसहित वर्षा हुने अनुमान छ । वर्षाले वायु प्रदूषणबाट प्रभावित मधेश प्रदेशका बासिन्दालाई केही राहत मिल्ने अपेक्षा गरिएको छ ।
महाशाखाका अनुसार, आज देशका विभिन्न भागमा फरक–फरक मौसमी प्रभाव देखिनेछ । कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । त्यस्तै, उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको पनि अनुमान गरिएको छ ।