बारा,०८ वैशाख। जिल्लाको कलैया उपमहानगरपालिका – १४ बघवन निवासी श्याम प्रसाद महतोका २२ वर्षीय छोरा नितेश कुमार महतोले आत्महत्या गरेका छन् ।
आत्महत्या गर्नु अघि नितेशले भिडियो बनाएर आफ्नो फेसबुकमा आज बिहान ३ बजेको समयमा पोस्ट गरेका थिए । भिडियोमा धेरैले उनलाई त्यसो नगर्न सुझाव दिए पनि उनले आत्महत्या गरेको बुझिएको छ ।
उनले सार्वजनिक गरेको भिडियोमा आफूलाई केही व्यक्तिहरूले मानसिक यातना दिएको आरोप लागेका छन् । भिडियोमा उनले केही व्यक्तिहरू नाम समेत किटान गरेका छन् ।
भिडियोमा उनले आफूलाई विवश, रुपेश, दिनेश अधिकारी र मिरा अधिकारीले गालीगलौज गर्ने र मानसिक यातना दिने गरेको उल्लेख गरेका छन् । मिरा र उनका भाइ दिनेश अधिकारीको पसलमा गएको समयमा आफूमाथि जादुटोना गरेको पनि उनले भिडियोमा आरोप लगाएका छन् ।
आत्महत्या बारेमा जिल्ला प्रहरी कार्यालय बाराले पनि पुष्टि गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) विजयराज पण्डितले घटना बारे थप अनुसन्धान भइरहेको बताए बताएका छन् । उनले भने, “भिडियोमा हामीले पनि त्यही देखेको छौँ । यस विषयमा थप अनुसन्धान हुँदै छ । अनुसन्धान पछि मात्रै केही भन्न सकिन्छ ।”
