वर्तमानकाल सम्वाददाता
बैशाख १६ गते ।
नेपाल शिक्षक महासंघले आन्दोलन र सरकारसँगको वार्तालाई सँगसँगै अघि बढाउने निर्णय गरेको छ । मंगलबार बसेको महासंघको विस्तृत बैठकले आन्दोलनसँगै वार्तालाई समेत अगाडि बढाउने निर्णय गरेको हो । सरकारसँगको वार्ताका लागि महासंघले विभिन्न सर्तहरु राखेको छ । यसअघि आफुहरुलाई वार्ताभन्दा विद्यालय शिक्षा ऐन चाहिएको भन्दै वार्तामा बस्न अस्वीकार गर्दै आएका थिए । शिक्षामन्त्रीसँग पटक पटक गरेको छलफललाई महासंघले आधिकारिक रुपम वार्तामा मानेको थिएन ।
महासंघले आधिकारक रुपमा निर्णय गर्दै महासंघले अघि सारेका ९ बुँदे प्रस्तावमा सहमति हुने आधारसहित वार्तामा बस्ने निर्णय गरेको हो । एकीकतृ अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले आन्दोलनसँगसँगै सरकारसँग वार्तामा समेत बस्ने निर्णय भएको बताए । ‘क्याबिनेटले गर्ने निर्णय, ऐन आउने सुनिश्चतता, हामीसँग भएका सहमति र शिक्षा उपसमितिमा विद्यालय शिक्षा ऐनको अन्तरवस्तुले आन्दोलनको स्वरुप निर्धारण गर्नेछ,’ अध्यक्ष अधिकारीले भने ।
उक्त निर्णयपछि महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, महासचिव तुला बहादुर थापा, सहअध्यक्ष सानुमाया पराजुली लगायतका शिक्षक नेताहरु सिंहदरबार गएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तसँग वार्ता गर्नका लागि सिंहदरबार गएका हुन् । उनीहरुले महासंघले अघि सारेको ९ बुँदे प्रस्तावको आधारमा सहमति भएको खण्डमा मात्रै आफुले मान्ने प्रष्ट पारेको छ । तर, सरकारले भने मध्यमार्गी बाटो खोज्दै सहमतिको बिन्दुमा गर्न अनुरोध गर्दै आएको छ ।
महासंघले भने विगतमा सरकारले गरेको सहमति अनुसार ९ बुँदे प्रस्ताव अघि सारिएको जनाएको छ । त्यही अनुसार सहमति नभएको खण्डमा आफुहरु सहमति नगर्ने र आन्दोलन नरोकिने चेतावनी दिदै आएका छन् ।