वर्तमानकाल सम्वाददाता
बैशाख ०७ गते ।
जिल्ला प्रहरी कार्यालय पर्साले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको जिराभवानी गाउँपालिका – ५ हरैया टोलका २५ वर्षीय दिलीप प्रसाद राय र २२ वर्षीय राजविद्या प्रसाद खाँ थारु रहेका छन् । उनीहरूलाई वैशाख ४ गते साँझ ५ बजेको समयमा जिराभवानी गाउँपालिका – ३ नौका टोलस्थित हुलाकी सडकखण्डमा पक्राउ गरिएको पर्सा प्रहरीले दाबी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास भट्टद्वारा जारी प्रेस विज्ञप्तिअनुसार, इलाका प्रहरी कार्यालय पटेर्वासुगौली र इलाका प्रहरी कार्यालय सेढवा पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचका क्रममा उनीहरूलाई लागूऔषधसहित पक्राउ गर्न सफल भएको हो ।
प्रहरीले सुवर्णपुरबाट वीरगञ्जतर्फ आउँदै गरेको ना १२ प ३१०६ नम्बरको डिस्कभर मोटरसाइकलमा सवार दुवै अभियुक्तलाई
रोकेर कानुनी प्रक्रियाअनुसार खानतलासी अभियुक्तहरूले चामलको बोराभित्र लुकाएर ल्याएको प्रतिबन्धित लागूऔषध नाइट्राजेपामको ८८६ ट्याब्लेट फेला परेको डिएसपी भट्टले पठाएको प्रेस विज्ञप्तिमा दाबी गरिएको छ ।
लागूऔषध दुवै अभियुक्तलाई नियन्त्रणमा लिएर अभियुक्तहरू विरुद्ध लागूऔषध सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको डिएसपी भट्टले बताए । जिल्ला प्रहरी कार्यालय पर्साले लागूऔषधको अवैध कारोबारविरुद्ध कडा निगरानी र कारबाही जारी राखेको जनाएको छ ।