// पवन कुमार उपाध्याय //
रौतहट,१३ वैशाख। नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन, रौतहट इकाई कार्य समितिको शपथ ग्रहण तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
हालै सम्पन्न निर्वाचनबाट निर्वाचित नयाँ कार्यसमितिले शुक्रबार एक विशेष समारोहका बीच भुमिसुधार तथा मालपोत कार्यालय रौतहटको प्राङ्गणमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्। शपथग्रहण कार्यक्रममा प्रमुख अतिथिका रूपमा गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जैसवालको उपस्थिति रहेको थियो। उनले नव निर्वाचित पदाधिकारीहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे।
नगर प्रमुख जैसवालले सम्बोधन गर्दै लेखापढी कानुन व्यवसायीहरूको भूमिका समाजमा अत्यन्त महत्वपूर्ण रहेको बताउँदै भने, “नेपाल कानुन व्यवसायी परिषद् एक स्वशासित, संगठित र अविच्छिन्न उत्तराधिकारवाला संस्था हो। यसले कानून व्यवसायीहरूको हकहितको संरक्षण गर्दै समाजप्रति जिम्मेवार सेवा प्रदान गर्न निर्माण गरिएको हो। यसको सशक्तिकरण र संरक्षण हामी सबैको सामूहिक जिम्मेवारी हो।”
त्यस्तै, उनले विगतका दिनमा उत्पन्न मतभेद, द्वन्द्व र असहमतिको भावनालाई त्यागी सबै पक्षबीच सहकार्य, मेलमिलाप र समन्वयमा आधारित संस्थागत विकासको दिशामा अघि बढ्न आग्रह गरे।
“आजदेखि कुनै किसिमको प्रतिशोधको भावना जस्तैः रिष- खिस, द्वन्द्व , मतभेदलाई बिर्सेर एक आपसमा सहित सु-शासन कायम गरी संस्थागत कार्यमा साझारुपले सहयोग गरी मधुरताका साथ मेलमिलाप कायम गरी आज देखी हामी बिच कुनै किसिमको प्रतिशोधको भावना नराखी हामी सबै पक्ष-बिपंक्ष एकजुट भइ काधमा काध मिलाएर हामी सबै मिलेर लेखापढी एसोसिएसनलाई आधुनिक र व्यवस्थित ढंगले अगाडि बढाउनु पर्दछ,” उनले थपे।
कार्यक्रममा नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनका केन्द्रीय सदस्य राम एकवाल साहले नव निर्वाचित पदाधिकारीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका थिए। सर्वसम्मत रूपमा सम्पन्न निर्वाचनबाट प्रेमलाल प्रसाद साह अध्यक्षमा निर्वाचित भएका छन्। अन्य निर्वाचित पदाधिकारीहरूमा उपाध्यक्ष विन्देश्वर पंडित, सचिव होसनरायण प्रसाद यादव, कोषाध्यक्ष राम बिनोद ठाकुर, सह सचिव राम बिश्वास पंडित, सह सदस्य राम बिश्वास कुमार यादव रहेका छन्।
त्यस्तै, सदस्य पदमा राजेन्द्र मुखिया, जय प्रकाश साह, जोत नारायण साह, जमिर अन्सारी, भुजेन्द्र प्रसाद सहनी लगायत ११ जना चयन भएका छन्। नगर प्रमुख जैसवालले आफू विगतमा रौतहट उद्योग वाणिज्य संघसँग आवद्ध रही विभिन्न संघसंस्थालाई सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि लेखापढी कानुन व्यवसायी एसोसिएसनलाई आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको बताए।
चन्द्रदेव प्रसादको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा मालपोत कार्यालय गरुडाका प्रमुख मोहन कुमार पाठक, नापी कार्यालय गरुडाका प्रमुख यसवंत सिंह, ईलाका प्रहरी कार्यलयका प्रमुख रामसोगारथ राय यादव, सुरेन्द्र प्रसाद श्रीवास्तव, रविन्द्र कापड, अरविन्द राय यादव,अरुण कुमार साह, मुकेश कुमार साह कर्मचारी लगायत जनप्रतिनिधिहरू स्थानीय समाजसेवी, वकिल, लेखापढी व्यवसायी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।





