वर्तमानकाल सम्वाददाता
चैत २९ गते ।
काठमाडौँको तीनकुनेमा विध्वंस मच्चाउने आन्दोलनको नेतृत्व गरेका दुर्गा प्रसाईं चैत १५ देखि फरार भए । उनले नेतृत्व गरेको ‘राष्ट्र,
राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले चैत १५ मा काठमाडौँको तीनकुनेमा प्रदर्शन आयोजना गरेको थियो । जुन प्रदर्शनलाई पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थन रहेको प्रसाईंले दाबी गरेका थिए । तर, सो प्रदर्शन हिंसात्मक बनेसँगै पूर्वराजा विवादमा त तानिए नै उनी पनि तीनकुनेबाट बिएबी(४२०८ नम्बरको स्कोर्पियो चढेर एकाएक भारत भागे । प्रसाईंले काठमाडौँबाट भाग्नका लागि प्रयोग गरेको स्कोर्पियो यसअघि नै झापामा भेटिइसकेको छ ।
स्कोर्पियो चालक ईश्वर विकले प्रसाईंलाई झापाको बिर्तामोड स्थित बिएण्डसी मेडिकल कलेजमा लगेर छाडेको बयान दिएका छन् ।
तीनकुनेबाट प्रसाईं सुरुमा ललितपुरको इमाडोलस्थित पुष्कर खतिवडाको घरमा पुगेका थिए । त्यहाँ स्याउ, केरा र दुध खाएर उनी हिँडेको खतिवडाले प्रहरीलाई बताएका छन् । इमाडोलबाट चापागाउँ पुगेपछि फर्केर उनी बनेपा हुँदै झापा पुगेका थिए । त्यहाँबाट भारत पुगेका प्रसाईं त्यहाँ ३ वटा सहर घुम्दै आसाम पुगेको नेपाल प्रहरीका एकजना उच्च अधिकृतले बताए । सुरुमा उनी उत्तर प्रदेशस्थित प्रयागराज पुगेका थिए ।
आफ्ना सहयोगी दीपक खड्कासहित प्रसाईं त्यहाँबाट लखनउ र राजस्थान पनि पुगेको खुलेको छ । काठमाडौँबाट
फरार भएको करिब दुई साता उनले भारतमा बिताए । अनुसन्धानमा संलग्न एकजना अधिकृतले भने, ‘लखनउबाट राजस्थान घुमेर उनी आसाम पुगेको देखिन्छ ।’ आसाममा उनी नाता पर्ने एकजना स्थानीय हिन्दुवादी नेताको घरमा बसिरहेको अवस्थामा पक्राउ परेका हुन् । बिहीबार साँझ आसाममा पक्राउ परेपछि प्रसाईं निकटहरुले ‘समर्पण’ गरेको दावी गरे ।
तर, उनले आत्मसमर्पण नगरेको प्रहरी अधिकारीहरू बताउँछन् । भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले भने, ‘मैले आफैँ पक्राउ दिएको हुँ ।’ नेपाल भारतको बिचमा आरोपी ‘लेनदेन’ गर्ने कानुनी जटिलताका कारण प्रहरी प्रधान कार्यालयले गएराति विज्ञप्ति प्रकाशन गरेर प्रसाईंको ‘खोजी भइरहेको’ जिकिर गरेको थियो । त्यतिन्जेल उनी पक्राउ भने परिसकेका थिए । फरार हुँदा प्रसाईंले सामाजिक सञ्जाल मार्फत दुईवटा भिडियो सन्देश सार्वजनिक गरेका थिए ।
सार्वजनिक दुईवटा भिडियोमध्ये एउटा आसाममा उनी बसेको घर नजिकैको मन्दिरमा रेकर्ड गरेको भेटिएको छ । एउटा भिडियो चाहिँ कम्प्युटर एनिमेशन गरेर तयार गरेको अनुसन्धान अधिकृतहरू बताउँछन् । प्रसाईंको खोजीमा विशेष ब्युरो र उपत्यका
अपराध अनुसन्धान कार्यालयको टोली परिचालित थिए । आईजीपीको प्रत्यक्ष मातहत रहने विशेष ब्युरोको कमान्ड डीआईजी सिद्धविक्रम शाहले गरेका छन् ।
विशेष ब्युरोका अधिकृतहरू उत्तर प्रदेशको प्रयागराजमा केही दिन बसेर फेला नपरेपछि फर्किएका थिए । त्यसतै गएको १५ गते काठमाण्डौको तीनकुनेमा भएको राजावादी प्रदर्शनका कमान्डर दुर्गा प्रसाईंलाई १२ दिन
हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।