रमेश कुमार यादब
बैशाख १७, रौतहट
१३ महिनादेखि जिल्ला प्रहरी कार्यालय रौतहटमा सेवा दिँदै आउनुभएका प्रहरी उपरीक्षक (एसपी) दिलीप घिमिरेको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले ६३ जना एसपीहरूको सरुवा गर्ने निर्णय गरेसँगै घिमिरेलाई सूचना विश्लेषण शाखा, प्रहरी प्रधान कार्यालय नक्साल, काठमाडौंमा सरुवा गरिएको हो। एसपी घिमिरेले रौतहटमा रहँदा अपनाएको शून्य सहनशीलताको नीति, अपराध नियन्त्रणमा देखाएको सक्रियता र जनतासँगको समन्वयकारी व्यवहारले उहाँको कार्यकाललाई सफल र प्रभावशाली बनाएको जिल्ला वासिन्दाहरू बताउँछन्।
चोरी, तस्करी, गुण्डागर्दी, लागुऔषध कारोबार, घरेलु हिंसा तथा फरार अभियुक्तहरूको पक्राउमा घिमिरेको नेतृत्वमा प्रहरीले ठूला उपलब्धि हासिल गरेको थियो। उनको स्थानमा अब कर्णाली प्रदेश प्रहरी गण, वीरेन्द्रनगर सुर्खेतमा कार्यरत एसपी नेत्रमणि
गिरी रौतहट आउने भएका छन्। गिरी प्रहरी संगठनभित्र अनुशासित र नीतिगत कार्यशैलीका कारण चिनिने एक सक्षम प्रहरी अधिकृत मानिन्छन्। उनको आगमनसँगै रौतहटमा अपराध नियन्त्रण र शान्ति सुरक्षाको वर्तमान लयलाई निरन्तरता दिने अपेक्षा
गरिएको छ।
प्रहरी प्रधान कार्यालयले सरुवा गरिएका एसपीहरूलाई वैशाख महिनाको तलबभत्ता हालको कार्यस्थलबाटै उपलब्ध गराउने व्यवस्था मिलाएको छ। यसअघि इन्स्पेक्टर र डिएसपीहरूको सरुवा गरिसकेपछि एसपीहरूको सरुवा गरिएको हो। एसपी घिमिरेको कार्यकालमा रौतहटमा जनताको प्रहरीप्रतिको विश्वासमा वृद्धि भएको, प्रशासन र नागरिक समाजबीच समन्वय मजबुत भएको, साथै प्रहरी संयन्त्रलाई पारदर्शी बनाउने प्रयास गरिएको बताइन्छ ।
रौतहटका बासिन्दाहरू घिमिरेको कार्यकुशलता र समर्पणलाई सधैं सम्झिरहनेछन्। उहाँको सरुवाले जिल्लामा केही खालको खालीपन महसुस भए पनि नयाँ एसपीको नेतृत्वमा शान्ति सुरक्षामा निरन्तर सुधार हुने जनअपेक्षा रहेको छ ।