वर्तमानकाल सम्वाददाता
बैशाख ०५ गते ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता तथा सदस्यले फेसबुकमा लेख्दा पार्टीमा अनावश्यक समस्या आउने बताएका छन् । पार्टीको भरतपुर महानगर समितिको शुक्रबार दोस्रो अधिवेशन उद्घाटन गर्दै ओलीले फेसबुकमा जे पायो त्यही लेख्दा समस्या हुने बताएका हुन् । ‘पार्टीका पक्षमा बोल्ने लेख्नेभन्दा पनि कतिबेला के मन लाग्छ त्यही कुरा फेसबुक स्टाटसमा फ्यास्स राख्ने कुरा समस्या बन्दै गएको छ,’ ओलीले भने ।
उनले कमिटी पद्धति र अनुशासनमा नबस्ने कुराले पनि समस्या ल्याएको बताए । ‘समस्या जनतामा हामी पुग्ने कुराको कमी हुनुमा छ । पार्टीको विचार लिएर एकताबद्ध भएर जनतामा जाने कुरामा कमी छ,’ ओलीले भने । उनले पार्टीको विरोध गर्नेहरू एउटै ल्यापटप लिएर एउटै मान्छेले सामाजिक सञ्जालमा हजारौँ आक्रमण गरिराखेको पनि बताए । ‘यो एआईको जमाना हो । यो जमानामा यस्ता खेलहरू हुन्छन् । पाँच÷सात जना बसेर त्यहाँबाट कम्प्युटरको खेल मात्र भएको छ ।
पैसा विदेशी, खेल विदेशी काम गर्ने कारिन्दा यहाँका मात्रै भएका हुन्,’ ओलीको भनाइ थियो । उनले एकता, एकीकरण गर्दै पार्टीलाई लगभग दुई तिहाईको अवस्थामा पु¥याएको बताए । ‘तर मतिभ्रष्टहरूले पटक–पटक पार्टी फुटाए, अहिले उनीहरू पुपुर्रोमा हात राखेर बसेका छन्,’ ओलीले भने । सहकारी ठगी प्रकरणमा रवि लामिछाने पक्राउ परेपछि चितवनमा उनीविरुद्ध भएको पुत्ला जुलुसप्रति लक्षित गर्दै ओलीले भने, ‘केपी ओली म¥यो भनेर लाश बोकेर चितवनमा हिँडेको देखेको थिए ।
परालसराल के–के राखेर केपी ओली बोक्याछौं भने । केपी ओली बोक्याछौ या छैनौ आगामी दिनमा देख्दै जाने छौं । कहाँ को पुग्दो रहेछ हेर्दै जाऊ । हामीले लानै पर्दैन आफैं जाने छन् ।’ उनले सहकारीको रकम खानेले नै चर्को बोल्ने गरेको बताए । ‘भित्रभित्र
सहकारीको करोडौं चट बनाइदियो । बाहिर–बाहिर ठूलो कुरा गर्ने जस्तो तमासा हामीलाई गर्नु छैन । करोडौं खाएर पनि फेरि म निर्दोष छु भनेर कराउने कत्रो आवाज हो । खाने बेलामा आँखा नदेख्ने अनि, भन्ने म निर्दोष छु फसाइयो,’ प्रधानमन्त्री ओलीले भने ।