रमेश कुमार यादब
बैशाख ०७, रौतहट
रौतहट जिल्लाको दुई अलग–अलग स्थानमा गएराति भीषण आगलागी हुँदा करिब दुई करोड रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ। जिल्ला सदरमुकाम गौर र भारतीय सीमासँग जोडिएको बौधिमाई नगरपालिका अन्तर्गत कोपवा गाउँमा भएको आगलागीबाट ठूलो मात्रामा क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।
कोपवामा भीषण आगलागी, पक्की घर, गोदाम र सामग्री जलेर नष्ट बौधिमाई नगरपालिका–५ कोपवा निवासी धर्मेन्द्र जैसवालको तीन तल्ले पक्की घरको अन्डरग्राउन्डमा रहेको गोदाममा गएराति करिब ८ः३० बजे अचानक विद्युत सर्ट भएर आगलागी भएको थियो । आगोले गोदाममा भण्डारण गरिएको करिब १ करोड रुपैयाँ बराबरको कपडा र चप्पल पूर्ण रूपमा जलेको छ ।
साथै गोदाममा राखिएको १ थान मोटरसाइकलसमेत नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दीपक कुमार रायका अनुसार आगलागीबाट तीन तल्ले घरमा पनि क्षति पुगेको छ । घरसहित कुल १ करोड ७६ लाख रुपैयाँ बराबरको क्षति भएको उनले जानकारी दिए ।
घटनाको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय कोपवा पिपरीयाबाट वरिष्ठ सई कुमार सेढाईको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । त्यसपछि गौर नगरपालिकाको दमकल, बौधिमाई नगरपालिकाको दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगो करिब १ घण्टा पछि नियन्त्रणमा आएको थियो ।।
सौभाग्यवश, उक्त घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । गौरको कबिरचोकमा पनि आगलागी, कच्ची घर र ५ मोटरसाइकल जले त्यसै राति करिब ९ बजे गौर नगरपालिका स्थित कबिरचोकमा कृष्णनन्दन पेटलको कच्ची बास र खरले छाएको घरमा पनि आगलागी भएको थियो ।
आगलागीको कारण प्रस्ट नखुले पनि सम्भावित कारण छोटो सर्किट वा खुला आगो भएको अनुमान गरिएको छ । डीएसपी रायका अनुसार आगलागीबाट करिब ४ लाख मूल्य बराबरको घर, बनाउने तयारीमा राखिएको ५ थान मोटरसाइकल, एक थान पानी तान्ने मोटर र अन्य सामान जलेर नष्ट भएको छ ।
कुल क्षति करिब २१ लाख रुपैयाँ बराबरको भएको छ । दुबै घटनामा करिब १ करोड ९७ लाख बराबरको सम्पति जलेर क्षति भएको बताईएको छ । प्रहरीका अनुसार पछिल्ला दिनहरूमा तराई(मधेशमा तापक्रम बढ्दै जाँदा आगलागीका घटना पनि उल्लेखनीय रूपमा वृद्धि भएका छन् ।
विद्युत सर्ट, चुरोट वा अन्य खुला आगोको प्रयोगले यस्ता घटनाहरू भइ रहेका छन् । प्रहरी प्रशासन र स्थानीय सरकारका निकायहरूले आगलागीबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि सचेतना कार्यक्रम, तयारी योजना र तत्काल उद्धार तथा दमकल सेवामा सक्रियता बढाउने तयारी थालेका छन् । प्रहरीले आगलागीको सम्भावित
कारणको अनुसन्धान जारी राखेको जनाएको छ ।