वर्तमानकाल सम्वाददाता
बैशाख ०७ गते ।
वैशाख २६ गते महाधिवेशन गर्ने घोषणा गरेको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालले पालिका तहको अधिवेशन गर्ने समय तेस्रो पटक थप गरेको छ । सम्पूर्ण पालिकामा अधिवेशन सम्पन्न नभएको भन्दै लोसपाले वैशाख १५ गतेसम्मका लागि अधिवेशनको मिति थप गरेको हो । यसअघि चैत मसान्तभित्र सम्पूर्ण पालिकाको अधिवेशन गरिसक्नुपर्ने गरी पार्टीले चैत २० गते सर्कुलर गरिएको थियो ।
तर, चैत मसान्तभित्र अधिवेशन नसकिएपछि वैशाख ५ गते अर्को परिपत्र जारी लोसपाले फेरि वैशाख १५ गतेसम्म समय थप गरेको महासचिव मनिष मिश्रले बताए । यससँगै वैशाख २६ गतेका लागि तोकिएको लोसपाको महाधिवेशन नहुने भएको छ । लोसपाका नेताहरूका अनुसार पालिकाको अधिवेशन सकिएपछि जिल्लाको अधिवेशन हुन्छ । त्यसपछि प्रदेशको हुने र अनि मात्रै केन्द्रीय महाधिवेशन गर्नुपर्ने भएकाले तोकिएको समयमा महाधिवेशन हुने भएको नेताहरूको भनाइ छ । महासचिव मिश्रले अब बस्ने पार्टी सचिवालयको बैठकले महाधिवेशनको बारेमा आवश्यक छलफल र निर्णय गर्ने बताए ।
पार्टीका अध्यक्ष ठाकुर उपत्यका बाहिर रहेको र उनी आएपछि सचिवालयको बैठक बस्ने उनको भनाइ छ । त्यसतै जनमत पार्टीका केन्द्रिय कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई प्रहरीले पक्राउ गरेको छ । उनी सप्तरीको राजविराजबाट पक्राउ परेका हुन् । जिल्ला प्रहरी परिसर ललितपुरको पत्रको आधारमा उनलाई पक्राउ गरिएको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले बताए ।
ललितपुर प्रहरीमा उनीबिरुद्ध ठगी र आपराधिक विश्वासघात बिरुद्धको जाहेरी दर्ता भएको छ । उनलाई अनुसन्धानका लागि ललितपुर पठाइने एसपी खतिवडाले जानकारी दिए ।