रमेश कुमार यादब
बैशाख १२ गते ।
रौतहटको बृन्दावन नगरपालिका क्षेत्रबाट युथ सेलिब्रेशन कार्यक्रममा सहभागी हुन काठमाडौं गएका युवाहरू सवार बस शुक्रबार बिहान बाराको पसहा पुलमा दुर्घटनामा परेको छ। दुर्घटना बिहान करिब ५ बजेको समयमा भएको जनाइएको छ।
बिहीबार राजधानीको भृकुटीमण्डपमा आयोजना गरिएको युथ सेलिब्रेशनमा सहभागी भएर फर्कंदै गरेको प्र.२-३-००१ ख नम्बरको न्यु साथी डिलक्स बस दुर्घटनामा परेको हो। घटनाका प्रत्यक्षदर्शीका अनुसार बस आधा पुल पार गरिसकेको अवस्थामा विपरीत दिशाबाट आईरहेको प्र.२-०-००१ ख २३३० नम्बरको ट्रकले जबर्जस्ती पुल छिर्न खोज्दा बसको साइडमा ठक्कर दिएको थियो।
दुर्घटनामा बसको छेउको भागमा क्षति पुगेको छ भने केही यात्रुहरू सामान्य चोटपटकसहित घाइते भएका छन्। गम्भीर प्रकृतिको चोट नदेखिएको र अधिकांश यात्रु सुरक्षित रहेको जानकारी प्रहरीले दिएको छ। घाइतेहरूको स्थानीय अस्पतालमा प्रारम्भिक उपचार गरिएको छ।
ट्रक चालकको लापरवाहीका कारण दुर्घटना भएको भन्दै यात्रुहरूले आक्रोश व्यक्त गरेका छन्। प्रहरीले घटनाको थप अनुसन्धान सुरु गरेको छ भने दुवै सवारी साधन नियन्त्रणमा लिइसकेको जनाएको छ।
स्थानीयवासीका अनुसार पसहा पुलमा सडक साँघुरो रहेको र नियमितरूपमा ओभरटेक प्रयास गर्दा दुर्घटनाको जोखिम हुने गरेको छ ।
सम्पर्कमा रहेका प्रहरीका अनुसार, “बसमा करीब ३५ जना यात्रु थिए, सबैलाई सामान्य चोट मात्रै लागेको छ।”
यता आयोजक संस्थाले दुर्घटनामा परेकाहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै आवश्यक सहयोग गरिरहेको जनाएको छ।दुर्घटनाको कारण त्रसित भए पनि मानवीय क्षति भएको छैन्।