वर्तमानकाल सम्वाददाता
बैशाख ०३ गते ।
काठमाडौंमा तस्करीका लागि ल्याइएका दुई करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको सुनचाँदीसहित प्रहरीले ९ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। प्रहरी वृत्त बौद्धको टोलीले जोरपाटी, कपन र चाबहिल क्षेत्रमा गरिएको अपरेसनबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा भारत महाराष्ट्र घर भई जोरपाटी बसोबास गर्दै आएका नबनाथ बाकु कसदी, सन्दीप पोपट हजारे, अन्सार दिलावर सिकल्गार, सुरज राजेश मदने, अरमान हनिफ इनामदाय, मनोज सुभाष सकट, अमोल कुमार गोस्ले, सुनिल मिटकरी र सुरज नन्दीवाली रहेका छन्। उनीहरू भन्सार छली तथा बिल–बिजकविनै अवैध रूपमा सुनचाँदीको कारोबार गर्दै आएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपील राज बोहराका अनुसार, उक्त समूहलाई सुन रिफाइनिङ तथा टन्च हाउसबाट पक्राउ गरिएको हो। पक्राउ परेकाहरूको साथबाट प्रहरीले १ किलो ७६.५१८ ग्राम सुन बरामद गरेको छ, जसको बजार मूल्य करिब १ करोड ७० लाख १० हजार ६० रुपैयाँ बराबर रहेको छ।
त्यस्तै, १८ किलो ४५.५२१ ग्राम चाँदी पनि बरामद भएको छ, जसको अनुमानित मूल्य ३० लाख रुपैयाँभन्दा बढी रहेको प्रहरीको भनाइ छ। प्रहरीले सुनचाँदीसँगै नगद ८ लाख २७ हजार ५ सय रुपैयाँ नेपाली र ११ हजार ७ सय भारतीय रुपैयाँसमेत बरामद
गरेको छ। पक्राउ परेका भारतीय नागरिकहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आन्तरिक राजश्व विभाग, हरिहर भवन पठाइएको प्रहरीले जानकारी दिएको छ।