वर्तमानकाल सम्वाददाता
बैशाख १५, रौतहट
प्लान्ट क्वारेन्टिन खाद्यान्न शाखाको माग राख्दै विगत ९ दिन देखि धर्नामा बसेका व्यापारी व्यवसायीहरुलाई १५ दिन भित्र समस्या समाधान गर्ने मौखिक आश्वासन पाएपछि सोमवार दिउसोबाट धर्ना सकिएको छ । गौर भन्सार कार्यालयको मुख्यद्वारमा वैशाख ७ गते देखि प्लान्ट क्वारेन्टिन खाद्यान्न शाखाको स्थापनाको माग राख्दै स्थानीय कौशल साहको नेतृत्वमा गौर सहित रौतहट जिल्लाका
व्यापारी व्यवसायीहरु धर्नामा बसेर प्रदर्शन गर्दै आएका थिए ।
व्यापारी व्यवसायीहरुको उक्त धर्ना प्रदर्शनलाई रौतहट उद्योग वाणिज्य संघको अध्यक्ष सहितका पदाधिकारीहरु एक्युबद्धता जनाउदै धर्नामा बसेर चाँडै समस्या समाधान गर्न स्थानीय प्रशासन देखि लिएर अर्थ मन्त्री र कृषि मन्त्री सहित भन्सार विभागको ध्यानाकर्षण गराए । यसैक्रममा हिजो प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउदै बैंशाख १५ गते सम्म समस्या समाधान नभए १६ गते देखि अनिश्चितकालिन भन्सार कार्यालयमा ताला लगाउने चेतावनी दिएको थियो ।
प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काको विशेष पहलबाट भन्सार विभागबाट चासो लिएर गौरको समस्या समाधान गर्न तयार रहेपनि प्रक्रियागत रुपमा अघि बढ्न केही समय लाग्ने भएको हुँदा धर्य राख्न प्रजिअले आग्रह गरेका थिए । यसैबीचमा गौर भन्सार कार्यालयका निमित्त प्रमुख अमिन्दर सिंहले ९ औं दिनको व्यापारीहरुले जारी राखेको धर्ना स्थलमा उपस्थित भएर तपाईहरुको माग पुरा गर्न भन्सार विभाग तयार रहेको बताए ।
प्लान्ट क्वारेन्टिन खाद्यान्न शाखा स्थापना नभएपनि यहाँका व्यापारीहरुलाई खाद्यान्न लगायतका सामानहरु ल्याउन समस्या थिए त्यसलाई समाधान गरी अन्य नाकाबाट नभई गौर नाकाबाट ल्याउने प्रबन्ध मिलाउने सम्बन्धी आवश्यक गृहकार्य भईरहेको उलने स्पष्ट पारे । सबै प्रक्रिया मिलाउन एक देखि दुई साताको समय लाग्ने भएको हुँदा तपाईहरु धर्ना कार्यक्रमलाई फिर्ता लिई सहज वातावरण बनाईदिन आग्रह गरेपछि धर्नामा बसेका कौशल साह सहितका व्यापारी व्यवसायीहरु हालको लागि धर्ना स्थगित भएको बताए ।
आश्वासन पाएको अवधीमा उचित व्यवस्थापन गरिएन भने पुनः धर्ना अनसन र बन्दको कार्यक्रम सुरु गर्ने चेतावनी दिदै अहिले सम्म धर्ना कार्यक्रमलाई सफल बनाइदिएकोमा रौतहट उद्योग वाणिज्य संघ र व्यापारी व्यवसायीहरुलाई कौशल साहले आभार प्रकट गरे ।


