रमेश कुमार यादब
चैत २८, रौतहट
रौतहट जिल्लामा यो आर्थिक वर्षमा आगलागीका घटना डरलाग्दो रूपमा बढेका छन्। आगलागीका घटनाबाट हालसम्म दुई जनाको मृत्यु हुनुका साथै २ करोड रुपैयाँभन्दा बढीको धनमालको क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरीका अनुसार चालु आर्थिक वर्षको साउन महिनादेखि चैत २५ गतेसम्मको अवधिमा जिल्लामा जम्मा ११४ वटा आगलागीका घटना घटेका छन् । ती घटनामा परेर दुई महिलाले ज्यान गुमाएका छन् भने ८ जना पुरुष र १ जना बालक घाइते भएका छन् ।
यसबाहेक, आगलागीमा परेर १९ वटा चौपाया जनावरको मृत्यु भएको छ भने २५ वटा चौपाया घाइते भएका छन्। आगलागीबाट ८ वटा पक्की घर, १६ वटा कच्ची घर, १५ वटा गोठ र १ वटा सार्वजनिक सम्पत्तिमा क्षति पुगेको छ । प्रभावित परिवारहरूको संख्या ५०१ रहेको प्रहरीले जनाएको छ। यस्ता घटनाहरूमा आगो नियन्त्रण गर्नका लागि जिल्ला प्रहरी कार्यालयले ५६२ जना प्रहरी जवानलाई परिचालन गरेको थियो । प्रहरी प्रमुख एसपी दिलीप घिमिरेका अनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुन महिनासम्म मात्रै १ करोड ९७ लाख ७४ हजार रुपैयाँ बराबरको क्षतिको प्रारम्भिक मूल्यांकन गरिएको छ।
चैत महिनासम्म आइपुग्दा यो क्षति २ करोड नाघेको अनुमान गरिएको छ । एसपी घिमिरेले गर्मीयामको आगमनसँगै आगलागीको जोखिम अझै बढ्ने भएकाले आगोको प्रयोग गर्दा विशेष सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छन्। “सुख्खा मौसममा सानो लापरवाहीले ठूलो क्षति निम्त्याउन सक्छ,“ उनले भने, “जथाभावी आगो प्रयोग नगर्नुहोला, आवश्यक सावधानी अपनाउनुहोला।“ रौतहटमा हरेक वर्ष गर्मीयाममा आगलागीका घटनाहरू बढ्दै आएका छन्।
धेरैजसो घटनाहरू चुलोबाट सल्किएको आगो, गहुँको बाला सुकाउने क्रममा, वा खरानी फाल्दा नजिकैको झाडी वा गोठमा आगो सल्किने जस्ता कारणले हुने गरेका छन् । जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र स्थानीय तहहरूबीच समन्वय गरी आगलागी न्यूनीकरण तथा पीडितको राहत तथा पुनःस्थापनाका लागि आवश्यक तयारी भइरहेको जानकारी समेत प्रहरी स्रोतले दिएको छ ।
स्थानीय बासिन्दाहरूलाई आगलागीको सम्भावनाबारे सचेत पार्न विभिन्न कार्यक्रमहरू सञ्चालन गरिने तथा आवश्यक परेमा दमकल सेवा अझ सक्रिय बनाइने प्रहरीको भनाइ छ ।