काठमाडौँ,०७ वैशाख। सिंहदरबार परिसरमा सांकेतिक प्रदर्शन गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहित तीन जना नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएका छन।
आइतबार सिंहदरबारभित्र वर्तमान व्यवस्थाविरुद्ध नारासहितका पम्प्लेट देखाउँदै प्रदर्शन गरेको आरोपमा अध्यक्ष लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको हो।
प्रदर्शनका क्रममा उनीहरूले सरकार र व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै नाराबाजी सहित पम्प्लेट प्रदर्शन गरेका थिए। सो क्रममा सुरक्षाकर्मीले उनीहरूबाट पम्प्लेट खोसेर प्रदर्शन रोक्न प्रयास गरे पनि उनीहरू अडिग रहँदा प्रहरीद्वारा पक्राउ गरिएको हो।
पक्राउ पर्दै गर्दा अध्यक्ष लिङ्देनले लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिएको भन्दै आपत्ति जनाएका थिए। उनले भने, “अब त बोल्न र प्रदर्शन गर्नसमेत सरकारले रोक लगाएको छ, यो लोकतन्त्र होइन।”
राप्रपाले आइतबार निषेधित क्षेत्र तोड्दै काठमाडौंको विभिन्न स्थानबाट विरोध प्रदर्शन गर्ने घोषणा गरेको थियो।
सोही कार्यक्रमअनुसार पार्टी कार्यकर्ताहरू बानेश्वरस्थित निषेधित क्षेत्रको सीमामा भेला भइरहेका बेला लिङ्देनलगायत नेताहरू संसदीय दलको कार्यालयमा भेला भई सिंहदरबारमै सांकेतिक प्रदर्शनमा उत्रिएका थिए।पक्राउ परेका नेताहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको प्रहरीले जनाएको छ।