रमेश कुमार यादब
चैत २८, रौतहट
नेकपा (एकीकृत समाजवादी)का राष्ट्रिय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सबैभन्दा उत्कृष्ट शासन प्रणाली भएको दाबी गर्दै फालिएको निरंकुश राजतन्त्रलाई पुनर्जीवित गर्न खोज्ने प्रयासप्रति कडा चेतावनी दिएका छन् ।रौतहटको गरुडा नगरपालिकामा आयोजित पार्टीको नवौं जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले भने, “संघीय लोकतान्त्रिक गणतन्त्र जनताको शासन प्रणाली हो । यसमा भूत भइसकेका निरंकुश मानसिकताका व्यक्तिहरूको कुनै स्थान छैन ।
”नेता नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट शासन प्रणालीको संज्ञा दिँदै, वर्षौ अघि जनआन्दोलनमार्फत विस्थापित गरिएका निरंकुश शक्तिहरूलाई पुनर्जीवित गर्ने प्रयास एकप्रकारको दिवास्वप्न भएको टिप्पणी गरेका थिए । उनले भने, “जनताको बलिदानीबाट स्थापना भएको यो व्यवस्थालाई भत्काउने जो कोही भए पनि जनताले समयमै चिन्नुपर्छ ।“ उनले हालको
राजनीतिक व्यवस्थालाई राम्रो र जनउत्तरदायी व्यवस्था भन्दै त्यसलाई अस्थिर बनाउन चाहनेहरूप्रति कटाक्ष गरे । “केही व्यक्तिहरूको कारण सलबलाउन थालेका भूतहरूले दिवास्वप्न देख्न छाडुन् ।

यदि अझ बढि सलबलाए भने इतिहासमै गुम्सिनेछन्,” अध्यक्ष नेपालको चेतावनी थियो ।तिनकुने घटनाको स्मरण गर्दै उनले राजावादी तत्वहरूद्वारा नेकपा एसको पार्टी कार्यालय तोडफोड, नागरिकका सम्पत्तिमा आगजनी, मानिस मार्ने, सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने जस्ता अराजक गतिविधिहरूको कडा आलोचना गरे । यस्ता अमानवीय गतिविधिमा संलग्न दोषीहरूलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्नुपर्ने उनको माग थियो ।
उनले थपे, “यदि यस्ता प्रवृत्तिहरू अझै बढे भने, जनताले फेरि एउटा सशक्त आन्दोलनद्वारा सधैंका लागि यिनलाई समाप्त पार्नेछन् ।“अधिवेशनको अवसरमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र हैसियतमा रहेका १०१ जना नेता तथा कार्यकर्ताहरूले नेकपा (एस) मा प्रवेश गरेका छन् । अध्यक्ष नेपालले नवप्रवेशीहरूलाई खादा, माला र टिका लगाएर स्वागत गर्दै पार्टीमा भित्रिएकोमा शुभकामना व्यक्त गरे ।

उनीहरूलाई स्वागत गर्दै नेता नेपालले नयाँ सदस्यहरूलाई पार्टी सिद्धान्तप्रति प्रतिबद्ध रही, संगठन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे ।उनले जिल्लास्तरमा पार्टीको संगठनलाई थप बलियो बनाउन नेतृत्व चयनमा एकता र समर्पणको भावना आवश्यक रहेको उल्लेख गरे । “जिल्ला अधिवेशन केवल औपचारिकता होइन, यो पार्टीको भावी बाटो तय गर्ने महत्वपूर्ण अवसर हो,” उनले भने ।कार्यक्रममा प्रदेश र केन्द्रका अन्य नेताहरू, स्थानीय कार्यकर्ताहरू र नागरिकहरूको उल्लेख्य उपस्थिति थियो ।
कार्यक्रम शान्तिपूर्ण र उत्साहपूर्वक सम्पन्न भएको आयोजकहरूले जानकारी दिएका छन् । अधिवेशनको बाँकी सत्रमा संगठन सुदृढीकरण, स्थानीय राजनीतिक रणनीति तथा आगामी चुनावको तयारीबारे विस्तृत छलफल गरिने कार्यक्रम रहेको जनाइएको छ ।