वर्तमानकाल सम्वाददाता
बैशाख १६ गते ।
नेपाल विद्युत् प्राधिकरणले ८ वर्षदेखि निरन्तर नाफा कमाइरहेको दाबी गरे पनि त्यो सत्य नभएको पाइएको छ । प्राधिकरणले नै तयार पारेको श्वेतपत्र अनुसार संस्था ५ अर्ब २६ करोड रुपैयाँ सञ्चित नोक्सानीमा देखिएको हो । प्राधिकरणले आर्थिक वर्ष २०८०÷८१ सम्म कुल सञ्चित नाफा करिब ४६ अर्ब ४७ करोड रहेको दाबी गरेको थियो । तर, चालु आव फागुन मसान्तसम्म नाफा ९ अर्ब ४८ करोड देखाइएको छ । प्राधिकरणको पुरानै वित्तीय विवरण अनुसार यो आयकर अघिको नाफा हो । यसबीच प्राधिकरणले कुनै वर्ष पनि आयकर तिरेको छैन ।
कम्पनीहरूले नाफाको २५ प्रतिशतका दरले आयकर तिर्नुपर्ने व्यवस्था छ । आयकर ऐनको प्रावधान अनुसार कर प्रयोजनका लागि १२ वर्षको नोक्सानी समायोजन र ‘ऐक्सिलेरेटेड डिप्रिसिएसन’ को दाबी सहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानी रहेको श्वेतपत्रमा उल्लेख छ । यो श्वेतपत्र मंगलवार सार्वजनिक गर्ने कार्यक्रम रहेकोमा प्राविधिक कारण भन्दै
प्राधिकरणले सार्वजनिक गरेन ।
त्यति मात्रै होइन, प्राधिकरण अत्यधिक ऋणमा डुबेको पनि देखिएको छ । हाल प्राधिकरण २ खर्ब ४८ अर्ब १२ करोड दीर्घकालीन ऋणमा रहेको तथ्यांक पनि श्वेतपत्रमा उल्लेख छ ।त्यसमध्ये नेपाल सरकारको आन्तरिक स्रोततर्फ ७७ अर्ब ८ करोड र नेपाल सरकारको जमानतमा वैदेशिक दातृ निकायतर्फ १ खर्ब ७१ अर्ब ४ करोड रहेको श्वेतपत्रमा उल्लेख छ । प्राधिकरणको कुल दायित्व करिब ३ खर्ब ८५ अर्ब रहेको पनि श्वेतपत्रमा उल्लेख छ ।
यसबाहेक २०८०÷८१ सम्म प्राधिकरणको वित्तीय प्रतिबद्धता तथा सम्भावित दायित्व ६९ अर्ब ५७ करोड छ । प्राधिकरण विरुद्ध विभिन्न अर्ध न्यायिक तथा न्यायिक निकायमा विचाराधीन रहेका दाबी रकम सहितका मुद्दाहरूको सम्भावित दायित्व फागुन २०८१ सम्म ८ अर्ब ४० करोड पुगेको छ ।यसैगरी प्राधिकरणले सहायक तथा सम्बद्ध कम्पनीहरूको प्रवद्र्धनका लागि कुल ४१ अर्ब १३ करोड बराबर संस्थागत जमानत प्रदान गरेको छ ।
२०८०÷८१ सम्म प्राधिकरणको कुल सम्पत्ति करिब ६ खर्ब ४४ अर्ब रहेको जनाइएको छ । स्थिर सम्पत्ति २ खर्ब ३५ अर्ब रहेकोमा पुनर्मूल्यांकनबाट करिब ९९ अर्ब ४६ करोड थप भएको देखिएको छ, जुन लेखांकन हुन बाँकी छ । त्यसैगरी करिब २ खर्ब २० अर्ब बराबरका निर्माणाधीन आयोजना छन् । यी आयोजनालाई यथाशीघ्र सम्पन्न गरी यसको प्रतिफल प्राप्त गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।
नेपाल सरकारको प्राधिकरणमा सेयर लगानी २ खर्ब ६ अर्ब ७४ करोड, सञ्चित नाफा ४६ अर्ब ४७ करोड र अन्य जगेडातर्फ ५ अर्ब ८९ करोड गरी जम्मा इक्विटी २ खर्ब ५९ अर्ब १० करोड छ ।चालु आव फागुन मसान्तसम्म भएको ठेक्कापट्टा अन्तर्गत भुक्तानी हुन बाँकी बिलहरूको परिमाण ११ अर्ब ६१ करोड रहेको छ, जुन भुक्तानी दिन सकिएको छैन ।
हालसम्म प्राधिकरणको केन्द्रीय कोषमा मौज्दात रहेको करिब १० अर्ब १० करोडमध्ये इल÷नेरु मुद्दती खातामा ३ अर्ब ६८ करोड, धरौटी खातामा ३ अर्ब ९५ करोड र अन्य कल÷चालु खातामा २ अर्ब ४७ करोड रहेको छ, जुन दैनिक सञ्चालनका लागि न्यूनतम जगेडा हो ।