वर्तमानकाल सम्वाददाता
बैशाख ०७ गते ।
रौतहट सहित मधेस प्रदेशका आठवटै जिल्लामा तस्करी नियन्त्रणभन्दा बाहिर गएको देखिएको छ । सुरक्षा निकाय, व्यापारी र स्थानीय स्रोतहरूका अनुसार रा्रैतहट देखि सप्तरी , पर्सासम्म तस्करीको सञ्जाल दिनानुदिन बलियो बन्दै गएको छ ।रौतहट जिल्लामा बिहारसँग जोडिएको ३२ किलोमिटर लामो सीमा क्षेत्रमा पाँच वटा सशस्त्र प्रहरी बेस क्याम्पहरू सक्रिय भए पनि तस्करी रोकिएको छैन । तस्करीमा गौर नगरपालिकाका मेयर शम्भु साहको संलग्नता रहेको आरोप स्थानीयवासी लगाउँछन् । बंकुल, महादेवपट्टी, जयनगर, रामपुरखाप, बञ्जाराहा, औरैया, मठिया र नरकटिया नाकाबाट कुखुराको चल्ला, किराना सामान र कपडाको तस्करी तीव्र गतिमा भइरहेको छ ।
सप्तरीको सखडा, तिलाठी, पातो, छुटकी, हनुमाननगर, साठी र तिलाठी नाकाबाट दैनिक रूपमा ठूलो परिमाणमा मालसामान भारततर्फ र भारतबाट नेपालतर्फ ओसारपसार भइरहेको छ । त्यस्तै सिराहामा माडर, ठान्डी, वियापट्टी, झाँझपट्टी र सुखीपुर हुँदै मदिरा, काजु, कपडा, मोटरपाट्र्स र किराना सामग्रीको तस्करी निर्बाध भइरहेको छ ।

जनकपुर क्षेत्रको जटही, फुलगाउँ, हर्नेहरनही, मुखीयापट्टी र खजुरी क्षेत्रबाट पनि समान प्रकृतिको तस्करी जारी छ । महोत्तरी जिल्लाका सम्सी, मटिहानी, रामगोपालपुर, इटहरवा, पोखरभिण्डा, धिरापुर, रघुनाथपुर हुँदै र सर्लाहीको त्रिभुवननगर, गोरखकाली, मधुबनगोठ, बलरा र मधुबन भन्सार मार्ग तस्करहरूका लागि खुला बाटो बनेको छ ।
बाराको छतवा, बरैनिया, कवहीगोठ, मुशहरवा, पथलवाघाट र बलरामपुर नाकाबाट भैँसी, कुखुराको चल्ला, कपडा, खैनी लगायत सामानहरूको अवैध कारोबार भइरहेको स्रोतले जनाएको छ । उक्त क्षेत्रका सोहन यादव, चन्दन यादव, सरोज श्रीवास्तव र खेना नामका तस्करहरू खुलेआम कारोबारमा सक्रिय रहेको दाबी छ ।