रमेश कुमार यादब
बैशाख ०७, रौतहट
रौतहट जिल्लामा पछिल्ला दिनहरूमा मोटरसाईकल चोरीका घटनाहरू डरलाग्दो रूपमा बढिरहेका छन् । चोरीका घटनाहरूले स्थानिय बासिन्दा त्रसित बनेका छन् भने चोरहरूको हिम्मत दिनानुदिन बढ्दै गएको देखिन्छ । प्रहरीले केही चोरहरूलाई पक्राउ गरे पनि कानुनी प्रक्रियामा कमजोरी र चोरहरूलाई कडा सजाय नहुनुले यो समस्या झन् जटिल बन्दै गएको छ । गत शनिबार राति फतुवा बिजयपुर नगरपालिका–९, बडहर्वा गाउँबाट एक मोटरसाईकल चोरी भएको छ ।
कटहरिया नगरपालिका–५, भसेडवा निवासी रंन्जय कुमार यादवको नाममा रहेको सुपर स्प्लेंडर मोटरसाईकल ना.४५ प.६२३६ नम्बर चोरी भएको हो । यादव एक वैवाहिक समारोहमा जन्ती (बराती)को रूपमा बडहर्वा गएका थिए । कार्यक्रमको क्रममा उनले मोटरसाईकल लडकी पक्षको घर अगाडि पार्क गरेका थिए । हिन्दू धर्म अनुसारको परम्परागत जयमाला कार्यक्रममा सहभागी भएर आशिर्वाद दिने क्रममा उनी केही समयभित्र फर्किँदा गाडी चोरी भइसकेको थियो ।
घटनास्थल वरपरका स्थानियहरूसँग सोधपुछ गर्दा कसैले पनि चोरी भएको देखेनन् वा संदेहजनक व्यक्ति देखिएको जानकारी दिन सकेनन् । यसले गर्दा चोरहरू योजनाबद्ध रूपमा निगरानी राखी मौका छोपी चोरी गर्ने गरेको अनुमान गरिएको छ । चोरी भएको भोलिपल्ट पीडित यादवले नजिकैको प्रहरी चौकीमा उजुरी दर्ता गरेका छन् । “म मोटरसाईकल राखेर कार्यक्रममा सहभागी भएँ, फर्केर आउँदा गाडी नै हराएको देख्दा म निकै आश्चर्यचकित भएँ । तुरुन्त प्रहरीमा जानकारी दिएँ, आशा छ छिट्टै मेरो गाडी फेला पर्छ,” यादवले बताए ।
स्थानीयवासीहरूका अनुसार प्रहरीले चोरहरूलाई कहिले काहीँ पक्राउ गर्ने भए पनि कानुनी प्रक्रिया कमजोर हुँदा केही समयमै तिनीहरू छुटेर आउँछन् । त्यसपछि फेरि चोरीका घटना दोहोरिन्छन् । यस्तो अवस्थामा चोरी नियन्त्रण गर्न पुलिस प्रशासन मात्र होइन, कानुनी प्रणाली पनि सुधार गर्नुपर्ने आवाज उठिरहेको छ । रौतहटका नागरिकहरूले गम्भीरता पूर्वक चोरी नियन्त्रण गर्न कडा निगरानी, गस्ती, सीसीटिभी जडान तथा पक्राउ परेकाहरूलाई कडा सजायको व्यवस्था हुनुपर्ने माग गरेका छन् ।
यदि यस्ता अपराधीहरूलाई कानुनी रूपमा सख्त सजाय नभइन्छ भने चोरीका घटना रोकिन सक्दैनन् भन्ने उनीहरूको भनाइ छ । यस घटनाले फेरि एकपटक रौतहटमा चोरीको भयावह अवस्थालाई सतहमा ल्याएको छ । अब प्रशासनले यसमा कति चासो दिन्छ, त्यो हेर्न बाँकी छ ।


